Prakash Adhikari July 20, 2024

 

ढाका(बंगलादेश), ५ साउन (बीबीसी) । बंगलादेशमा आरक्षणविरोधी आन्दोलन हिंसात्मक बन्दै गएपछि त्यसलाई रोक्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ।

शुक्रबार आन्दोलनकारीले नरसिङदीको कारागारमा आक्रमण गरी सयौँ कैदी रिहा गरेपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको हो।

सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताउनुभएको छ ।

बीबीसीका अनुसार बंगलादेशमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ।

बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवा आन्दोलित भएका हुन्। उक्त आन्दोलनले हिंसात्मक रूप लिइरहेको छ।

राजधानी ढाकालगायत धेरै सहरमा केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ।

प्रहरी र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएका छन्।

 

Share Now