दाम्बुला(श्रीलंंका), ८ साउन । एसीसी महिला टी २० एशिया २०२४ अन्तर्गत आज नेपाली चेलीहरु समूह चरणको अन्तिम खेलमा भारतविरुद्ध खेल्दैछन् ।
खेल नेपाली समय अनुसार बेलुका ७ः१५ बजे श्रीलंका स्थित दाम्बुला स्टेडियममा सुरु हुनेछ ।
नेपाल रहेको समूहमा नेपाल र पाकिस्तानको समान २ २ अंक छ । भारतले २ खेल जितेर ४ अंक हासिल गरिसकेको छ । युएईले २ खेलमा हार बेहोरेको छ ।
पछिल्लो खेलमा पाकिस्तान विरुद्ध हार बेहोरेको नेपाललाई सेमिफाइनलमा पुग्नका लागि आजको खेल जित्नु पर्ने छ ।
समूह चरणको अन्तिम खेलमा पाकिस्तानले आजको पहिलो खेलमा युएई विरुद्ध खेल्नेछ । आजका सो दुई खेलको नतिजाले समूहमा दोस्रो हुँदै सेमिफाइनलमा पुग्ने टोलीको निर्धारण गर्नेछ ।
पाकिस्तानले युएई विरुद्ध जित हासिल गरेमा नेपालले भारतलाई हराउनैपर्ने हुन्छ ।
पाकिस्तानले हार बेहोरेमा भने नेपाल भारतसँग पराजित भएपनि , पाकिस्तान र युएईसँग नेटरनरेटमा प्रतिस्पर्धा हुनेछ । पाकिस्तान युएई विरुद्ध पराजित हुने सम्भावना न्यून छ ।
पछिल्लो खेलमा नेपालले पाकिस्तान विरुद्ध ९ विकेटको पराजय ब्यहोरेको थियो ।


















