Prakash Adhikari July 23, 2024

 

काठमाडौं, ८ साउन । नेपालको बाणिज्य बैंकमा अब्बल मानिएको नबिल बैंकले एकसाथ ४ वटा प्रतिष्ठित अवार्डहरू प्राप्त गरेको छ ।

बैंकले एकैसाथ तीन अन्तर्राष्ट्रिय अवार्ड र एक राष्ट्रिय अवार्ड जितेको छ । बैंकले अन्तर्राष्ट्रियतर्फ  वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४ बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर), युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४ र वेस्ट बैंक फर एसएमइज, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४ जितेको छ भने राष्ट्रियतर्फ नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबीपीए), २०२३ जितेको छ ।

४०औँ वार्षिकोत्सवका कार्यक्रमहरू मनाउँदै गर्दा बैंकले यी महत्वपूर्ण अवार्डहरू जित्न सफल भएको हो । यस उपलब्धिले बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन, र उत्कृष्ट सेवाको मान्यता थप सुदृढ गरेको बैंकले जनाएको छ ।

बैंकको ४० वर्षे अनवरत यात्रामा धेरै उपलब्धि हासिल भएको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले बताउनुभएको छ । ढुंगानाले भन्नुभयो ‘नवीन प्रयोग र ग्राहकको सुविधामा हाम्रो ध्यानले हामीलाई यी अवार्डहरू दिलाएको छ, जुन हाम्रा कर्मचारीको अथक मेहनतको फल हो । सबैलाई बधाई दिन चाहन्छु ।’

४० औं वार्षिकोत्सवको अवधिमा बैंकले पाएका अवार्डहरू

१) नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड (एनबीपीए), २०२३

नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको छ। यो अवार्ड बैंकलाई आर्थिक वर्ष २०२२÷२३ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा प्रदान गरिएको हो। बैंकको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनलाई सम्मान गर्दै यो अवार्ड प्रदान गरिएको हो। काठमाडौंमा आयोजित एक विशेष समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त अवार्ड हस्तान्तरण गर्नुभएको छ। नबिल बैंकका तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र वित्त तथा योजना विभाग प्रमुख सन्दीपबाबु पौडेलले अवार्ड ग्रहण गर्नुभएको थियो।

२) वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४

नबिल बैंकले संयुक्त अधिराज्य (युके)को ग्लोबल ब्राण्ड्स म्यागेजिनबाट यस वर्षको वेस्ट कमर्सियल बैंकिङ ब्राण्ड अवार्ड नेपाल, २०२४ प्राप्त गरेको छ। ग्लोबल ब्राण्ड्स म्यागेजिन ठुलो प्रकाशन गृहमध्येको एक हो । यसले हरेक वर्ष बैंकिङ क्षेत्रका अग्रणी, उत्कृष्ट सेवा तथा दृष्टिकोण प्रदर्शन गर्ने बैंकहरूका लागि अवार्ड आयोजना गर्दै आइरहेको छ । यस सम्मानले बैंकिङ क्षेत्रमा नबिल बैंकको उत्कृष्ट सेवा र दूरदर्शी दृष्टिकोणलाई थप सुदृढ बनाएको छ। अवार्डका लागि बाह्य अनुसन्धान तथा मूल्यांकन टोलीले गरेको सिफारिसका आधारमा बैंकले यो अवार्ड प्राप्त गरेको हो ।

३)  वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर), युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४

नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर कर्पोरेट सोसियल रेस्पोन्सिबिलिटी (सिएसआर) प्राप्त गरेको छ । सामाजिक उतरदायित्व अन्तर्गत देशमा पुर्‍याएको योगदानको कदर स्वरुप यो अवार्ड बैंकले हासिल गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई दिगो विकासका लक्ष्य केन्द्रित गर्दै समाजको सकारात्मक परिवर्तनका लागि बैंकले स्वास्थ्य, शिक्षा, उद्यमशीलता, संस्कृति जर्गेना तथा प्रवद्र्धन, सूचना प्रविधि आदि कार्यक्रमहरु सञ्चालन गर्दै समाजमा टेवा पुर्‍याउँदै आएको छ । बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसइ) कार्यक्रम २०७८ मंसिर देखि सुरु गर्दै सामाजिक उद्यमशीलतालाई देशव्यापीरुपमा सञ्चालन गर्दै आएको छ ।

४) नेपालको वेस्ट बैंक फर एसएमइज, युरोमनि अवार्ड फर एक्सिलेन्स, २०२४

नबिल बैंकले युरोमनि अवार्ड फर एक्सिलेन्स २०२४ अन्तर्गत नेपालको वेस्ट बैंक फर एसएमइजतर्फको अवार्ड पनि हासिल गर्न सफल भएको छ । सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ।

‘बैंकले नवीनतम कामका लागि देखाएको प्रतिबद्धता, सामाजिक उतरदायित्व अन्तर्गत पुर्‍याएको योगदान, गुणस्तरीय ब्राण्डिङ्ग र साना तथा मझौला व्यवसाय विस्तारमा गरेको उत्कृष्ट प्रदर्शनले यी अन्तराष्ट्रिय अवार्डहरु पाएकोमा हामीलाई थप उर्जा मिलेको छ,’ प्रमुख कार्यकारी अधिकृत ढुंगानाले बताउनुभयो ।

नबिल बैंक नेपालको अग्रणी वाणिज्य बैंकहरूमध्ये एक हो । बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २ सय ६८ शाखा र ३ सय १६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ । नबिल बैंकले ४० वर्ष देखि नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवाहरूको सुरुवात गर्दै महत्वपूर्ण भूमिका खेलेको छ । बैंकले नेपालको बैंकिङ विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

Share Now