जेरुसेलम(इजरायल), १० असोज । इजरायली सेना प्रमुखले लेबनानमा लडाकु समूह हिज्बुल्लाह लक्षित व्यापक हवाई हमलाले आफूहरूलाई “शत्रुको भूभाग प्रवेश” गर्ने बाटो खुला गर्न सक्ने बताउनुभएको छ।
लेफ्टिनेन्ट जेनरल हेजरी हालेभीले भन्नुभएको छ, “तपाईँले आकाशमा जेटका आवाज सुनिरहनु भएको छस हामी दिनभरि हमला गरिरहेका छौँ। त्यो त्यहाँ सम्भावित प्रवेश र हिज्बुल्लाहलाई कमजोर पार्ने दुवै कुराका लागि आधार तयार पार्न हो।”
लेबननका स्वास्थ्यमन्त्रीले बुधवार भएका हमलामा ५० जनाभन्दा धेरै मानिसहरू मारिएको जानकारी दिनुभएको छ।
जसलाई इजरायली सेनाले हिज्बुल्लाहको गुप्तचर निर्देशनालयका साथै लन्चर र अस्त्र भण्डारहरूमा गरिएको हमला बताएको छ।
चर्किरहेको परिस्थितलाई मत्थर पार्नका लागि कूटनीतिक प्रयासहरू भइरहँदा र फ्रान्स र अमेरिकाले २१ दिने युद्ध विराम प्रस्ताव गरेका छन्।
इजरायली सेना प्रमुखको भनाइ
लेबनानमा स्थल अतिक्रमण तत्काल हुनसक्ने लेफ्टिनेन्ट जेनरल हालेभीको अभिव्यक्ति वरिष्ठ इजरायली अधिकारीबाट आएको पछिल्लो प्रस्ट सङ्केत हो।
“हामीले जहाँतहीँ उनीहरूलाई हमला र प्रहार गरिरहेका छौँ,” उहाँले इजरायलको उत्तरी सीमा सैन्य अभ्यास गर्न लागेका सैनिकहरूलाई सम्बोधन गर्दै बताएको इजरायली सेनाले आफ्नो एक विज्ञप्तिमा जनाएको छ।
“उत्तरका बासिन्दालाई सुरक्षित रूपमा फिर्ता ल्याउने लक्ष्य निकै प्रस्ट छ। त्यो हासिल गर्नका लागि हामी प्रक्रिया सुरु गर्ने तयारीमा छौं । यसको अर्थ तपाईँका सैन्य बुट।।।शत्रुका इलाकामा पस्नेछ।”
सेना प्रमुखले आफ्ना बलले शत्रुको नास गर्ने र तिनका पूर्वाधारसमेत ध्वस्त पार्ने बताउनुभएको छ।
इजरायल लेबनानमा प्रवेश गर्न चाहेको भन्ने तत्काल कुनै सङ्केत नरहेको बताइँदै आएको थियो।
बुधवार अमेरिकी पेन्टागनले त्यस्तो अवस्था तत्काल नदेखिएको जनाएको थियो।
तर सेनाका दुई रिजर्भ ब्रिगेडलाई उत्तरी मोर्चाको कारबाही मिशनका बोलाएको केही बेरमा इजरायली सेना प्रमुखको उक्त भनाइ आएको हो।
बीबीसीको एक टोली बुधवार इजरेलको सीमा क्षेत्रको भ्रमण गरिरहँदा इजरायली सेनाले हिज्बुल्लाह लडाकुहरू सीमाबाट निकै पछाडि हट्नुपर्ने जनाएको छ।
सन् २००६ मा संयुक्त राष्ट्रसङ्घले पारित गरेको एक प्रस्तावमा लितानी नदीको उत्तरमा बस्नुपर्ने भनिएको छ।
कूटनीतिक प्रयास
अमेरिका लगायत इजरायलका साझेदारहरूले त्यस क्षेत्रमा पूर्ण आकारको युद्ध नहोस् भनेर काम गरिरहेको जनाएका छन्।
केही विवरणहरूका अनुसार वरिष्ठ अमेरिकी अधिकारीहरू छोटो समयको सङ्घर्ष विराम गराउने प्रयासमा छन्।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले संयुक्त राष्ट्रसङ्घमा बोल्ने क्रममा लेबननमा युद्ध हुन नसक्ने बताउनुभयो ।
“यसैले हामी इजरायललाई लेबनानमा द्वन्द्व रोक्न अपिल गछौँ। हामी हिज्बुल्लाहलाई समेत इजरायलमा मिसाइल आक्रमण नगर्न पनि आग्रह गर्नेछौँ।”
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले युद्ध विराम तत्काल कार्यान्वयन गर्न अपिल गर्दै स्थिति नियन्त्रण बाहिर गइरहेको बताउनुभएको छ।
