ढाका(बंगलादेश), २४ साउन (बीबीसी) । नोबेल पुरस्कार विजेता मोहम्मद युनुस बाङ्ग्लादेशको अन्तरिम सरकारको नेतृत्व गर्न बिहीवार स्वदेश फर्किनुभएको छ।
प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छोडेपछि आन्दोलनकारी विद्यार्थीहरूको मागबमोजिम राष्ट्रपति शहाबुद्धिनले प्राध्यापक युनुसलाई अन्तरिम सरकारको प्रमुख नियुक्त गर्नुभएको थियो।
स्वदेश फर्किएपछि ८४ वर्षीय युनुसले गर्नुपर्ने काम धेरै भएको प्रतिक्रिया दिनुभएको छ।
“जनताहरू उत्साहित छन्”, फ्रान्सबाट ढाका पुगेको केही क्षणपछि उहाँले भन्नुभयो।
उहाँले बिहीवार नै शपथ तथा पदभार ग्रहण गर्ने अपेक्षा गरिएको छ।
सरकारी जागिरमा आरक्षण प्रणालीविरुद्ध सुरु भएको विद्यार्थीहरूको असन्तुष्टिले हिंसक आन्दोलनको रूप लिएपछि निरन्तर १५ वर्ष सत्तामा बसेकी हसिना पदत्याग गर्दै भारतमा आश्रय लिनुभएको छ।
सरकारविरुद्ध भएको आन्दोलनका क्रममा ४०० जनाभन्दा बढी मानिसको मृत्यु भएको छ।
अवसरहरू आएका छन् !
गत जनवरीमा भएको निर्वाचनपछि गठित संसद्बाट हसिना चौथो कार्यकालका लागि प्रधानमन्त्री बन्नुभयो। शेख हसिनाको सत्ता ढलेपछि बाङ्ग्लादेशमा राजनीतिक शून्यता उत्पन्न भएको थियो।
यद्यपि सेनाप्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने घोषणा गर्नुभएको थियो। राष्ट्रपतिले संसद् पनि विघटन गर्नुभयो।
राष्ट्रपति मोहम्मद शाहबुद्दिन र वरिष्ठ सैन्य अधिकारीहरूले आन्दोलनकारी विद्यार्थीहरूसँग वार्ता गरेपछि मोहम्मदलाई अन्तरिम सरकारको नेता छान्ने निर्णय भएको थियो।
विद्यार्थीहरूले सेनाले बनाएको सरकार अस्वीकार्य हुने घोषणा गरेका थिए।
हसिना अहिले भारतमा हुनुहुन्छ।
युनुसको नेतृत्वमा बाङ्ग्लादेश अधिनायकवादी शासनबाट प्रजातान्त्रिक पद्धतिमा फर्किने अपेक्षा गरिएको छ।
ढाका आइपुगेपछि उहाँले बाङ्ग्लादेशको पुनर्निर्माणका लागि अनुशासन आवश्यक भएको बताउनु भयो।
“कडा परिश्रम र कार्य सम्पन्न”, विमानस्थलबाट हाँस्दै निस्किँदा युनुसले भन्नुभयो, “नयाँ अवसरहरू आएका छन्।”
हसिना तेस्रो देश जान सक्ने अनुमान
सत्तात्याग गरेर भारत पुग्नुभएकी हसिना तेस्रो मुलुक, सम्भवतः यूके, जान सक्ने अनुमान गरिएको छ। उहाँले यूकेमा राजनीतिक शरण माग्ने विवरण विभिन्न सञ्चारमाध्यमले प्रकाशित गरेका छन्।
तर त्यसको पुष्टि हुन सकेको छैन।
उहाँसँगै ढाका छोड्नुभएकी उहाँकी बहिनी शेख रेहाना ब्रिटिश नागरिक हुनुहुन्छ। शेख रेहानाकी छोरी ट्यूलिप सिद्दिक अहिले ब्रिटेनको संसद्मा सदस्य हुनुहुन्छ।
हसिनाका सहयोगीहरूका अनुसार उहाँ राजनीतिमा नफर्किने निष्कर्षमा पुग्नुभएको छ। सन् १९९६ मा पहिलो पटक प्रधानमन्त्री बन्नुभएकी हसिना २० वर्ष देशको प्रधानमन्त्री बन्नुभएको थियो।
हसिनाका छोरा सजीब अहमद वाजेद जोयले परिवारको आग्रहमा हसिनाले आफ्नो सुरक्षाका लागि देश छोड्नुभएको बताउनुभएको छ।
हसिनाले राजीनामा नदिउन्जेलसम्म जोय प्रधानमन्त्रीका सल्लाहकार पनि हुनुहुन्थ्यो।