काठमाडौँ, २६ पौष । विगत लामोसमय सम्म ऋणमा चुर्लुम्म डुबेको नेपाल आयल निगम अहिले १० अर्ब नाफामा पुगेको छ।
नेपाल आयल निगमको ५५ औँ वार्षिक उत्सवको अवसरमा आयोजित कार्यक्रममा निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले यस्तो जानकारी दिनुभएको हो ।
“देशको पहिलो ठूलो कारोबार गर्ने सफल संस्थाको रूपमा निगम स्थापित भएको छ”, उहाँले भन्नुभयो, “५४ वर्षको अवधिमा थुप्रै चुनौती सामना गर्नु पर्यो तर प्रतिफल राम्रो भएको छ ।”
२०७६ बाट सञ्चालनमा आएको मोतिहारी-अमलेखगन्ज पेट्रोलियम पाइपलाइन मार्फत डिजेल आयात हुँदा ३ रुपैयाँ प्रतिलिटर सस्तो परेको उहाँको भनाई छ ।
बार्षिकोत्सव कार्यक्रमलाई संबोधन गर्दै कार्यकारी निर्देशक डा. भट्टले अमलेखगन्जमा दोस्रो चरणको पेट्रोलियम पाइपलाइनको निर्माण सम्पन्न भइसकेको बताउनुभयो । उहाँले अमलेखगन्ज–चितवन र शिलगुडी झापा पाइपलाइन परियोजना निर्माणको क्रममा रहेको पनि बताउनुभयो ।