Prakash Adhikari September 7, 2026

 

काठमाडौँ, २२ भाद्र । जलविद्युत आयोजनाहरूको सुरुङ ‘ब्रेक थ्रु’ नभएसम्म खोजी जारी रहने नेपाली सेनाले जनाएको छ ।

सोमबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा सेनाका सहायक रथी सुवासजंग थापाले भन्नुभयो ‘जबसम्म टनेलहरू ब्रेक थ्रु हुँदैन तबसम्म खोजी र उद्धार जारी रहन्छ ।’

भोटेकोशीको बाढीका कारण क्षति पुगेका रसुवा र नुवाकोटमा जलविद्युत आयोजनाका सुरुङहरूमा नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्मीहरुले संयुक्त खोज तथा उद्धार गरिरहेका छन् ।

सरकारले नखोज्ने निर्णय गरेको अवस्थामा बाहेक सबै सुरुङ ‘ब्रेकथ्रु’ नभएसम्म निरन्तर खोज तथा उद्धार जारी राखिने सहायक रथी थापाले जानकारी दिनुभयो ।

भोटेकोशीमा आएको बाढीबाट रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजना प्रभावित भएका छन् । आयोजना स्थल र विद्युत्तको सुरुङमा फसेका ८ सय ९८ जना मानिसहरू सम्पर्क विहीन भएको स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान)ले जनाएको छ । रसुवा जिल्लामा रसुवागढी जलविद्युत आयोजना, रसुवा–भोटेकोशी, माथिल्लो मेलुङ–ए, लाङटाङ खोला, चिलिमे, मेलुङ खोला र अपर त्रिशुली १ आयोजना बिपदबाट प्रभावित भएका छन् ।

नुवाकोट जिल्लामा त्रिशूली जलविद्युत आयोजना, देवीघाट जलविद्युत आयोजना, माथिल्लो त्रिशूली–३ ए, माथिल्लो त्रिशूली–३ बी र मिडल त्रिशूली गङ्गा प्रभावित छन् ।

सेना सहितको संयुक्त उद्धार टोलीले अपर त्रिशूली–१ बाट १ सय १५ मिटर भित्रबाट एक जना चिनियाँ नागरिकलाई जीवितै उद्धार गरेका थिए । २१६ मेगावाटको सो आयोजनाको टनेलभित्र पुग्दा उद्धारकर्मीले नै अक्सिजन लिनुपर्ने अवस्था रहेको सहायक रथी थापाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘माथिल्लो त्रिशूली–१ मा हाम्रो र कोरियन उद्धारकर्मी संयुक्त रूपमा भित्र गएका थियौँ ।’

त्रिशूली–३ ए जलविद्युत आयोजनाको नुवाकोटस्थित पावर हाउसमा ४ वटा स्काभेटर र ३ वाटर पम्प प्रयोग गरेर उद्धार गरिएको सेनाले जनाएको छ । सो आयोजनाबाट सेना सहितका उद्धारकर्मीले दुई जनाको जीवित उद्धार र एक जनाको शव निकालेका थिए । पावर हाउसको ढोका भेट्न निरन्तर प्रयास गरिएको र ढोकाभित्र धेरै लेदो छिरेको कारण समस्या भएको सहायक रथी थापाले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘सुरुङको १ सय ७५ मिटरमा पावर हाउस थियो, हामी १० दिनमा बल्ल भित्र छिर्न सफल भएको अवस्था हो ।’

त्रिशूली–३ बी आयोजनामा ४० जना मानिस फसेको आशङ्का गरिएको थियो । सो आयोजना स्थलमा सेनाका ९० जना सुरक्षाकर्मीहरूले अहिले पनि खोजी तथा उद्धार कार्य गरिरहेका छन् । त्यहाँ मेनपावर र सावेलमार्फत धेरै काम गरिएको सहायक रथी थापाले बताए । उहाँले भन्नुभयो ‘त्यहाँ हामीले मिनी स्काभेटरको पनि प्रयोग गरेका छौँ, थ्री ए हुँदै थ्री बीको टनेलमा पुग्नेगरी काम भइरहेको छ ।’

Share Now