काठमाडौं, १५ माघ । एनसेल पाँचौ टाइगर कप भलिबलको महिला तर्फको खेलमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले एलिमिनेटरमा स्थान बनाएको छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा मंगलवारको पहिलो खेलमा विभागीय डर्बीमा आर्मीमाथि पुलिसले बाजी मारेको हो । पराजित हुने टोलीहरुको समूहमा आफ्नो सबै लिग खेल जितेर पुलिस एलिमिनेटरमा प्रवेश गरेको हो ।
पुलिसले आर्मीलाई ३(० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले पहिलो सेट २५–१८, दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्यो । ‘हार्ने समूह’ बाट ६ अंक जोडेर शीर्ष स्थानमा रहँदै पुलिस इलिमिनेटरमा प्रवेश गरेको हो ।
पुुलिसले यसअघि ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्यान्डलाई ३–१ को सेटले हराएको थियो । आर्मी र ट्राभल इन्क्वारी एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् । दोस्रो क्वालिफायरमा स्थान बनाउँन पुलिसले ‘जित्ने समूह’ को तेस्रो हुने टोलीसँग खेल्नेछ ।
आजै हुने दोस्रो खेलमा महिलातर्फ टिपटप न्यू डायमण्ड स्पोटर्स क्लब र आयोजक टाइगर ग्रुपबिच प्रतिस्पर्धा हुनेछ । उक्त खेल पौने ११ बजे सुरु हुने तालिका छ ।
आजै हुने तेस्रो र चौथो खेल पुरुषतर्फको हुनेछ । पुरुषतर्फको पहिलो खेल गण्डकी प्रदेश र सशस्त्र प्रहरी बल एपिएफबिच पौने १ बजेबाट सुरु हुनेछ । पुरुषतर्फको दोस्रो खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल दिउँसो पौने ३ बजेबाट सुरु हुनेछ ।
सबै टोलीले एकएक खेल खेलेपछि अहिले जित्ने र हार्ने टोलीको छुट्टाछुट्टै समूह बनेका छन् । ती समूहअन्तर्गत लिग खेल हुनेछ । एउटै समूहमा रहने टोलीले एकअर्कासँग खेल्नेछन् ।
लिगपछि जित्ने समूहबाट शीर्ष दुई टोली फाइलन प्रवेशका लागि पहिलो क्वालिफायर खेल्नेछन् । तेस्रो स्थानमा रहने र हार्ने समूहबाट शीर्ष स्थानमा रहने टोलीले एलिमिनेटरमा भिड्नेछन् ।
पहिलो क्वालिफायरमा पराजित हुने टोली र एलिमिनेटरमा विजेता हुने टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । हार्ने समूहबाट दोस्रो र तेस्रो स्थानमा रहने टोली प्रतियोगिताबाट बाहिरिनेछन् । टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ ।