Prakash Adhikari June 30, 2024

एलिनोरा कुलेन्बेकोभा
अल्माटी (कजाखस्तान), १६ आषाढ(बीबीसी विश्व सेवा) । कुनै समय युरोपकै व्यावसायिक सरोगेसीको गन्तव्य रहेको युक्रेनमा रुसको पूर्ण स्तरको आक्रमणपछि जन्मदरमा ९० प्रतिशत गिरावट आउने ठानिएको छ।

कोख भाडामा लिइने सरोगेसीको माध्यमबाट बच्चा जन्माउन चाहने सम्भावित आमाबुवाहरू युक्रेनको सट्टा जोर्जा जान थालेका छन्। यो देशमा सरोगेसीका लागि विज्ञापन नै गरिएको छ र त्यसका लागि लाग्ने शुल्कमा पनि वृद्धि भइरहेको छ। तर अहिले अधिकांश विदेशबाट ल्याइएका महिलाहरूमाथि यहाँ सरोगेसी आमा बन्नका लागि दबाव दिइएको चिन्ता व्यक्त भइरहेका छन्।

“पैसा नचाहिएको भए म यो काम गर्ने थिइनँ,” एउटा सरोगेसी एजेन्सी मार्फत् एक जोडीका लागि गर्भ राखिदिने सम्झौतामा हस्ताक्षर गरेकी ३७ वर्षकी एलिना (नाम परिवर्तन) भन्छिन्।

यसबापत उनले गर्भवती भएको अवधिमा प्रतिमहिना ५०० अमेरिकी डलर र बच्चा जन्माए पछि १५ हजार अमेरिकी डलर पाउँछिन्।

“आफ्नै बच्चा जन्माउन असमर्थ भएका परिवारका लागि म सहयोग गर्न चाहन्छु,” उनी भन्छिन्। “मैले बच्चा नभएकै कारण कैयौँ परिवारमा विग्रह आएको देखेकी छु।”

“तर सबैभन्दा पहिले मलाई पनि पैसा चाहिन्छ। मेरो परिवारका लागि सकेसम्म राम्रो गर्नु छ। म आफैँ र मेरा बालबच्चाहरूलाई पनि सबल बनाउनु छ।”

एलिना अल्ट्रासाउन्डका लागि कोठामा जाँदै
सरोगेसीको विश्वव्यापी बजार अर्बौँ डलर बराबरको भएको ठानिन्छ।

एलिनालाई जोर्जाको एजेन्सीले काजख्स्तानको गाउँबाट बोलाएको हो।

आफ्नो देशमा एकल आमा रहेकी एलिनाका दुई जना बालबच्चा छन्। सरोगेसीको समयमा उनले सामान्य अवस्थामा आर्जन गर्नेभन्दा तेबर धेरै कमाउँछिन्। अन्य समयमा एलिना कपडाको पसलमा काम गर्छिन्।

“मलाई मेरा बालबच्चाको भन्दा अरू कुनै कुराको मतलब छैन,” उक्त जोडीको भ्रूण आफ्नो गर्भमा राख्ने प्रक्रियाका लागि जोर्जाको राजधानी टिब्लिसीको यात्रामा निस्कनुअघि आफ्ना बच्चाको धेरै याद आउने सुनाउँदै एलिना थप्छिन्।

“म यसका लागि आफूलाई तयार गर्छु तर मलाई यहाँ एक्लो महसुस हुन्छ।”

बढ्दो माग

युरोपको सरोगेसी केन्द्रको परिचय युक्रेनबाट त्यहाँभन्दा १० गुना कम जनसङ्ख्या रहेको जोर्जाले खोसेको छ। एजेन्सीहरूले मध्य एशियाबाट एलिनाजस्ता धेरै भन्दा धेरै महिलाहरू सरोगेसीका लागि भर्ती लिइरहेका छन्।

तर यससँगै महिलाहरूमाथि यस्तो उद्यमबाटै दिइने दबावबारे चिन्ताहरू व्यक्त भएका छन्।

“हेर्नुस् सरोगेट आमा बन्दा व्यावहारिक रूपमा हेर्ने हो भने केही पनि फाइदा छैन। तर हाम्रा महिलाहरू बाध्य बनाइएका छन्,” बोलाशाक नामक सरोगेसी एजेन्सीकी निर्देशक दमिरा बेकबरजेनोभा भन्छिन्।

“कसैले पनि मनले यस्तो काम गर्न सहजै मान्दैन,” उनी थप्छिन्। “उनीहरूले आर्थिक आवश्यकता पूरा गर्न यस्तो काम गर्छन्। धेरैले आफ्ना बच्चाको भविष्यका लागि गर्छन्।”

उनको एजेन्सीले यसका लागि टिकटकमा विज्ञापन गर्दै एक जना बच्चालाई जन्म दिइसकेका २० देखि ३४ वर्षभित्रका महिलाको खोजी गर्छ। सरोगेट आमाहरूको बढ्दो मागका कारण उनी कजाख्स्तान र चीनमा रहेका आफ्ना तीनवटा अफिसहरूमा पुगेर महिलाहरूसँग भेट गर्नका लागि बारम्बार उडान भरिरहन्छिन्।

सरोगेट आमाहरूका लागि लिइने शुल्क बढ्दै गर्दा कजाख्स्तानमा जीवनयापनको खर्च पनि बढेको दमिरा बताउँछिन्।

कतिपयले आफ्नो ऋण चुक्ता गर्न दोस्रो वा तेस्रो सरोगेसीको लागि सम्झौतामा हस्ताक्षर गरिरहेका छन्।

“दुस्खको कुरा के छ भने अहिले शिक्षकहरू र कनिष्ठ डाक्टरहरूले पनि आफ्नो तालिमको खर्च धान्न नसकेका कारण हामीसँग सम्झौता गरिरहेका छन्, म त्यसमा पटक्कै खुसी छैन,” उनले भनिन्।

“म ती केटीहरू प्रति दुःखी हुन्छु। उनीहरूले उठाउने भावनात्मक बोझ भन्दा उक्त पैसा ठूलो हो भन्ने मलाई लाग्दैन।”

“यहाँ कतिपय एजेन्सीले मनोवैज्ञानिक सहायता पनि दिँदैनन्। हामी त्यस्तो सहायता दिन्छौँ तर पनि उनीहरूको लागि ठूलो तनाव हुन्छ। यो सजिलो पैसा कमाउने बाटो होइन धेरै कठिन काम हो।”

त्यसो भए किन उनले यस्तो काम लगाइरहेकी छन् र यसबाट नाफा कमाइरहेकी छन् त?

“मैले किन पनि यो काम गरिरहेकी छु भने यसको माग बढ्दो छ,” उनी भन्छिन्। “यो वैध हुनुपर्छ र सबैलाई फाइदाको अवसर हुनुपर्छ।”

कानुनकी पूर्व प्राध्यापक समेत रहेकी दमिरा आफूले यो प्रक्रियामा संलग्न सबै पक्षको सकेसम्म कानुनी संरक्षणको प्रयत्न गरेको बताउँछिन्।

दमिरा बेकबरजेनोभा

तस्बिरको क्याप्शन,दमिरा बेकबरजेनोभाले सरोगेसी एजेन्सी सञ्चालन गरेकी छन्

उनी सरोगेसी बापतको पैसा नपाएका र सरोगेसीको प्रतिबन्ध लागेका देशहरूमा पनि बच्चाहरूको तस्करी गर्न बाध्य पारिएका कैयौँ महिलाहरूले आफूलाई सम्पर्क गर्ने गरेको बताउँछिन्।

सामाजिक संकोच

हामीले भेटेका कुनै पनि महिलाले आफूलाई पीडितको रूपमा हेरेको भने पाइएन।

धेरै जनाले आफ्ना र अरूका बच्चाहरूको राम्रो जीवन बनाउन काम गरेको भनेर गर्व गरे। र, उनीहरूले आफ्नो देशमा सरोगेसीलाई कलङ्कको रूपमा हेर्ने गरिएकोमा नैराश्य व्यक्त गरे।

सविना (परिवर्तित नाम) आफ्नो गर्भमा सातौँ बच्चा हुर्काउँदै छिन्। उनको गर्भमा अरू आमाबाबुका लागि हुर्कँदै गरेको यो तेस्रो बच्चा हो। उनले हामीलाई टिब्लिसिको मध्यमा रहेको आफ्नो अपार्टमेन्टमै कुरा गर्न बोलाइन्।

यो बस्ने ठाउँ उनलाई सरोगेसी एजेन्सीले उपलब्ध गराएको हो। यहाँ उनी सहित पाँच जना सरोगेट आमाहरू बस्छन्। उनीहरू गर्भ अवस्थाको अन्तिम तीन महिना जोर्जामै बस्नुपर्छ।

यो फ्ल्याट उज्यालो छ, कोठा अग्लो छ र ककस पर्वत देख्न सकिने सानो कौसी पनि यहाँ छ।

कजाख्स्तानको सानो सहरबाट आएकी सविनाको विवाह १५ वर्षकै उमेरमा भएको थियो। उनी आफ्नो देशमा सरोगेसीलाई यौन कर्मसँग तुलना गरिने भएका कारण जोर्जाको यो शान्त ठाउँमा बस्दा आफू सम्भावित आलोचनाबाट बच्ने मौका पाउने बताउँछिन्।

“त्यहाँको मानसिकताले यो कुरालाई समर्थन नै गर्दैन,” उनी भन्छिन्। “मानिसहरू मेरो कुरा काट्न सक्छन् र बच्चा बेचेको आरोप लगाउँछन्। त्यस कारण मैले यसबारे मानिसहरूलाई नभन्ने निर्णय लिएकी छु। जस कारण म घर फर्कँदा म माथि हेला हुनेछैन।”

“मुस्लिम भएका कारण मैले पाप त गरिरहेको छैन भनेर आफैँमाथि प्रश्न पनि गरेकी छु। मैले यसबारे इन्टरनेटमा खोजेको पनि छु र पढेको पनि छु। मेरो विचारमा बच्चा जन्माउनु राम्रो कुरा हो। किनभने मैले एउटा जीवन दिइरहेकी छु र आफ्नै बच्चा जन्माउन असमर्थ भएका मानिसहरूका लागि राम्रो गरिरहेकी छु।”

“मैले यो काम निःशुल्क गर्ने थिइनँ। मेरा पनि बच्चाहरूलाई खुवाउनु छ। अबको केही वर्षमा मेरो जेठो छोरा कलेज जाने हुन्छ। कजाख्स्तानमा मलाई यो पैसा कमाउन धेरै समय लाग्थ्यो।”

कानुनी प्रतिबन्ध

जोर्जामा पनि सरोगेसी आलोचनामुक्त भने छैन। यहाँको राजनीतिमा सबै पक्षमा रहेकाहरूले सरोगेसीको आलोचना गर्दै आएका छन्।

अर्कोतर्फ महिला अधिकारका पक्षमा वकालत गर्ने समूहहरूले चिकित्सकीय अभ्यासबारे कडा नियमहरू बनाइनुपर्ने र महिलामाथि हुनसक्ने शोषण रोक्न व्यापक संरक्षणको व्यवस्था गरिनुपर्ने माग गर्दै आएका छन्।

सन् २०२३ को जुलाईमा जोर्जाका प्रधानमन्त्री समेत रहेका परम्परावादी जोर्जन ड्रिम पार्टीका नेता इराक्ली गरिबआस्भीलीले विदेशी नागरिकहरूका लागि सरोगेसीमा प्रतिबन्ध लगाउने योजनाको घोषणा गरे। उनले यसलाई उनीहरूले “व्यापार बनाएको” र यसबारे “अत्यधिक विज्ञापनहरू गरिएको” बताए।

लैङ्गिक अल्पसङ्ख्यक विरुद्ध जस्तो देखिएका नीतिहरू बारम्बार बनाएको जोर्जाको सरकारले “समलिङ्गी जोडीहरूले यहाँ जन्मिएका बच्चाहरू लैजानसक्ने” चिन्ता व्यक्त गरेको छ।

तर सरोगेसी एजेन्सीहरूको पहलपछि यो व्यवसायमाथि प्रतिबन्ध लगाउने विधेयक आसन्न निर्वाचनअघि जोर्जाको संसद्‌मा थन्क्याइएको छ।

एलिना जस्ता कैयौँ एकल महिलाहरू सरोगेसीले ल्याउने आर्थिक लाभको पाटो खुला नै हुने आशामा छन्।

“म सकेसम्म छिटो यो काम गर्न चाहन्छु जसकारण यो छिटो सकियोस्,” उनी भन्छिन्।

“समय छिटो अघि बढिरहेको छ। मेरा छोराहरू पनि छिटो छिटो हुर्कँदै छन्। त्यसकारण मैले सबै कुरा छिटो छिटो गर्नुपर्‍यो नि।”

Share Now