बेरुत (लेबनान), १४ श्रावण । गोलन हाइट्समा बालबालिकासहित कम्तीमा १२ जनाको ज्यान जाने गरी भएको रकेट आक्रमणपछि हिज्बुल्लाह र इजरायलबीच तनाव चुलिएको र दुई पक्षबीच लडाइँ चर्किन सक्ने भय उत्पन्न भएको छ।
विगत नौ महिनादेखि इजरायल र हिज्बुल्लाहबीच गोली हानाहान भइरहेको भए पनि गोलान हाइट्समा शनिवार भएको आक्रमण इजरायलको उत्तरी क्षेत्रको सीमामा भएको सबैभन्दा घातक घटना हो।
गोलन हाइट्स इजरायल अधीनस्थ क्षेत्र हो। त्यहाँ हिज्बुल्लाहले रकेट प्रहार गरेको इजरेलको आरोप छ।
हिज्बुल्लाह के हो ?
हिज्बुल्लाह शिया मुस्लिमहरूको संस्था हो। यो राजनीतिक रूपमा प्रेरित छ र लेबनानको सबैभन्दा शक्तिशाली सशस्त्र समूहको नियन्त्रणमा छ।
हिज्बुल्लाहको शाब्दिक अर्थ ‘ईश्वरको दल ‘ हो। यसको स्थापना सन् १९८० को दशकको आरम्भमा यो क्षेत्रको सबैभन्दा प्रभावशाली शिया शक्ति रहेको इरानले इजरायलविरुद्ध गरेको थियो। त्यस बेला इजरायली सेनाले लेबननमा चलिरहेको गृहयुद्धको समयमा दक्षिणी लेबनानलाई आफ्नो नियन्त्रणमा लिएको थियो।
हिज्बुल्लाह सन् १९९२ यता निर्वाचनमा सहभागी हुँदै आएको छ। त्यहाँको राजनीतिमा उसको राम्रै प्रभाव छ।
यसको सैन्य एकाइले लेबनानमा रहेका इजरायली र अमेरिकी फौजमाथि घातक आक्रमण गरेको थियो। सन् २००० मा लेबनानबाट इजरायल बाहिरिँदा त्यसको प्रमुख श्रेय हिज्बुल्लाहले लियो।
त्यसयता हिज्बुल्लाहले दक्षिणी लेबनानमा हजारौँ लडाकुहरू र विशाल क्षेप्यास्त्रसहितका अस्त्र तैनाथ गरेको छ। यसले विवादास्पद सीमा क्षेत्रमा इजरायलको उपस्थितिको विरोध गर्दै आएको छ।
यद्यपि हिज्बुल्लाहलाई पश्चिमा देशहरू, इजरायल, खाडी राष्ट्रहरू र अरब लीगले आतङ्कवादी संस्था भनेका छन्।
हिज्बुल्लाहले इजरायलको सीमाभित्र आक्रमण गरेपछि सन् २००६ मा दुई पक्षबीच पूर्ण स्तरको युद्ध चर्किएको थियो। त्यसपछि इजरायली फौजले दक्षिणी लेबनान प्रवेश गरेर हिज्बुल्लाहबाट भएको चुनौती निस्तेज पार्ने प्रयास गर्यो।
तर हिज्बुल्लाह निस्तेज भएन। उसले लडाकुहरू थप्यो। उसले आधुनिक र राम्रा हतियारहरू जम्मा गरेको छ।
हिज्बुल्लाहका नेता हसन नस्रल्लाह को हुन् ?
शेख हसन नस्रल्लाह शिया धर्मगुरु हुनुहुन्छ। उहाँ सन् १९९२ देखि हिज्बुल्लाहको नेतृत्वमा हुनुहुन्छ।
यो समूहलाई राजनीतिक र सैन्य शक्तिमा रूपान्तरण गर्न उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको छ ।
उहाँको इरान र त्यहाँका सर्वोच्च नेता अयालूल्लाह अली खामनेईसँग निकट सम्बन्ध छ।
सन् १९८१ मा इरानका पहिलो सर्वोच्च नेता अयातूल्लाह रूहोल्लाह खामनेईले लेबनानका लागि आफ्ना प्रतिनिधि बनाएका नस्रल्लाह अहिलेसम्म पनि इरानी नेताका प्रतिनिधि हुनुहुन्छ।
नस्रल्लाह कैयौँ वर्षदेखि सार्वजनिक रूपमा देखा पर्नुभएको छैन। उहाँ भूमिगत रहनुको कारण चाहिँ इजरायलबाट हत्या हुन सक्ने डर रहेको बताइन्छ।
यद्यपि उहाँलाई हिज्बुल्लाहले निकै सम्मान गर्छ। उहाँ प्रत्येक साता टेलिभिजनमार्फत् भाषण गर्नुहुन्छ।
हिज्बुल्लाह कति शक्तिशाली छ ?
