–जोनाथन ओ’क्यालाहन
लण्डन(संयुक्त अधिराज्य), १५ माघ(बीबीसी) । आउँदो फेब्रुअरी २८ तारिखमा आकाशमा सातवटा ग्रह लामबद्ध भएको देख्न पाइने भएको छ। हाल रातको आकाशमा देख्न सकिने ६ वटा ग्रहहरूका साथ त्यसबेला बुध ग्रह पनि देखिनेछ। यस्तो खगोलीय परिघटनालाई वैज्ञानिकहरूले महत्त्वपूर्ण मान्छन्, किन होला?
ज्यानुअरी र फेब्रुअरी महिनामा आकाश सफा भएको रात तपाईँले आकाशमा विशेष दृश्य देख्ने अवसर पाउनुहुन्छ।
अहिले रातको सफा आकाशमा शुक्र, मङ्गल, बृहस्पति, शनि, अरुण र वरुण गरी छ वटा ग्रहहरू देख्न सकिन्छ। फेब्रुअरी महिनाको अन्त्यमा एक रातका लागि मात्र उनीहरूको लहरमा बुधग्रह पनि थपिनेछन् र आकाशमा दुर्लभ रूपमा सातवटा ग्रह लामबद्ध देखिन्छन्।
तर त्यस्तो अवस्था केवल आकाश नियाल्ने सौखिनहरूका लागि हुने रमाइलो दृश्य मात्रै होइन – त्यसले सौर्य प्रणालीमा पनि वास्तविक प्रभाव पार्न सक्छ र त्यस प्रणालीमा रहेको हाम्रो स्थानका सम्बन्धमा नयाँ गहन जानकारीहरू हासिल गर्ने अवसर पनि उपलब्ध गराउनेछ।
हाम्रो सौर्य प्रणालीका आठ प्रमुख ग्रहहरूले सूर्यलाई एउटै समतलमा तर आफ्नै फरक गतिसहित परिक्रमा गर्छन्।
सूर्यको सबैभन्दा नजिकको ग्रह बुधले ८८ दिनमा एक परिक्रमा पूरा गर्दछ। पृथ्वीको एक वर्षमा निश्चित रूपमा ३६५ दिन हुन्छ जबकि माथिल्लो छेउमा रहेको वरुणले हाम्रो त्यो ताराको वरिपरी एक परिक्रमा पूरा गर्न ६०,१९० दिन अर्थात् पृथ्वीको करिब १६५ वर्ष लगाउँछ।
ग्रहहरूको विभिन्न गतिको मतलब कहिलेकाहीँ तिनीहरूमध्ये धेरै सूर्यको एउटै छेउमा लामबद्ध हुन सक्छन्।
पृथ्वीबाट हेर्दा यदि कक्षहरू उपयुक्त रेखामा पर्न गएको अवस्थामा हामी हाम्रो रातको आकाशमा एकै समयमा धेरैजसो ग्रहहरू लहरै देख्न सक्छौँ।
बुध, शुक्र, मङ्गल, बृहस्पति र शनि सबै नाङ्गो आँखाले देख्न सकिने गरी उज्यालो हुन्छन् भने वरुण र अरुणलाई हेर्न भने दूरबिन वा टेलिस्कोप चाहिन्छ।
ज्यानुअरी र फेब्रुअरीमा पनि हामी यो घटनाको साक्षी हुन सक्छौँ। ग्रहहरू ठ्याक्कै लामबद्ध छैनन् त्यसैले तिनीहरू सौर्य प्रणालीमा आफ्नो कक्षीय समतल अनुसार आकाशमा देखा पर्ने गर्छन्।
ज्यानुअरी र फेब्रुअरीमा आकाश सफा भएका रातहरूमा बुध बाहेक सबै ग्रहहरू देखिनेछन् जुन घटनालाई कहिलेकाहीँ ग्रहहरूको परेड भनिन्छ। फेब्रुअरी २८ तारिखमा यदि मौसमले साथ दिए सात वटै ग्रहहरू देखिनेछन् जुन पृथ्वीबाट हेर्नेहरूका लागि एउटा अभूतपूर्व दृश्य हुनेछ।
युकेको फिफ्थ स्टार ल्याब्सका खगोलविद् जेनिफर मिलर्ड भन्नुहुन्छ, “आफ्नो आँखाले ग्रहहरू हेर्दा केही विशेष अनुभव हुन्छ।”
“हो तपाईँले गुगलमा गएर सबै ग्रहहरूको यो भन्दा शानदार तस्बिर देख्न सक्नुहुनेछ। तर जब तपाईँ यी वस्तुहरू आँखले प्रत्यक्ष हेर्नु हुन्छ, यी फोटोनहरू हुन् जसले तपाईँको आँखासम्म पुग्न लाखौँ वा अर्बौँ कोसको दुरी पार गरेर अन्तरिक्षमा यात्रा गरेका छन्।”
हेर्नका लागि त्यो दृश्य आकर्षक भए पनि के त्यसले पृथ्वीमा कुनै प्रभाव पार्छ? वा, हाम्रो सौर्य प्रणाली र त्यसभन्दा बाहिरको हाम्रो बुझाइ बढाउनको लागि तिनीहरू उपयोगी हुन सक्छन्?
