Prakash Adhikari July 12, 2024

काठमाडौं, २८ आषाढ । भावि सरकार गठनमा नेपाली कांग्रेस र नेकपा एमालेबीच लगभग सहमति जुटेको छ ।

संविधानको धारा ७६ (२) अनुसार नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा बन्ने सरकारमा दुईजना उपप्रधानमन्त्री रहने छन्। कांग्रेसबाट प्रकाशमान सिंह र एमालेबाट विष्णु पौडेल उपप्रधानमन्त्री बनाउने हालसम्मको सहमति छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज बिहान ११ बजे प्रतिनिधि सभामा विश्वासको मतको मतको प्रस्ताव पेश गर्ने तयारी छ । उहाँको सरकारलाई समर्थन गर्ने र सरकारमा सहभागी सबैभन्दा ठूलो नेकपा एमाले, जनता समाजवादी पार्टी सरकारबाट बाहिरिई सकेकोले उहाँले विश्वासको मत पाउने सम्भावना छैन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री दाहालले राष्ट्रपति सामु राजिनामा पेश गर्नुहुने छ । र राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनको आह्वान गर्नुहुने छ।

राष्ट्रपतिबाट नयाँ सरकार गठनको आह्वान हुनेवित्तिकै नयाँ सरकारको लागि नेकपा एमाले नेपाली कांग्रेस लगायत भावि सरकारमा सहभागी हुने दलहरुका तर्फबाट बहुमतको हस्ताक्षरसहित नेकपा एमालेका अध्यक्ष के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार बनाउने दावी पेश हुने छ ।

बुधबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवाको बुढानीलकष्ठस्थित निवासमा पुगेका एमाले अध्यक्ष ओलीले भावि सरकारमा मन्त्रालयको भागवण्डा टुंग्याउनुभएको छ ।

नयाँ गठबन्धनलाई समर्थन गर्ने सबै दललाई मन्त्रालय दिएर सरकारमा सामेल गराउन एमाले र कांग्रेसका नेताहरु तयार हुनुभएको छ । प्रधानमन्त्रीसहित २५ सदस्यीय मन्त्रिमण्डलमा पहिलो चरणमा दुई पार्टीबाट उपप्रधानसहित कम्तीमा पाँच पाँच जना मन्त्री बनाइँदैछ।

सरकारको नेतृत्व गर्ने एमालेले अर्थसहित ८ मन्त्रालय पाउनेछ। यस्तै, सरकारलाई समर्थन गर्ने ठूलो दल कांग्रेसले परराष्ट्र, गृह, भौतिक पूर्वाधारसहित ९ मन्त्रालय पाउने लगभग निश्चित छ।सरकारलाई समर्थन गर्ने अन्य दलबाट एकएक जना सुरुमै समेट्ने संभावना पनि छ।

यद्यपि, नयाँ सरकारलाई समर्थन गर्ने दलको संख्या बढेकोले भागबण्डाको अन्तिम संख्या हेरफेर हुने छलफलमा रहेका ती नेता बताउँछन्।

संसदमा रहेका जनमत पार्टी, अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा), उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टी (नाउपा) समेत भावित सरकारमा सहभागी हुने संभावना छ। नयाँ सरकारमा सहभागी बन्ने बारे राष्ट्रिय प्रजातन्त्र पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ ।
भावि सरकारलाई समर्थन गर्ने दलहरुको शनिवार बैठक बोलाएर सरकारमा सहभागिताको बारेमा निर्णय लिने कांग्रेस र एमाले नेताहरुको तयारी छ ।

बिहीबार जसपा, जनमत, जसपा नेपाल, लोसपा र राप्रपाको संसदीय दलको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने निर्णय गर्दै कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका छन्।
पहिलो चरणमा को को ?

कांग्रेसबाट प्रकाशमान सिंहले नेतृत्व गरेमा रमेश लेखक गृह र डा। आरजु देउवा परराष्ट्रमन्त्री बन्ने चर्चा छ। अन्य मन्त्रीका बारेमा पार्टीभित्र सहमति हुन बाँकी छ । पार्टीभित्र शेखर कोइराला, कृष्ण सिटौला, दुई महामन्त्री र दुई उपसभापतिलाई समेत स्वीकार्य व्यक्ति मन्त्री बनाउने प्रयासमा सभापति देउवा रहनुभएको छ ।

एमालेले मन्त्रीहरूको नाम सार्वजनिक गरिसकेको छैन। अध्यक्ष के.पी.ओलीले सबै ढंगले सन्तुलन मिलाएर नाम पेश गर्न पार्टीका महासचिव शंकर पोखरेललाई जिम्मेवारी दिनुभएको छ।

 

Share Now