Prakash Adhikari June 30, 2024

मायामी गार्डेन(फ्लोरिडा,संयुक्त राज्य अमेरिका), १६ आषाढ । कोपा अमेरिका २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा पेरुलाई हराउँदै साविक विजेता अर्जेन्टिना शत प्रतिशत नतिजासहित समुह विजेता बनेको छ ।

अर्जेन्टिनाले फ्लोरिडाको मायामीस्थित हार्ड रक रंगशालामा शनिवार राति भएको खेलमा पेरुमाथि २ ० को जित निकाल्यो । अर्जेन्टिनाका लागि दुवै गोल लौटारो मार्टिनेजले दोस्रो हाफमा गरेका थिए । कप्तान लिओनेल मेस्सी पूरै समय बेन्चमा बसेको खेलमा अर्जेन्टिनाले खेलमा पूर्ण पकड कायम गरेको थियो ।

पहिलो हाफमा पटक पटक गोल गर्न चुकेको अर्जेन्टिनाका लागि दोस्रो हाफको ४७ औं मिनेटमा लौटारोले खाता खोले । उनले एन्जल डी मारियाको पासमा गोल गरेका थिए । ७२ औं मिनेटमा अर्जेन्टिनाले पेनाल्टी पाएपनि लिआन्द्रो पारेडेसको प्रहार पोस्टमा लागेर फर्केको थियो ।

८६ औं मिनेटमा मार्टिनेजले व्यक्तिगत दोस्रो गोल गर्दै जित पक्का गरे । उनले डिफेन्सले क्लियर गर्न नसकेको बलमा पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिस गरे । त्यसअघि निको टाग्लीयाफिकोको प्रयास पोस्टभित्र छिरेपनि भीएआरले अफसाइड दिएको थियो ।

यस समूहको अर्को खेलमा क्यानडा र चिलीले गोलरहित बराबरी खेले । यससँगै चिली भने समूह चरणबाट नै बाहिरियो । अर्जेन्टिनाको ३ खेलमा ९ अंक हुँदा क्यानडाले ४ अंक जोड्यो । चिलीको २ तथा पेरुको १ अंक रह्यो ।

ब्राजिल अघिल्लो चरणमा पुग्ने बलियो सम्भावना

 

भिनिसियस जुनियरको २ गोल गरेको खेलमा विजयी हुँदै ब्राजिल अमेरिकामा जारी कोपा अमेरिकाको नकआउट चरणनजिक पुगेको छ।

नेभेदाको लसभेगासस्थित एलेजिन्ट स्टेडियममा शनिबार समूह ‘डी’ को अन्तिम खेलमा ब्राजिलले पाराग्वेलाई ४(१ ले पराजित गरेको छ। २ खेलमा ब्राजिलको ४ अंक छ । ब्राजिलले पहिलो खेलमा कोस्टारिकासँग गोलरहित बराबरी खेलेको थियो।

पाराग्वे अंकविहीन रहेको छ। पाराग्वे भने कोलम्बियासँग २(१ गोलअन्तरले पराजित भएको थियो।

ब्राजिलले समूह चरणको अन्तिम खेलमा बुधबार कोलम्बियाको सामना गर्नेछ।

कोलम्बिया नकआउट चरणमा पुगिसकेको छ। कोलम्बियासँगको खेलको नतिजापछि ब्राजिलको आगामी यात्रा तय गर्नेछ। समूहमा कोस्टारिकाको १ अंक छ। लगातार २ खेल जित्दै ६ अंकसाथ कोलम्बिया नकआउट चरणमा पुगिसकेको छ।

कोस्टारिकाले समूह चरणको अन्तिम खेलमा पाराग्वेको सामना गर्नेछ।

शनिबार ब्राजिलले पहिलो हाफमा ३(० को अग्रता लिएको थियो। खेलको ३५औं मिनेटमा जुनियरले गोल गर्दै ब्राजिललाई अग्रता दिलाए। उनले लुकासको पासमा गोल गरे। ४३औं मिनेटमा साभिओले गोल थपे। पहिलो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा जुनियरले अर्को गोल गरे।

४८औं मिनेटमा ओमर एल्डरेटले गोल गर्दै पाराग्वेलाई ३(१ को स्थितिमा पुर्याए । ६५औं मिनेटमा लुकासले पेनाल्टीमार्फत गोल गरेपछि ब्राजिलको जित सहज बन्यो ।

Share Now