Prakash Adhikari August 21, 2024

सातदोबाटो(ललितपुर), ५ भाद्र । नेपालमा जारी साफ यु-२० च्याम्पियनसिप अन्तरगत बुधबार सम्पन्न खेलमा माल्दिभ्सलाई हराउँदै भुटानले समूह बीबाट सेमिफाइनल पुग्ने सम्भावनालाई बलियो पारेको छ ।

दोस्रो हाफको अधिकांश समय १० खेलाडीमा सीमित भएको भुटानले माल्दिभ्सलाई २(१ ले पराजित गरेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भारी वर्षाका बीच खेलको २१ मिनेटमा दोर्जीको गोलबाट भुटानले अग्रता लिएको थियो ।

खेलको ५३ औं मिनेटमा भुटान १० खेलाडीमा सिमित बनेको थियो । गोलकिपर तेन्जिङले पेनाल्टी क्षेत्रबाहिरको बल हातले छोएपछि उनलाई रेफ्रीले रातो कार्ड देखाउँदा भुटान १० खेलाडीमा सिमित भएको थियो ।

त्यसमा प्राप्त फ्रि किकमा गोल गर्दै माल्दिभ्सले खेल बराबरीमा ल्यायो । माल्दिभ्सका फिराकले डिबक्स बाहिरबाट हानेको प्रहारले गोलमा‌ परिणत भएको थियो ।

तर मालदिभ्सको दुर्भाग्य । खेल‌ सकिन एक मिनेट बाँकी रहँदा सांगे छोपेलले गोल गर्दै भुटानलाई जित दिलाए ।

समूहको पहिलो खेलमा भारतले भुटानलाई १(० ले हराएको थियो । भारत र भुटानको समान ३ अंक भएको छ भने माल्दिभ्स अंकबिहिन छ । समूहको अन्तिम खेल भारत र माल्दिभ्सबीच बिहिवार हुनेछ । उक्त खेलमा माल्दिभ्सले भारतलाई पराजित गरे मात्र अघिल्लो चरणमा पुग्ने सम्भावना रहनेछ । भारत बराबरी गरे समूह विजेता बन्नेछ ।

प्रतियोगितामा बिहीबार घरेलु टोली नेपाल र बंगलादेशबीच पनि प्रतिस्पर्धा हुनेछ । दुवै टोलीले पहिलो खेलमा श्रीलंकालाई पराजित गर्दै सेमिफाइनल पुगिसकेका छन् । भोलिको खेलबाट समूह बिजेता र उपबिजेताको टुंगो लाग्नेछ ।

Share Now