Prakash Adhikari July 29, 2024

 

ब्राम्पटन(क्यानडा), १४ श्रावण(एजेन्सी) । क्यानडामा जारी चौथो संस्करणको ग्लोबल टि २० लिगमा नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्स पराजित भएको छ ।

सोमबार बिहान भएको खेलमा टोरन्टो नेशनल्स ८० रनले सर्रे ज्यागुअर्ससंग पराजित भएको हो । यो संस्करणको तेस्रो खेलमा नेसनल्सको यो पहिलो हार हो ।

सर्रेले दिएको १ सय ६२ रनको लक्ष्य पछ्याएको टोरोन्टोले १७.१ ओभरमा अल आउट हुदै ८१ रन बनायो । टोरन्टो नेसनल्सका लागि ओपनर उन्मुक्त चन्दले १७ बलमा सर्वाधिक २१ रन बनाए ।

यो खेलमा ब्याटिङको मौका पाएका नेपाली कप्तान रोहितले २५ बलमा १० रन बनाएका थिए । रस भान डार डुसेनले २१ बलमा १५ तथा निकोलस किर्तनले ९ बलमा ११ रन थपे ।

टोरन्टोलाई राक्ने क्रममा सर्रे ज्यागुअर्सको लागि सुनिल नारायण र मार्कस स्टोईनेसले समान ३ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सर्रेले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।

सर्रेका लागि कप्तान मार्कस स्टोईनेसले ३७ बलमा सर्वाधिक ५७ रन बनाए । भिरनदीप सिंहले २३, कायल मेयर्सले २७, ब्रेन्डन म्याकमिलनले १८ तथा मोहम्मद नाबीले १३ रन बनाए ।

सर्रे ज्यागुअर्सलाई रोक्ने क्रममा टोरोन्टोका लागि मोहम्मद रोहिड र जुनैद सिद्धिकीले समान २ तथा रोमासियो शेफर्डले १ विकेट लिए । टोरन्टो नेसनल्सले चौथो खेल भोलि मंगलबार खेल्ने भएको छ ।

Share Now