काठमाडौँ, २३ साउन : कुशल प्रशासक एवं व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गरिएको छ । नेपाल जनप्रशासन सङ्घद्वारा आज यहाँ आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान प्रदान गर्नुभयो ।
सो सम्मान रु दुई लाख राशिको रहेको छ । सङ्घले र साल्ट ट्रेडिङ कर्पोरेशनको सौजन्यमा सो संस्थाका अध्यक्ष स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो ।
पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्न पुर्याउनुभएको योगदान स्वरूप डा थापालाई सो सम्मान प्रदान गरिएको सङ्घका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिनुभयो ।
सम्मानित व्यक्तित्व डा थापाले राष्ट्रिय योजना आयोगको सदस्य सचिव, अर्थ तथा योजना मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थसचिव हुँदै अर्थमन्त्री एवं परराष्ट्र मन्त्रीको गहन जिम्मेवारी सम्हाल्नुभएको थियो ।
साथै संयुक्त राज्य अमेरिका र भारतका लागि नेपाली राजदूत, नेपाल भारत प्रबुद्ध व्यक्ति समूहको नेपालतर्फको संयोजक तथा श्रीलङ्काका लागि संयुक्त राष्ट्र सङ्घको आवासीय प्रतिनिधि र क्यानडास्थित अन्तर्राष्ट्रिय विकास अनसुन्धान केन्द्र (आइ.डि.आर सी) को उपाध्यक्षका हैसियतमा कूटनीतिक सेवामार्फत अन्तर्राष्ट्रिय सम्बन्धलाई मजबुत बनाउन उहाँले उल्लेखनीय योगदान दिनुभएको छ ।
उक्त सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो । सो समितिमा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुङगाना सदस्य रहनुभएको थियो ।
यसअघि सो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान् कोइराला, डा विमल कोइराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुङ्गाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसक्नुभएको छ ।
स्व मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गर्नुभएको थियो । प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीच पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्बन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरावलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा सङ्घको स्थापना भएको थियो ।
सुशासनबाट दीगो विकास र सम्वृद्धि हासिल हुने विश्वास
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा गर्ने सम्वैधानिक दायित्वलाई सबैले आत्मासात गर्नुपर्ने बताउनुभएको छ । नेपाल जन–प्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान अर्पण समारोहलाई सम्बोधन गर्दै उहाँले सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी, भ्रष्टाचारमुक्त, जनउत्तरदायी र सहभागितामूलक बनाउँदै राज्यबाट प्राप्त हुने सुविधामा जनताको समान र सहज पहूँच सुनिश्चित गरी सुशासन प्रत्याभूति भएमात्र दिगो शान्ति, सुशासन, विकास र सम्वृद्धिको आकांक्षा पूरा हुने बताउनुभयो ।
राष्ट्रपति पौडेलले मुलुकमा विधिको शासन सञ्चालन गर्न, नागरिकहरूलाई दिइने सेवामा दक्षता ल्याउन, सरकारी कामकारवाहीमा पारदर्शिता, जवाफदेहिता र उत्तरदायित्वको बढावा गरी सुशासन कायम गर्न प्राज्ञिक तथा पेशागत संस्थाहरूको ठूलो भूमिका रहेको उल्लेख गर्नुभयो । पौडेलले भन्नुभयो– ‘यी सबै कार्यमा तीनै तहका सरकारलाई सघाउ पु¥याउन तथा घच्घच्याउन नेपाल जन–प्रशासन संघ सँधै क्रियाशील रहोस् ।’
उहाँले पूर्व प्रशासकहरूमाथि राज्यको ठूलो लगानी रहेको भन्दै सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको सम्वृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भएर काम गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो– ‘तपाईँहरूमाथि राज्यले ठूलो लगानी गरेको छ । जसको कारण तपाईंहरू क्षेत्रगत ज्ञान र सीपयुक्त विज्ञ पनि हो । तपाईँहरूलाई विश्वव्यापी अनुभव र राज्य प्रणाली सञ्चालनका नवीनतम् आयामहरूको बोध छ । यसर्थ, जीवनको उत्तरार्धमा राज्य प्रणालीबाट केही पाउँंछु भन्दा पनि मैले केही योगदान गर्नुपर्छ भन्ने भावना मनभित्र राख्नुभएको छ भन्ने विश्वास लिएको छु । यस्तो सकारात्मक मन, उर्वरशील मस्तिष्क, शीपयुक्त हातहरूका माध्यमबाट मुलुकको सम्वृद्धि र जनताको हितका निम्ति राष्ट्रको सच्चा पहरेदार भै काम गर्न म अपिल गर्दछु ।’
उहाँले ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक स्वर्गीय हेमवहादुर मल्लको सम्मानमा हेमबहादुर मल्ल सम्मान स्थापना गरी शिक्षा, व्यवस्थापन, प्रशासन, सार्वजनिक वितरण, जनसरोकार एवं सरकारी तथा गैरसरकारी क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने महानुभावहरूलाई सम्मानित गर्ने परम्परा स्थापना गरेर नेपाल जन–प्रशासन संघले महत्वपूर्ण काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो ।