–विष्णु पोखरेल / बीबीसी न्यूज नेपाली
काठमाडौं, ४ साउन । आरक्षणको विरोधमा विद्यार्थीहरूले गरेको प्रदर्शन हिंसात्मक बन्दै गएपछि बाङ्ग्लादेशका विभिन्न कलेज तथा विश्वविद्यालयहरूमा अध्ययनरत झन्डै ९० विद्यार्थीहरू विगत दुई दिनमा पूर्वीनेपालको स्थलमार्गबाट नेपाल भित्रिएको अधिकारीहरूले बताएका छन्।
यसबाहेक केही विद्यार्थी हवाईमार्गबाट पनि नेपाल फर्किएको अधिकारी, विद्यार्थी तथा तिनका अभिभावकले बताएका छन्।
परराष्ट्र मन्त्रालयले बाङ्ग्लादेशमा रहेका सबै नेपाली विद्यार्थीहरू सुरक्षित अवस्थामा रहेको र उनीहरूलाई आवश्यक सबै खालका सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको छ।
भारतका कतिपय सञ्चारमाध्यमहरूले केही नेपाली विद्यार्थीहरू भारतको मेघालयमा प्रवेश गरेको विवरणहरू प्रकाशित गरेका छन्।
ूअसुरक्षित महसुस गरी स्वदेश फर्कन चाहने विद्यार्थीूलाई आफूहरूले सहजीकरण गरिरहेको ढाकास्थित नेपाली दूतावासका अधिकारीले बताएका छन्।
परराष्ट्र मन्त्रालय र ढाकास्थित नेपाली राजदूतावासले स्वदेश नफर्की बाङ्ग्लादेशमै बस्न चाहने विद्यार्थीको पनि त्यहाँको सरकार र कलेज तथा विश्वविद्यालय प्रशासनसँग समन्वय गरी सुरक्षाको प्रत्याभूति गरिएको जनाएका छन्।
नेपाली विद्यार्थीको अवस्था के छ, कति फर्किए ?
झापा जिल्लाको काकरभिट्टाबाट भारतीय भूमिमा प्रवेश गरी कैयौँ नेपाली विद्यार्थीहरू स्थलमार्ग हुँदै बाङ्ग्लादेश आउनेजाने गर्छन्।
पछिल्ला केही दिनमा उक्त नाकाबाट नेपाल भित्रने विद्यार्थीहरूको सङ्ख्या केही वृद्धि भएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बीबीसीलाई बताउनुभयो।
उहाँ भन्नुहुन्छ “मैले यहाँको अध्यागमनसँग सम्पर्क गर्दा विगत ३(४ दिनदेखि पहिलाको भन्दा नेपाल फर्कनेको सङ्ख्या केही बढेको भन्ने कुरा छ। हिजो करिब ६५ जना विद्यार्थीहरू फर्किएको र आज २५ जना फर्किएको भन्ने तथ्याङ्क प्राप्त भएको छ।”
उहाँले थप्नुभयो, “साधारणतया ८र१० जना आउने जाने हुन्थ्यो। आजै पनि १० जना जानुभएको छ। तर यो बीचमा फर्किनेसङ्ख्या केही बढेको भन्ने नै छ।”

सहयोगका लागि भारतलाई आग्रह
बाङ्ग्लादेशमा झन्डै तीन हजार नेपाली विद्यार्थी रहेको ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ।
प्रधानमन्त्री शेख हसिनाको सम्बोधनपछि विभिन्न सहरहरूमा आरक्षण विरोधी प्रदर्शनहरू थप चर्किएपछि त्यहाँको सुरक्षा अवस्थालाई लिएर चिन्ताहरू प्रकट भइरहेका छन्।
बिहीबार कम्तीमा २५ जनाको ज्यान गएको थियो भने सयौँ घाइते भएका थिए।
यस्तोमा नेपाली अधिकारीहरूले बाङ्ग्लादेशको परिस्थितिलाई नजिकबाट नियालिरहेको र सबै नेपाली विद्यार्थीहरू सुरक्षित रहेको जनाएका छन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले भन्नुभयो, “बाङ्ग्लादेशको घटना उहाँहरूको आन्तरिक विषय हो। त्यसमा नेपाली विद्यार्थीहरू संलग्न पनि हुनुहुन्न। उहाँहरू आफै पनि सचेत हुनुहुन्छ। अहिलेसम्म सबै जना सुरक्षित हुनुहुन्छ। कुनै पनि परिस्थिति आयो भने त्योसँग जुझ्न नेपाल सरकार तयार नै छ।”
प्रवक्ता राईले भारत हुँदै स्थलमार्गबाट नेपाल फर्कन चाहने विद्यार्थीहरूको सहजीकरणका लागि भारत सरकारलाई पनि अनुरोध गरिएको बताउनुभएको छ।
“ढाकास्थित हाम्रो दूतावासले स्वदेश फर्कन चाहने विद्यार्थीलाई सहजीकरण गरिरहेको छ। उसले आवश्यक समन्वय गरिरहेको छ। हामी निरन्तर दूतावाससँग सम्पर्कमा छौँ”, उहाँले भन्नुभयो।
तर हालसम्म हवाई र स्थलमार्ग हुँदै कति नेपाली फर्किए भने यकिन आँकडा आफूसँग नभएको उहाँको भनाइ छ।
राईका भनाइमा परिस्थिति असामान्य बनेर विद्यार्थीलाई उद्धार गर्नुपर्ने अवस्था आए पनि त्यसका लागि सरकार तयारी अवस्थामा बसेको छ।
“सरकारले गर्नुपर्ने सबै काम गरिरहेको छ र हाम्रो ढाका तथा दिल्लीस्थित दूतावासहरूलाई पनि हामीले तयारी अवस्थामा राखेका छौँ”, उहाँले भन्नुभयो।
कसरी फर्कँदै छन् नेपाली विद्यार्थी
नेपाली कूटनीतिक अधिकारी तथा अभिभावकहरूले दिएको जानकारीअनुसार ढाकाबाट सानो सङ्ख्याका नेपाली विद्यार्थीहरू हवाईमार्ग हुँदै काठमाडौं आएका छन्।
तर त्योभन्दा ठूलो सङ्ख्यामा विद्यार्थीहरू स्थलमार्ग हुँदै नेपाल फर्कँदै छन्।
“ढाकाभन्दा बाहिरका विद्यार्थीहरूलाई हामीले स्थलमार्गबाट सुरक्षित बाटो हुँदै भारतीय सीमातर्फ जान सहजीकरण गरेका छौँ “, ढाकास्थित नेपाली दूतावासकी द्वितीय सचिव योजना बम्जनले बीबीसीसँग टेलिफोनमा भन्नुभयो।
प्रदर्शन हिंसात्मक बनेपछि बाङ्ग्लादेश सरकारले इन्टरनेट बन्द गर्नुका साथै टेलिफोन लाइनहरूमा पनि अवरोध गरेपछि बम्जनसँग विभिन्न प्राविधिक अवरोधबीच सङ्क्षिप्त कुराकानी भएको हो।
त्यस क्रममा उहाँले दिएको जानकारीअनुसार ढाकामा रहेका विद्यार्थीहरू भने हवाईमार्गबाट नेपाल फर्किरहेका छन्।
बिहीवारै केही नेपाली विद्यार्थी स्वदेश फर्किएका थिए भने शुक्रवार मुख्यतः ढाकालाई छलेर स्थलमार्गबाट भारतको पश्चिम बङ्गाल तथा पूर्वोत्तरको राज्य त्रिपुरालगायत क्षेत्र हुँदै विद्यार्थीलाई फर्काइँदै छ।
“हामीले त्यसका लागि सवारीसाधन र काजगपत्र मिलाइदिने काम गरिरहेका छौँ “, उहाँले भन्नुभयो,”यहीँ बस्नेका लागि पनि स्थानीय प्रशासन र कलेजहरूसँग समन्वयमा सुरक्षा व्यवस्था गरिएको छ। जान चाहनेका लागि पनि हामीले व्यवस्थापन गरिरहेका छौँ।”
यद्यपि हालसम्म कति विद्यार्थी बाङ्ग्लादेशबाट नेपालतर्फ फर्किए र कति बाँकी छन् भन्ने यकिन सङ्ख्या दिन सकिने अवस्था नरहेको उहाँले बताउनुभयो।
“इन्टरनेट बन्द भएकाले हामीले सबै विवरण अद्यावधिक गर्न पाएका छैनौँ। फोनका माध्यमबाट विद्यार्थीहरूसँग सम्पर्क भइरहेको छ र हामीले सहजीकरण गरिरहेका छौँ”, उहाँले भन्नुभयो।
नेपाल आइपुगेका विद्यार्थी के भन्छन् ?
