फ्लोरिडा(संयुक्त राज्य अमेरिका), २४ कार्तिक(बीसीसी) ।अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनल्ड ट्रम्पले राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका महत्त्वपूर्ण पदमा नियुक्ति गर्न थाल्नुभएको छ।
ट्रम्पले आफ्नो चुनावी अभियानकी वरिष्ठ सल्लाहकार सुजी वाइल्सलाई चीफ अफ स्टाफ नियुक्त गर्नुभएको हो।
अमेरिकामा वाइल्सलाई प्रभावशाली नेत्री मानिन्छ। देशको इतिहासमा उक्त पदमा पुग्ने उहाँ प्रथम महिला हुनुहुन्छ।
रिपब्लिकन पार्टीका दुई चुनावी व्यवस्थापकमध्येकी एक वाइल्स ट्रम्पले नियुक्त गर्न पाउने पदाधिकारीमध्ये प्रथम व्यक्ति हुनुहुन्छ।
सुजी वाइल्स को हुनुहुन्छ ?
चुनावी अभियानमा वाइल्सले निभाएको भूमिकाको ट्रम्पले आफू निर्वाचित भएपछिको पहिलो भाषणमा प्रशंसा गर्नुभएको थियो।
अमेरिकी सञ्चारमाध्यमहरूले सुजीलाई “अरूले निकै कम थाहा पाएका र डर मान्ने ” राजनीतिज्ञ भनेका छन्।
ुपोलिटिकोुलाई गत एप्रिलमा दिएको निकै दुर्लभ अन्तर्वार्तामा उहाँले आफू निकै “परम्परागत पृष्ठभूमिबाट” आएको बताउनुभएको थियो।
उहाँले राजनीति सुरु गरेको एक वर्ष पनि नपुग्दै सन् १९८० को राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन उम्मेदवार रोनल्ड रेगनको चुनावी अभियानमा काम गर्नुभएको थियो।
सन् २०१० मा उहाँले राजनीतिबारे निकै कम जानकार रहेका अमेरिकी तत्कालीन व्यवसायी रिक स्कटलाई सात महिनामै फ्लोरिडाको गभर्नर बनाउन महत्त्वपूर्ण भूमिका खेल्नुभयो।
स्कट अहिले अमेरिकी माथिल्लो सदनमा सिनेटर हुनुहुन्छ।
ट्रम्पसँग उहाँको भेट सन् २०१५ मा रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको उम्मेदवार चयन गर्ने प्रक्रियाका क्रममा भयो। उहाँ फ्लोरिडाको चुनावी अभियानको सहअध्यक्ष हुनुभयो। ट्रम्पले सन् २०१६ मा उक्त राज्यमा हिलारी क्लिन्टन भन्दा १.६ प्रतिशत धेरै मत ल्याउनुभयो।
आफू गभर्नरको उम्मेदवार हुँदा वाइल्सलाई आफ्नो अभियानको नेतृत्व दिएका फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उहाँको प्रशंसा गर्दै वाइल्सलाई यो “कामका लागि सबैभन्दा उत्कृष्ट” भन्नुभएको थियो।
चीफ अफ स्टाफको भूमिका के हुन्छ?
ट्रम्पले नयाँ टोली बनाइरहेको फ्लोरिडामा रहेका बीबीसी संवाददाताका अनुसार वाइल्सले ह्वाइट हाउसमा प्रमुख नीति र दैनिक गतिविधि हेर्ने भूमिका पाउनुहुने छ ।
अमेरिकी राष्ट्रपतिको प्रशासनमा चीफ अफ स्टाफको उल्लेख्य भूमिका रहने गर्छ।
उनीहरूको सबैभन्दा प्रमुख जिम्मेवारी ह्वाइट हाउसको व्यवस्थापकको हो। राष्ट्रपतिको सचिवालयका कर्मचारीहरूको नेतृत्व पनि चीफ अफ स्टाफले गर्छन्।
कार्यकारी अधिकार हुने राष्ट्रपति कार्यालयका अन्य कर्मचारीहरूका गतिविधि र सञ्चालनको रेखदेख गर्ने चीफ अफ स्टाफले राष्ट्रपतिलाई नीतिगत विषयमा सल्लाह र नीतिनिर्माणमा मार्गदर्शन पनि गर्ने हैसियत राख्छन्।
ट्रम्पले अरू कसलाई नियुक्त गर्नुहोला?
