Prakash Adhikari July 23, 2024

काठमाडौं, ८ साउन । एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजमा लगानी गर्ने भएको छ ।

एनआईबीएल इक्विटी पार्टनर्सले डेलिस डेरिजसँग ९ करोड ५० लाख रुपैयाँ बराबरको लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ।

एनआईबीएल इक्विटी पार्टनर्स विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको र नेपाल धितोपत्र बोर्डद्वारा स्वीकृतिप्राप्त कोष प्रबन्धक एनआईएमबी एस क्यापिटलको एकाइ हो । लगानीसम्बन्धि यस सम्झौताले आधुनिक र उच्च–गुणस्तरको दुध उत्पादनमा आफूलाई देशकै प्रथम स्थानमा स्थापित गर्ने चाहने डेलिज डेरिजको लक्ष्यलाई थप ऊर्जा प्रदान गरेको बताइको छ ।

एनआईबिएल इक्विटी पार्टनर्सले डेलिस डेरिजको गुणस्तर र उत्कृष्टताप्रतिको प्रतिबद्धतालाई मान्यता दिएको प्रेस विज्ञप्तिमा उल्लेछ । ‘डेलिस’ ब्रान्डको ग्रीक दहीले नवीनताको पहिचान दिएको छ भने ‘पञ्चमी’ ले स्थानीय नेपालीहरुको मन जितिरहेको छ ।

एनआईबीएल इक्विटी पार्टनर्सको यस लगानीले नेपाली बजारमा डेलिस ब्रान्डको स्थानलाई झनै मजबुत बनाउने भएको दाबी गरिएको छ ।

इनआईबीएल इक्विटी पार्टनर्सको लगानी पछि डेलिस डेरिजको उत्पादन क्षमतामा वृद्धि हुनेछ । चितवनमा रहेको आफ्नो हालको कारखानामा प्राविधिक रूपमा उन्नत मेसिनरीहरूको खरिद गरि डेरिजका स्वादिष्ट उत्पादनहरूको बढ्दो मागलाई पूरा गर्न सक्नुका साथै त्यहाँको हालको १० हजार लिटर प्रति दिनको क्षमतालाई उल्लेखनीय रूपमा वृद्धि गर्नेछ ।

यो लगानीले कम्पनीको उत्पादनमा नवीनता छाउने, बजारको पहुँचमा विस्तार हुने, इलामको फिक्कलमा नयाँ अत्याधुनिक कारखाना निर्माणमार्फत् देशकै अग्रणी चीज उत्पादक बन्ने र आईपीओ निष्काशन गर्ने तयारीमा सघाउ पुग्ने विश्वास गरिएको छ ।

एनआईएमबी एस क्यापिटलका सीईओ शिवान्त बहादुर पाँडेले लगानीले नेपाली उपभोक्ताहरूलाई फाइदा पुर्‍याउने, रोजगारी सिर्जना गर्ने र राष्ट्रको समग्र आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैगरी डेलिस डेरिजका सह–संस्थापक र सीईओ सन्दीप पौडेलले एनआईबीएल इक्विटी पार्टनर्ससंगको साझेदारीले नेपालको अग्रणी दुग्ध उत्पादकको रूपमा रहेको डेलिसको स्थानलाई थप बलियो बनाउने बताउनुभएको छ ।

Share Now