नयाँदिल्ली (भारत), ७ माघ । भारतमा भएको खो खो विश्व कपमा नेपालका पुरुष र महिला टोली उपविजेता भएका छन् ।
दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा आइतवार आयोजक भारतसँग ५४-३६ ले पराजित हुँदै नेपालको पुरुष टोली उपविजेता बनेको हो । समूह चरणमा पनि नेपालको पुरुष टोली भारतसँग नै पराजित भएको थियो।
नेपालले सेमिफाइनलमा शनिवार इरानलाई ७२-२० ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको हो। शुक्रवार भएको सेमिफाइनलमा बंगालादेशलाई ६७-१८ ले हराउँदै नेपाल अन्तिम चारमा पुगेको थियो।
नेपाल समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको थियो। समूह ‘ए’मा नेपालले ४ खेलबाट ६ अंक जोडेको थियो।
नेपाल समूह चरणको खेलम भारतसँग ४१-३७ पराजित भएको थियो । त्यसपछि नेपालले ब्राजिललाई १३४- ८ र पेरुलाई ८०-३४ लाई र भुटानलाई ९८-८ ले हराएको थियो ।
नेपाली महिला टोली उपविजेता
खो खो विश्वकपको महिलातर्फको फाइनलमा नेपाल घरेलु टोली भारतसँग पराजित हुँदै उपविजेता बनेको छ ।
नेपाल फाइनलमा ७८-४० अन्तरले पराजित भएको हो । घरेलु टोलीले पहिलो टर्नदेखि नै नेपालमाथि निरन्तर दबाब कायम गरेको थियो ।
पहिलो टर्नमा आक्रमण गर्दै ३२ अंक जोडेको भारतले दोस्रो टर्नमा नेपाललाई २४ अंक मात्र जोड्न दियो । भारतले डिफेन्समा १ अंक पनि थप्यो ।
त्यसपछि तेस्रो टर्नमा ४० अंक जोड्दै भारत बलियो स्थितिमा पुग्यो । अन्तिम टर्नमा नेपालले १६ अंक मात्र जोड्दा भारतले ड्रिम रनमा ५ अंक थपेको थियो ।
युगाण्डालाई शनिवार ८९-१८ ले हराउँदै नेपाली महिला टोली अन्तिम दुईमा पुगेको हो । इरानलाई शुक्रवार १०३-८ को फराकिलो अन्तरले हराँउदै नेपाल सेमिफाइनल पुगेको थियो।
नेपाली महिला टोली समूह चरणमा अपराजित रहँदै अघि बढेको थियो। नेपाली महिला टोली समूह ‘सी’ को विजेताका बनेको थियो ।
नेपालले पहिलो खेलमा भुटानलाई ९३-२४, दोस्रो खेलमा जर्मनीलाई ७३-३४, तेस्रो खेलमा श्रीलंकालाई ११०-१० ले र चौथो खेलमा बंगालादेशलाई ८४-२४ ले हराएको थियो । विश्व कपमा महिलामा १९ र पुरुषमा २० देशको सहभागिता थियो।
नेपाली खेलकुदको ६ दशक लामो इतिहासमा कुनै पनि खेलमा विश्वकपमा सहभागी हुँदै फाइनलसम्मको यात्रा तय गरेको यो पहिलो पटक थियो।
आइतवार सुरुमा महिला टोली भारतसँग ७८(४० ले पराजित भयो भने त्यसपछि भएको पुरुषतर्फको फाइनलमा ५४(३६ ले भारतसँगै नेपाल पराजित भयो।
ठूलो उपलब्धि
दुवै टोली उपविजेता बने तापनि नेपाली खेलकुदमा हरेक दृष्टिकोणले यो उपलब्धिलाई दुर्लभ मानिएको छ।
यसअघि नेपालबाट विश्वकप खेलेको एक मात्र खेल क्रिकेट थियो। जसको युवा टोली तथा राष्ट्रिय टोलीले विश्वकप खेलेको छ।
देशभित्रै लाखौँको पुरस्कार
खेलकुद विकास नियमावली २०७९ को दफा २८ मा अन्तर्राष्ट्रिय महासङ्घ (आईएफ) विश्व च्याम्पियनसिप खेलको सामूहिक प्रतिस्पर्धातर्फ स्वर्ण पदक जिते ५२ लाख तथा रजत पदक जिते ४५ लाख रुपैयाँ प्राप्त गर्ने उल्लेख छ।
जस अनुसार खो खो को महिला र पुरुष दुवै टोलीले ४५ लाख रुपैयाँ पक्का गरिसकेको छ।
फाइनल प्रतिस्पर्धा जित्न सकेको भए टोलीले ५२ लाख रुपैयाँ प्राप्त गर्नेथियो।
यही नियमावलीको व्यवस्था अनुसार हालै प्यारिस पारा ओलिम्पिकमा कांस्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले रु ६५ लाख रुपैयाँ प्राप्त गरिसकेकी छिन्।
त्यस्तै पदक विजेता खेलको प्रशिक्षक, सहायक प्रशिक्षक, फिजिओ वा चिकित्सक, व्यवस्थापक र खेल सङ्घ पनि पुरस्कृत हुनेछ।
जस अनुसार प्रशिक्षकले स्वर्ण जितेका हकमा १३ लाख र रजत जिते ७ लाख ८० हजार प्राप्त गर्ने व्यवस्था छ।
त्यस्तै सहायक प्रशिक्षक, फिजिओ वा चिकित्सक र व्यवस्थापकको हकमा स्वर्ण जिते ६ लाख ५० हजार र रजत जिते ३ लाख ९० हजार र पुरस्कारको व्यवस्था छ।
त्यसै गरी सङ्घले १९ लाख ५० हजार र रजत जितेमा १५ लाख ६० हजार पाउने छ।
कसरी पाउनेछ रकम ?
मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि मात्र पदक विजेता टोली वा सम्बन्धितले पुरस्कार पाउने व्यवस्था छ।
खेलकुद विकास नियमावली २०७९ को धारा २७ अनुसार पदक विजेता सङ्घले पुरस्कार जितेको १५ दिन भित्र पुरस्कार पाउनका लागि निवेदन दिनुपर्नेछ।
त्यसपछि धारा २८ को व्यवस्था अनुसार युवा तथा खेलकुद मन्त्रालयले पदक पाउने टोलीको सुची तयार गरी मन्त्रिपरिषद् समक्ष स्वीकृतिको लागि पेस गर्नेछ।
त्यसपछि मन्त्रिपरिषद्ले अध्ययन गरेर स्वीकृति दिएपछि पुरस्कार वितरण गरिनेछ।
पारा तेक्वान्दोकी पलेशा गोवर्धनले पाएको ६५ लाख रुपैयाँपछि कुनै पनि टोलीले सरकारबाट पाउन लागेको यो सबैभन्दा ठुलो पुरस्कार राशि हुनेछ।
नेपाली खो खो टोली फाइनलमा प्रवेश गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल मार्फत टोलीलाई बधाई तथा फाइनलका लागि शुभकामना दिनुभएको थियो।
त्यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ फाइनल प्रतिस्पर्धा हेर्न नयाँ दिल्ली उड्नुभएको थियो।
२०३८ सालदेखि पाठ्यक्रममा खो खो
नेपालमा विसं २०३८ सालदेखि विद्यालयको पाठ्यक्रममा नै खो खो समावेश गरिसकिएको थियो।
सामान्य मैदानबाहेक खासै धेरै उपकरण नचाहिने भएकोले यो खेलको पहुँच विद्यालयहरूमा सहजै बढ्ने अनुमान गरिएको थियो।
तर प्रशिक्षकहरूको अभावमा यसले सोचे जस्तो चर्चा पाउन सकेन।
विसं २०५१ सालमा डा। रामकृष्ण महर्जनको अध्यक्षतामा खो खो सङ्घ गठन भएको थियो।
“भारतमा सिकेर हामीले यो खेललाई नेपालमा बढाउने पहल गर्यौँ”, उहाँ भन्नुहुन्छ।
कीर्तिपुर निवासी महर्जनले आफ्नो विद्यालय मङ्गल माविमा खेलाडीहरूलाई प्रशिक्षित गर्न थाल्नुभएको थियो।
सन् १९९६ मा कोलकातामा भएको पहिलो एशियन च्याम्पियनशिपमा मङ्गल माविमा खेलाडीहरूको बाहुल्यता रहेको उहाँ सम्झिनुहुन्छ।
अहिले पनि त्यही विद्यालयका उत्पादन खेलाडीहरू खो खोको विभिन्न पदमा छन्।
देशमा खो खोको पुरुषतर्फ ७ र महिला तर्फ ६ पटक राष्ट्रिय प्रतियोगिता सम्पन्न भइसकेको छ।
वर्तमान अध्यक्ष प्रदीप महर्जन भन्नुहुन्छ, “दाङमा यही माघमा आठौँ राष्ट्रिय तथा फागुनमा महिलाको सातौँ राष्ट्रिय प्रतियोगिता सुनसरीको इनरुवामा हुने कार्यक्रम तय भइसकेको छ।”
यसबाहेक आगामी चैत्रमा हुने भनिएको १० औँ राष्ट्रिय खेलकुदमा पनि खो खो समावेश गरिएको छ।
यसअघि पाँचौँ, सातौँ, आठौँ र नवौँ राष्ट्रिय खेलकुदमा पनि खो खो समावेश गरिएको थियो।
अन्तर्राष्ट्रिय पदकको सम्भावना रहे पनि यो खेललाई राष्ट्रिय खेलकुद परिषद्ले चासो नदिएको भनेर औँल्याउने गरिएको छ।