हिज्बुल्लाह विश्वकै सबैभन्दा शक्तिशाली गैरसरकारी सैन्य शक्ति हो। यसलाई इरानले आर्थिक र हतियारलगायतका सहयोग उपलब्ध गराउँदै आएको छ।
शेख हसन नस्रल्लाहले हिज्बुल्लाहसँग एक लाख लडाकु रहेको दाबी गर्दै आउनुभएको छ। यद्यपि स्वतन्त्र आकलनमा हिज्बुल्लाहसँग २०हजार देखि ५० हजार सम्म लडाकु रहेको बताइन्छ।
उनीहरूमध्ये कैयौँले राम्रो तालिम लिएका छन्। हिज्बुल्लाहका लडाकुहरूले सिरियाको गृहयुद्धबाट लडाइँको अनुभव पनि सँगालेका छन्।
हिज्बुल्लाहसँग झन्डै १ लाख २० हजार देखि २ लाख रकेट क्षेप्यास्त्र रहेको सेन्टर फर स्ट्रटीजिक एन्ड इन्टर्न्याश्नल स्टडीज थिङ्कट्याङ्कको आकलन छ।
यसका अधिकांश अस्त्रहरू साना आकारका, जमिनदेखि जमिनमा प्रहार गर्ने किसिमका छन्।
तर यो समूहसँग विमानभेदक र पानीजहाजभेदक क्षेप्यास्त्रहरूका साथै इजरेलको भित्री भागसम्म प्रहार गर्न सकिने निर्देशित क्षेप्यास्त्रहरू पनि रहेको ठानिन्छ।
ती अस्त्रहरू गाजामा आधारित हमाससँग भएकाभन्दा पनि अत्याधुनिक हुन्।
के हिज्बुल्लाहले इजरायलसँग लडाइँ गर्ला ?
यसअघि पनि इजरायल र हिज्बुल्लाहबीच बेलाबेलामा सङ्घर्ष भएको छ। गत अक्टोबरमा हमासले इजरायलमा गरेको आक्रमणको समर्थनमा हिज्बुल्लाहले पनि इजरायली सैन्य क्षेत्रमा आक्रमण गरेको थियो।
त्यसयता उसले इजरायलको उत्तरी क्षेत्र र गोलन हाइट्समा रकेट प्रहार गर्नुका साथै इजरायली बख्तरबन्द गाडीमा क्षेप्यास्त्र प्रहार र विस्फोटक पदार्थ बोकेका ड्रोनहरूबाट सैन्य संरचनामा आक्रमण गर्दै आएको छ।
इजरायली डिफेन्स फोर्सेस (आईडीएफ)ले पनि हवाई हमला, बख्तरबन्द गाडी र लेबननमा रहेका हिज्बुल्लाहका शिविरमा प्रहार गरेर प्रतिवाद गर्दै आएको छ।
संयुक्त राष्ट्रसङ्घले आक्रमणहरूका कारण लेबनानमा ९० हजार मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ।
इजरायली आक्रमणमा करिब १०० जना मानिस र ३ सय ६६ जना हिज्बुल्लाह लडाकुहरू मारिएको राष्ट्रसङ्घको तथ्याङ्क छ।
अधिकारीहरूले हिज्बुल्लाहको आक्रमणमा इजरेलमा ६० हजार सर्वसाधारण मानिसले आफ्नो घर छोड्नुपरेको र १० सर्वसाधारण नागरिकसहित ३३ जना मारिएको बताएका छन्।
छिटपुट लडाइँ भइरहे पनि पर्यवेक्षकहरूले दुवै पक्ष पूर्ण स्तरको युद्धमा जान नचाहेको ठानेका छन्।
तर दुवै पक्षबाट घातक आक्रमणका घटनाहरू हुन सक्ने र घटना नियन्त्रण बाहिर जान सक्ने चिन्ता व्यक्त भएको छ।