Prakash Adhikari December 1, 2024

काठमाडौं, १६ मंसिर । आज सम्पन्न स्थानीय तहको उपनिर्वाचनको मत परिणाम आउन थालेको छ ।
हालसम्म घोषित ९ स्थानको निर्वाचनमा ७ स्थानमा नेपाली कांग्रेसका उम्मेद्वारहरु विजयी बनेका छन् भने एक स्थान नेकपा एमाले र एक स्थान नेपाल मजुदूर किसान पार्टीले जितेका छन् । नेकपा माओवादीले रुकुम पूर्वको एक स्थान पहिल्यै निर्विरोध जितिसकेको छ ।

नेपाली कांग्रेसले दिएको समाचारमा जाजरकोटजिल्लाको कुशे ७, दार्चुलाको दुहु गाउँ पालिका वडा न ५, रोल्पाको रून्टीगढी गाउँपालिका ४, डोटीको पुर्बीचौकी गाउँपालिका ६, पश्चिम रुकुमको सानीभेरी गाउँपालिका ५ को परिणाम नेपाली कांग्रेसको पक्षमा आएको छ ।

डोटी पूर्विचौकीको ६ को वडाध्यक्ष पदको उपनिर्वाचनको अन्तिम मतपरिणाम अनुसार
नेपाली कांग्रेसका मोहन थापा ४ सय ६८ मत सहित विजयी हुनुभएको छ । जम्मा जम्मा ८ सय ३९ मत खसेकोमा नेकपा एमालेका देव थापाले ३ सय १, नेकपा माओवादी केन्द्रका देवीलाल थापाले २६ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका जानकी खड्का कुँवरले ३१ पाउनुभएको छ । खसेको मत मध्ये १३ मत बदर भएका छन् ।

कुशे गाउँपालिका–७ को वडाअध्यक्षमा पनि कांंग्रेस
जाजरकोटको कुशे गाउँपालिका–७ को वडाध्यक्षमा नेपाली कांग्रेसका खम्बबहादुर सिंह वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

सिंह ३ सय ४७ मत ल्याएर विजयी बन्नुभयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी कैन्द्रका गोरखबहादुर नेपालीले ३ सय ३२ मत पाएका पाउनुभयो ।

यो वडामा पहिले ं२०७९ मा चुनाव लड्दा नेकपा माओवादी केन्द्रले जितेको थियो ।
त्यसबेला माओवादी केन्द्रका मनबहादुर घर्तीले ३ सय ८० मत ल्याएर वडाध्यक्ष जित्दा कांग्रेसका खम्ब बहादुर सिंहले ३ सय १८ मत ल्याउनुभएको थियो भने एमालेका प्रसाद सिंहले १ सय ४८ मत ।

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा कांग्रेस विजयी

रोल्पाको रुन्टीगढी गाउँपालिका–४ मा नेपाली कांग्रेसका भुपमणी पुन मगर वडाध्यक्ष निर्वाचित हुनुभएको छ ।

उहाँले ६ सय ४३ मत ल्याउनुभयो भने एमालेका बेगम पुनले ५३५ मत । माओवादीका नरेशजंग सिंहले ७० र राप्रपाका पहलबहादुर वलीले १० मत ल्याउनुभएको छ।

यो वडामा ०७९ को चुनावमा पनि कांग्रेसले नै जितेको थियो । त्यो चुनावमा कांग्रेसका टंकबहादुर पुनले ४ सय ८८ मत ल्याएर जित्दा एमालेका बेगम पुनले ४ सय ८० मत ल्याउनुभएको थियो भने माओवादीका शिवलाल रोकाले २ सय ३ मत ।

सानीभेरीमा पनि कांग्रेसकै जित

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ मा नेपाली कांग्रेसका उम्मेदवार मोती राम खत्री ५ सय ९० मतसहित विजयी हुनुभएको छ ।

निर्वाचनमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जसीराम बस्नेतले ५ सय ३७ मत प्राप्त गर्नुभएको छ ।

वियजी उम्मेदवार खत्री नेकपा एमालेको समर्थनमा चुनावी प्रतिस्पर्धामा सहभागी हुुनुभएको हो । यो वडामा यसअघि नेकपा माओवादी केन्द्रले जितेको थियो ।

ओखलढुंगाको मोलुङ–५ मा एमाले विजयी
आइतबार भएको उपनिर्वाचन अन्तर्गत ओखलढुंगाको मोलुङ गाउँपालिकाबाट नेकपा एमालेले विजयी सुरुवात गरेको छ ।

मोलुङ गाउँपालिका–५
को वडाध्यक्षमा नेकपा एमालेकी उम्मेदवार गंगा तामाङ विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका घनश्याम दाहालले १ सय ७७ मत प्राप्त गर्नुभएको छ। त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार तेस्रो हुनुभएको छ । रास्वपा उम्मेदवार विष्णु प्रसाद पोखरेलले १ सय ५१ मत ल्याउनुभएको छ ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार मानबहादुर सुनुवारले २३ मत ल्याउनुभएको छ ।

तिलागुफा–४ मा नेमकिपाका शाही विजयी

यता कालीकोटको तिलागुफा गाउँपालिका–४ को वडाध्यक्ष पदमा आज भएको उपनिर्वाचनमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का खड्कराज शाही विजयी हुनुभएको छ ।

वडाध्यक्षमा शाही १ सय ४३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) का नैसोभा शाहीले १ सय १५ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले जानकारी दिनुभयो ।

उक्त उपनिर्वाचनमा नेकपा (एमाले) का ऐनबहादुर शाहीले ७८, नेपाली कांग्रेसका पैलबहादुर शाहीले ४९, राष्ट्रिय प्रजातन्त्र पार्टीका गोगनबहादुर शाहीले १७ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका गगन बमले पाँच मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत पन्तले बताउनुभयो ।

कूल ६ सय ९ मतदातामध्ये निर्वाचनमा ४ सय ११ (६७.४८ प्रतिशत) मत खसेको थियो । २ सय १७ महिला र १ सय ९४ पुरुषले मतदान गरेका थिए । चार मत बदर भएको थियो । विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट विजयी भएका परबहादुर शाहीको पहिरोमा परी निधन भएको थियो ।

Share Now