बाइडनबाट ट्रम्पलाई हुने सत्ता हस्तान्तरणमा सघाउन गठित ट्रम्पको समूहले नयाँ प्रशासनमा कसलाई नियुक्त गर्ने भनेर विचार गर्न थालिसकेको छ।
ट्रम्पको पहिलो कार्यकालमा काम गरेका धेरै व्यक्तिहरूले यसपालि रुचि देखाएका छैनन्। तर ट्रम्पसँग निकट रहेका केही व्यक्तिहरूले भने पुनः ह्वाइट हाउसमा स्थान पाउने चर्चा चलेको छ।
यसपालि ट्रम्पले नयाँ व्यक्तिहरूलाई आफ्नो सरकार, ह्वाइट हाउसका महत्त्वपूर्ण पद र अन्य सरकारी पदमा नियुक्त गर्ने सक्ने देखिन्छ।
तीमध्ये रोबर्ट एफ केनडी जूनिअर, इलोन मस्क, माइक पोम्पिओ, रिचर्ड ग्रेनल, क्यारोलिन लीअभिट र टम होमनको नाम अगाडि देखिएको छ।
रोबर्ट एफ केनडी जूनिअर पर्यावरण वकिल हुनुहुन्छ। उहाँ रिपब्लिकन पूर्वराष्ट्रपति जोन एफ केनडीका भतिजा हुनुहुन्छ। विगतका दुई वर्षमा उहाँको राजनीतिक जीवनमा निकै उथलपुथल देखियो।
उहाँले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदमा उठ्ने प्रयास गरेका थिए। तर उहाँको परिवार जो बाइडनको पक्षमा उभियो।
त्यसपछि उहाँ स्वतन्त्र उम्मेदवार बन्नुभयो। तर विभिन्न विवादका माझ प्रतिस्पर्धाबाट बाहिरिँदै उहाँले डोनल्ड ट्रम्पलाई सघाउने घोषणा गर्नुभयो।
ट्रम्पले केनेडीलाई जनस्वास्थ्यको क्षेत्रमा भूमिका दिने वाचा गर्नुभएको छ।
विश्वका सर्वाधिक धनी व्यक्ति इलोन मस्कले खुलेरै ट्रम्पलाई सघाउनुभयो । ट्रम्पको निर्वाचन प्रचारप्रसारमा संलग्न हुनेमध्ये मस्क सर्वाधिक चिनिएका व्यक्ति हुनुहुन्थ्यो।
उहाँ स्पेसएक्स तथा एक्स कम्पनी र स्टारलिंकाका प्रमुख हुनुहुन्छ।
ट्रम्प र मस्क दुवैले मस्कले डिपार्टमन्ट अफ गभर्न्मन्ट इफिशन्सीको नेतृत्व पाउने बताउनुभएको छ। उक्त नयाँ निकायले सरकारको खर्च कटौती, नियमावलीहरूमा सुधार र निसास्सिने खालको विशाल कर्मचारीतन्त्रलाई चुस्त बताउने बताइएको छ।
माइक पोम्पिओ कन्सासबाट सांसद निर्वाचित हुनुभएको छ। उहाँ अमेरिकी सङ्घीय गुप्तचर निकाय सीआईएका पूर्वप्रमुख हुनुहुन्छ। उहाँ ट्रम्पको पहिलो कार्यकालमा विदेशमन्त्री पनि हुनुहुन्थ्यो।
उहाँलाई विदेशनीतिमा धुरन्धर मानिन्छ। उहाँ इजरायलका प्रखर समर्थक हुनुहुन्छ । इजरायलस्थित अमेरिकी दूतावासलाई तेल अभिभबाट जेरुसलेम सार्न उहाँले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
सन् २०२० को निर्वाचनको मतपरिणामपछि ट्रम्पले धाँधली भएको दाबी गर्दा उहाँ ट्रम्पको पक्षमा उभिनुभएको थियो।
उहाँले रक्षामन्त्रीमा नियुक्ति पाउन सक्ने ठानिएको छ। यद्यपि उक्त पदमा माइकल वाल्ट्जको पनि दाबी छ।
ट्रम्प राष्ट्रपति हुँदा रिचर्ड ग्रेनल जर्मनीका लागि राजदूत र बाल्कन क्षेत्रका लागि विशेषदूत हुनुहुन्थ्यो। उहाँ राष्ट्रिय गुप्तचर निकायका कार्यवाहक प्रमुख पनि बन्नुभएको थियो।
सन् २०२० मा नभाडा राज्यमा ट्रम्प पराजित हुँदा उक्त परिणामलाई उल्ट्याउने प्रयासमा ग्रेनल धेरै खट्नुभएको थियो।
केही महिनाअघि उहाँले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग गोप्य वार्ता गर्नुभएको थियो। ट्रम्पले आफू राष्ट्रपति बने युक्रेन युद्ध तत्काल अन्त्य गराउने बताउँदै आउनुभएको छ।
ग्रेनलले विदेश मन्त्रालय वा राष्ट्रिय सुरक्षा सल्लाहकारको पदमा नियुक्ति पाउन सक्ने ठानिएको छ।
बाइडनको वाचा
त्यसअघि राष्ट्रपति जो बाइडनले ट्रम्प निर्वाचित भएपछि पहिलो सार्वजनिक मन्तव्य दिँदै शान्तिपूर्ण सत्ता हस्तान्तरण गर्ने वाचा गर्नुभएको थियो।
अमेरिकी प्रजातन्त्रको प्रशंसा गर्दै बाइडनले राष्ट्रपतिमा निर्वाचित भएकोमा ट्रम्पलाई बधाई पनि दिनुभएको छ।
“देशले एक जना वा अर्कोलाई छान्छ। हामीले देशको छनोट स्वीकार गर्नुपर्छ। आफूले जित्दा मात्रै तपाईँले देशलाई माया गर्ने भन्ने हुँदैन, तपाईँ सहमत हुँदा मात्रै छिमेकीलाई माया गर्ने भन्ने हुँदैन,” उहाँले भन्नुभएको छ।
उहाँले निर्वाचनमा पराजित ह्यारिससँग पनि आफूले टेलिफोनमा संवाद गरेको भन्दै ह्यारिसको “प्रेरणादायी चुनावी अभियान”को प्रशंसा गर्नुभएको थियो।
बाइडनको कार्यकाल अब ७४ दिन बाँकी छ। उहाँले हरेक दिन उल्लेख्य बनाउने बताउनुभएको छ।