बाङ्ग्लादेशको राजधानी ढाकास्थित एउटा मेडिकल कलेजबाट बिहीवार फर्किएका १५ छात्रा र एक छात्रमध्ये काठमाडौंकी समृद्धि नेपाल पनि एक हुनुहुन्छ।
बीबीसीसँग कुराकानी गर्दै उहाँले प्रदर्शन लम्बिने अवस्था देखिएकाले आफूहरू स्वदेश फर्केको बताउनुभयो।
“मङ्गलवारसम्म हामीलाई खासै केही पनि थाहा थिएन। त्यस दिन बाङ्ग्लादेशी साथीहरू कक्षामा ढिलो आए अनि शिक्षकहरूले किन ढिलो आएको भनेर सोध्दा उनीहरूले सडकमा प्रदर्शन भइरहेको बताए”, उहाँले भन्नुभयो, “त्यसपछि विद्यार्थीलाई घर जान समस्या हुन्छ भनेर मङ्गलवार चाँडै छुट्टी दिइयो। हामी छात्रावासमा बस्ने भएकाले खासै समस्या थिएन।”
उहाँले बुधवार बाङ्ग्लादेशमा सार्वजनिक बिदा भएको तर प्रदर्शन विस्तार हुँदै गएको र साँझसम्ममा हिंसात्मक बनेको खबर आएपछि भने आफूहरूलाई चिन्ता लागेको बताउनुभयो।
“हामीले घरमा पनि कुरा गर्यौँ। कलेजले त सहयोग नै गरेको थियो। सुरक्षाको पूर्ण प्रत्याभूति गरेर खाने कुराको पनि बन्दोबस्त गरेको थियो तर प्रदर्शन बढ्ने देखियो”,उहाँले भन्नुभयो, “प्रदर्शन अझै कम्तीमा दुई साता लम्बिन्छ भन्ने भएपछि हामीले बिहीवारको टिकट काट्यौँ। दूतावासलाई सम्पर्क गर्यौँ। बिहीवार बिहानै ४ बजे हामीलाई दूतावासले गाडी पठाएर एअरपोर्ट पुर्याइदियो, अनि सवा १० बजेको फ्लाइटमा हामी काठमाडौं आयौँ।”
उहाँका अनुसार विमानस्थलसम्म जाँदा बिहानै भएकाले खासै प्रदर्शन र अवरोधको सामना गर्नुपरेन।
उनका पिता प्रवीण नेपालले सुरुमा छोरीले खासै समस्या छैन, यतै बस्छु भन्नुभएको बताउनुभयो।
“तर बुधवार शेख हसिनाको सम्बोधनमा अदालतबाट आरक्षण मामिलाको निरुपण हुने भन्ने कुरा आयो। हामीले सुनुवाइ कहिले रहेछ भनेर हेर्दा अझै १५ । २० बाँकी हुने देखियो। अनि हामीले छोरीलाई बोलाउने निर्णय गर्यौँ “, उहाँले भन्नुभयो।
अदालतबाट निर्णय नआउन्जेल आन्दोलन नरोकिने स्थिति देखिएपछि हवाईमार्गबाट आफ्नी छोरीलाई नेपालमा बोलाएको र उनी नेपाल फर्किएपछि ढुक्क बनेको उहाँले बताउनुभयो ।
“अभिभावकलाई चिन्ता त भइहाल्छ, फेरि स्थिति अझ खराब बन्ला भनेर हामीले बोलाएका हौँ” , उहाँले थप्नुभयो ।
अन्य देशका विद्यार्थीको अवस्था
समृद्धिले बताएअनुसार उहाँको कलेजमा रहेका विदेशी विद्यार्थीमा नेपाली र भारतीयहरू धेरै छन्।
भारत(प्रशासित कश्मीरका विद्यार्थीहरू पनि प्रशस्त रहेको उहाँले बताउनुभयो।
प्रायस् सबै विदेशी विद्यार्थी सकुशल रहेको र उनीहरू खासै असुरक्षित अवस्थामा नरहेको अवस्था छ।
तर नेपालीसहित भारतीय विद्यार्थीहरू पनि हवाई र स्थल दुवै मार्गबाट स्वदेश फर्किरहेका छन्।
हालसम्म पछिल्लो प्रदर्शन र हिंसाका क्रममा विदेशी विद्यार्थीलाई असर परेको विवरण आएको छैन।
नेपाली दूतावासका अनुसार बाङ्ग्लादेशमा ३ हजार जनाभन्दा बढी नेपाली विद्यार्थीहरू अध्ययनरत छन्।
त्यसमध्ये अधिकांश चिकित्साशास्त्र अध्ययनका लागि गएकाहरू छन्।
बीबीसी बाङ्ग्लाका अनुसार हालसम्म त्यहा २५ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ।
अधिकारीहरूले बाङ्ग्लादेश सरकारले विभिन्न कलेज र विश्वविद्यालयका छात्रावासबाट बाङ्ग्लादेशी विद्यार्थीहरूलाई बाहिर पठाएको र त्यहाँ अब विदेशी विद्यार्थीहरू मात्रै बाँकी रहेका जनाएका छन्।


















