काठमाडौं, २० साउन । ऊर्जा मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका दुई जना सञ्चालकलाई पदमुक्त गरेको छ।
प्राधिकरणका सञ्चालकद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई पदबाट हटाइएको ऊर्जा मन्त्रालयकी सहसचिव इन्दिरा दाहालद्धारा प्रेषित पत्रमा उल्लेख गरिएको छ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा प्राधिकरणले पछिल्लोपटक बिजुली काटिदिएका उद्योगमा पुनः लाइन जोड्ने सम्बन्धमा ऊर्जा मन्त्रालय र प्रधानमन्त्रीको निर्देशनलाई वेवास्ता गर्दै सञ्चालक द्धयले सञ्चालक समिति बैठकमा ‘नोट अफ डिसेन्ट’ लेखेका थिए ।
यसपछि मन्त्रालयले सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको थियो।
मन्त्रालयले साउन १५ मा सोधेको स्पष्टिकरणको जवाफ उनीहरूले साउन १८ मा बुझाएका थिए।
उक्त स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै उनलाई पदमुक्त गरिएको दाहालले पठाएको पत्रमा उल्लेख छ।
पुनलाई उपभोक्ता समूहबाट र आचार्यलाई जलविद्युत् क्षेत्रबाट सदस्यमा नियुक्त गरिएको थियो।
प्राधिकरणको सञ्चालक ऊर्जा मन्त्रालयले नियुक्त गर्छ। मन्त्रालयले यसअघि सदस्य हटाउने र अदालतको आदेशले फर्किएका उदाहरण पनि छन्।
विद्युत् प्राधिकरणले ६ अर्ब ४३ करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ। त्यसको २५ प्रतिशत जरिवाना जोडेर प्राधिकरणले उद्योगमा बिल पठाएको थियो। उद्योगले प्रमाण नभएको भन्दै तिर्न नमानेपछि प्राधिकरणले ६ वटा उद्योगको लाइन काटिदिएको थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा प्राधिकरण बोर्ड बैठकले तत्काललाई विद्युत् जडान गर्ने निर्णय गरिसकेको छ।