लेबनानका प्रधानमन्त्री नजिब मिकाटीले आफ्नो देश इजरायली शत्रुको क्रूर अभ्यासका कारण हाम्रो सार्वभौमसत्ता र मानव अधिकारको स्पष्ट उल्लङ्घनको सामना गरिरहेको जनाउनुभएको छ।
सोमवारयता नब्बे हजार मानिस विस्थापित
संयुक्त राष्ट्रसङ्घले इजरायलले आक्रमण गरेपछि सोमवारयता लेबनानमा ९० हजारभन्दा बढी मानिस विस्थपित भएका जनाएको छ।
इजरायली सेनाले दक्षिणी लेबनान र बेक्का क्षेत्रमा व्यापक हमलाहरूको नयाँ लहर सुरु गर्ने जनाइरहँदा राष्ट्रसङ्घको तथ्याङ्क सार्वजनिक भएको हो।
लेबनानको स्वास्थ्य मन्त्रालयले बुधवारको इजरायली हवाई हमलाहरूमा मात्रै ५१ जनाको ज्यान गएको जनाएको छ।
इरान समर्थित हिज्बुल्लाहले आफूले इजरायली आक्रमण रोकिरहेको र प्यालेस्टाइनसँग ऐक्यबद्धता रहेको जनाएको छ। इजरायलले भने हिज्बुल्लाहको खतरा हटाउने उद्देश्य राखिएको जनाएको छ।
गत अक्टोबर ८ तारिखयता इजरायल र हिज्बुल्लाहबीच दैनिकजसो सीमापार हमला भइरहँदा उत्तरी इजरायलमा ६० हजार मानिस विस्थापित भएका छन्।
इजरायलले लेबनानमा हिजबुल्लाहविरुद्धको कारबाहीमा सेनाका थप दुई रिजर्भ ब्रिगेड परिचालन गर्न लागिएको जनाएको छ।
इजरायलका उत्तरी कमाण्डका प्रमुख मेजर जनरल ओरी गोर्डिनले आफूहरू कारबाही अभियानको नयाँ चरणमा प्रवेश गर्न लागेको र त्यसका निम्ति आफ्नो सेना पूर्ण रूपमा तयार हुनुपर्ने बताउनुभएको छ।
इजरायलले हिजबुल्लाहविरुद्ध थप व्यापक हवाई आक्रमणहरू जारी राख्दा हिजबुल्लाहले पनि उत्तरी इजरायलमा जबाफी आक्रमण गरिरहेको छ।
यसअघि बुधवार नै हिजबुल्लाहले तेल अभिवलाई लक्ष्यित गरी प्रहार गरेको बलिस्टिक क्षेप्यास्त्रलाई इजरायलले विफल पारिदिएको थियो।
जेरुसेलमबाट बीबीसी सम्वाददाता योलान्ड नेल भन्नुहुन्छ, “जस्तालाई तस्तै भन्ने किसिमले जबाफी कारबाहीहरूको आदानप्रदान भइरहेको देख्न सकिन्छ। यसले निकै खतरनाक स्थिति पैदा गर्न सक्छ। ध्यान दिनुपर्ने कुरा के हो भने पछिल्ला तीन दिन एघार महिनादेखिको सङ्घर्षमा सबैभन्दा तीव्र रह्यो, जुन गाजा युद्धको साथसाथै भइरहेको छ र इजरायलले अधिक ध्यानाकर्षित गरेको छ। हिजबुल्लाहले गाजामा युद्धविराम नहुँदासम्म कारबाही जारी राख्ने जनाएको छ।”
इजरायलको निसाना
इजरायली डिफेन्स फोर्सेस आईडीएफले हिजबुल्लाहका ६० गुप्तचर निर्देशनालयलाई निसाना बनाइएको जनाएको छ।
जबुल्लाहबाट पैदा हुन सक्ने खतराबाट पार पाउनु आफ्नो लक्ष्य रहेको इजरायलको भनाइ छ।
लेबनानमा पछिल्ला केही दिनका घटनामा महिला र बालबालिकासहित छ सयभन्दा बढीको ज्यान गएको छ।
घाइतेहरूको सङ्ख्या धेरै हुँदा त्यहाँका अस्पताहरू सेवा दिन नसक्ने अवस्थामा पुगेका छन्।
लेबनानको विदेश मन्त्रालयले दक्षिणी लेबनानबाट पाँच लाख मानिसहरू घर छाडेर भागेको जनाएको छ।
ब्रिटेनका प्रधानमन्त्रीले लेबनानमा रहेका ब्रिटिस नागरिकलाई तुरुन्त लेबनान छाड्न भन्नुभएको छ।
त्यस्तै अमेरिका, क्यानडा, फ्रान्स र जापानसहितका अन्य देशहरूले पनि आआफ्ना नागरिकलाई लेबनानबाट निस्कन भनेका छन्।


















