अकबर होसेन र अन्बरसन इथिराजन
(बीबीसी न्यूज, ढाका तथा लन्डन)
साउन २ गते । बाङ्ग्लादेशमा सरकारी जागिरमा कायम आरक्षण र कोटा प्रणालीको विरोधमा भइरहेका प्रदर्शनहरूमा केही व्यक्तिको मृत्यु भएपछि देशभरि विद्यालय र विश्वविद्यालयहरू अर्को सूचना नभएसम्मका लागि भन्दै बन्द गरिएका छन्।
सरकारी जागरिमा सन् १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र तुल्याउने सङ्घर्षमा लडेका मानिसका सन्तानका लागि गरिएको आरक्षण प्रणालीविरुद्ध केही दिनदेखि विश्वविद्यालयका विद्यार्थीहरूले ठाउँठाउँमा र्याली गर्दै आएका थिए।
बाङ्ग्लादेशमा केही सरकारी पदहरू महिला, जातीय अल्पसङ्ख्यक र शारीरिक रूपमा अपाङ्गता भएका व्यक्तिका लागि पनि आरक्षित गर्ने व्यवस्था छ।
त्यहाँ एकतिहाइ पदहरू युद्धको समयका नायकहरू भनी वर्गीकृत गरिएका मानिसका सन्तानका लागि छुट्ट्याइने गरेको छ।
असन्तुष्ट विद्यार्थीहरू उक्त प्रणाली भेदभावपूर्ण भएको तर्क गर्छन्। उनीहरूले सरकारी जागिरमा योग्यताका आधारमा पदपूर्ति हुनुपर्ने माग गरेका छन्।
राजधानी ढाकासहित विभिन्न सहरहरूमा यो साता कोटा प्रणालीविरोधी आन्दोलनका समर्थक र उनीहरूका विपक्षीहरूबीच झडपहरू भएका छन्। यसमा विशेषगरी सत्तारूढ दल अवामी लीगको विद्यार्थी सङ्गठन बाङ्ग्लादेश छात्र लीग ९बीसीएल० पनि संलग्न देखिएको छ।
परस्पर विरोधी विद्यार्थी समूहहरूले एकअर्कामाथि इँटा र लट्ठी प्रहार गरेका थिए। प्रहरीले त्यसरी झडपमा संलग्न भएका पक्षलाई छुट्ट्याउन अश्रुग्यास र रबरका गोली प्रहार गरेको छ। त्यस्ता हमलाहरूमा सयौँ मानिसहरू घाइते भएका विद्यार्थी अभियानकर्मीहरूले बताएका छन्।
कोटाविरोधी आन्दोलनका संयोजकमध्येका अब्दुल्ला सलेहिन अयोउनले बीबीसीसँग कुरा गर्दै भन्नुभयो, ”यो हिंसाका लागि हामी बीसीएलका सदस्यहरूलाई दोष दिन चाहन्छौँ। उनीहरूले प्रदर्शनकारीहरूलाई मारेका हुन्। साधारण विद्यार्थीहरूको ज्यान जोगाउन प्रहरीले कुनै हस्तक्षेप गरेन।”
सरकारी जागिरमा आकर्षण
बाङ्ग्लादेशमा सरकारी जागिरलाई निकै महत्त्व दिएको पाइन्छ। सरकारी जागिरमा आकर्षक तलब हुन्छ।
लाखौँको सङ्ख्यामा रहेका सरकारी पदमध्ये झन्डै आधाभन्दा बढी निश्चित समूह वा वर्गका लागि आरक्षित गरिएको छ।
आलोचकहरूका अनुसार त्यस्तो प्रणालीले प्रधानमन्त्री शेख हसिनालाई समर्थन गर्ने सरकार समर्थक समूहका मानिसका सन्तानलाई फाइदा पुर्याउँछ भने अरू मानिसले त्यसबाट विभेद खेप्नुपर्छ।
शेख हसिना गत ज्यानुअरी महिनामा भएको निर्वाचन लगातार चौथो पटक विजयी हुनुभयो।
उहाँको सरकारले सन् २०१८ मा नै विभिन्न विरोधप्रदर्शनहरूका माझ त्यस्तो आरक्षण प्रणाली खारेज गरेको थियो।
छ जनाको मृत्यु
तर गत जुन महिनाको आरम्भतिर अदालतले त्यस्तो प्रणालीलाई पुनर्स्थापना गर्न अधिकारीहरूलाई आदेश दिएको थियो। त्यसपछि आन्दोलनको यो पछिल्लो लहर सुरु भएको हो।
अधिकारीहरूका अनुसार दक्षिणी बन्दरगाह सहर चटगाउँमा तीन जनाको ज्यान गएको छ भने ढाकामा दुई जना मारिएका छन्।
उत्तरी सहर रङ्गपुरमा गोली लागेर अर्का एक विद्यार्थीको ज्यान गएको हो।
समाचार विवरणहरूका अनुसार मृतकमध्ये कम्तीमा तीन विद्यार्थी छन्। तर यसको आधिकारिक पुष्टि हुन बाँकी छ।
सरकारले हिंसाका निम्ति विपक्षी समूहहरूलाई दोष दिएको छ।
“विपक्षीहरू जमात-ए-इस्लामी र बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी ९बीएनपी० का विद्यार्थी मोर्चाहरूले यो कोटाविरोधी आन्दोलनमा घुसपैठ गरेका छन्। उनीहरूले नै हिंसा उक्साएका हुन्,” कानुनमन्त्री अनिसुल हकले बीबीसीलाई बताउनुभयो।
बाङ्ग्लादेशको उच्च अदालतले वर्तमान प्रणालीलाई गत साता निलम्बन गरिदिएको थियो। यद्यपि त्यस्तो प्रणाली स्थायी रूपमा नै खारेज नभएसम्म यी विरोध प्रदर्शनहरू जारी नै रहन सक्ने अनुमान गरिएको छ।
“यससम्बन्धी मुद्दामा अगस्ट ७ तारिखमा सुनुवाइ हुँदै छ। विद्यार्थीहरूलाई उनीहरूको पक्षको भनाइ अदालतसमक्ष प्रस्तुत गर्ने अवसर दिइएको छ,” मन्त्री हकले बताउनुभयो।
हिंसात्मक झडपहरूपछि मङ्गलवार अबेर राति भएको कारबाहीमा प्रहरीले मुख्य विपक्षी दल बीएनपीको ढाकास्थित मुख्यालयमा छापा मारेको छ।
वरिष्ठ बीएनपी नेता रुहुल कबिर रिज्बीले प्रहरीले छापा मारेको घटना “अरू केही नभएर नाटक मात्र हो र त्यो विद्यार्थीहरूलाई घर फर्किन दिइएको सन्देश पनि।”
प्रधानमन्त्रीको टिप्पणी र विद्यार्थीको आक्रोश
केही दिनदेखि विरोधप्रदर्शन हुँदै आएको छ। विद्यार्थीहरूले ढाका र अन्य ठूला सहरका सडकमा अवरोध गरेपछि सवारी आवगमन ठप्प भएको छ।
विद्यार्थी नेताहरूका अनुसार उनीहरू प्रधानमन्त्री हसिनाको हालैका टिप्पणीहरूबाट आक्रोशित भएका छन्। उनले सरकारी रोजगारीमा कायम कोटा प्रणालीको विरोधीहरूलाई ूरजकरू भनेर सम्बोधन गरेको दाबी गरिएको छ। उक्त शब्द सन् १९७१ को युद्धमा पाकिस्तानी सेनासँग मिलेका मानिसरूका निम्ति प्रयोग हुन्थ्यो।
कतिपय विद्यार्थी नेताहरूले आफूहरूलाई रजकरसँग तुलना गरेर प्रधानमन्त्री हसिनाले अपमान गरेको बताएका छन्। त्यस्तो तुलना गरिएकाले नै बीसीएलका सदस्यहरू आफूहरूलाई आक्रमण गर्न उक्साइएको हुनुपर्ने उनीहरुको भनाइ छ।
तर मन्त्रीहरू प्रधानमन्त्री हसिनाका टिप्पणीहरूको गलत अर्थ लगाइएको र उहाँले विद्यार्थीहरूलाई रजकर नभनेको दाबी गर्छन्।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले बाङ्ग्लादेशको सरकारलाई “प्रदर्शनकारीहरूलाई कुनै पनि प्रकारको डरधम्की र हिंसाबाट सुरक्षा गर्न” आह्वान गरेको उहाँका प्रवक्ता स्टीफेन डुजारिकले बताउनुभएको छ।
विद्यार्थीहरूले तिनका माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन्।
सरकारले ढाका र चटगाउँ लगायत देशका पाँच प्रमुख सहरमा प्यारामिलिटरी सैन्य बल ुबोर्डर गार्ड्स बाङ्गलादेशु परिचालन गरेर सुरक्षा व्यवस्थालाई कडा तुल्याएको छ।


