मिलर्ड भन्नुहुन्छ, “यो ग्रहहरू तिनीहरूको आफ्नो कक्षको खास स्थानमा परेको केवल एक घटना मात्र हो।”
र, केही वैज्ञानिकहरूले ग्रहहरू यसरी लहरमा देखिँदा पृथ्वीमा प्रभाव पार्न सक्ने विचार व्यक्त गरेका भएपनि त्यस्ता अधिकांश दावीहरूको लागि वैज्ञानिक आधार कमजोर छन्।
सन् २०१९ मा अनुसन्धानकर्ताहरूले ग्रहहरू एकै लहरमा रहँदा त्यसले सौर्य गतिविधिमा प्रभाव पार्न सक्ने बताएका थिए।
सूर्यबारे मुख्य प्रश्नहरू मध्ये एउटा के हो भने सूर्यको ११-वर्षे चक्रलाई सोलर म्याक्सिमम (जसमा हामी अहिले छौं ) र सोलर मिनिमम भनिने दुई चरम गतिविधिको बीचमा के कुराले परिचालिन गर्छ भन्ने हो। जर्मनीको ड्रेसडेन-रोसेन्डर्फमा रहेको हेल्महोल्ट्ज-जेन्ट्रम अनुसन्धान केन्द्रका भौतिकशास्त्री फ्राङ्क स्टेफानी शुक्र, पृथ्वी र बृहस्पतिको संयुक्त आकर्षण शक्ति नै यस्को सम्भावित जवाफ हुनसक्ने विश्वास गर्नुहुन्छ।
स्टेफानीका अनुसार सूर्यमा असर गर्ने प्रत्येक ग्रहको शक्ति एकदमै सानो तर सूर्यको लहरमा दुई वा दुईभन्दा बढी ग्रहहरू रहे भने तिनीहरूको संयुक्त शक्तिले सूर्यको भित्र साना भुमरीहरू, रस्बी तरङ्गहरू, उत्पन्न गराउन सक्छन् र तिनीहरूले मौसमी घटनाहरू गराउन सक्छन्। ।
“पृथ्वीमा रस्बी तरङ्गहरूले चक्रवात र विपरितचक्रवातहरू निम्त्याउँछन्,” स्टेफानी भन्छन्। “सूर्यमा पनि त्यस्तै रस्बी वेब्सहरू छन्।”
स्टेफनीका अनुसार शुक्र, पृथ्वी र बृहस्पति लामबद्ध हुँदा त्यसले ११.०७ वर्षको सौर्य गतिविधिमा आवधिकता ल्याउनेछ जुन हामीले देख्ने सौर्य चक्रको अवधिसँग लगभग ठ्याक्कै मिल्छ।
सबैजना यस विचारमा विश्वास गर्दैनन्। केहिले सौर्य गतिविधिलाई सूर्य एक्लैको गतिविधिहरूबाट व्याख्या गर्न सकिने बताएका छन्।
“अवलोकनबाट प्राप्त प्रमाणहरूका अनुसार ग्रहहरूले प्रत्यक्ष रूपमा सौर्य चक्र सिर्जना गर्दैनन्,” जर्मनीको सौर्य प्रणाली अनुसन्धानका लागि म्याक्स प्ल्याङ्क इन्स्टिच्युटका सौर्य वैज्ञानिक रोबर्ट क्यामरन भन्नुहुन्छ।
उहाँले २०२२ मा यस विषयमा एउटा लेख प्रकाशित गर्नुभएको थियो । । “तालमेलको कुनै प्रमाण छैन।”
तर ग्रहहरू एकै लहरमा पर्ने सम्बन्धमा अन्य धेरै कम विवादास्पद घटनाहरू छन् जसले निश्चित रूपमा हामीमा प्रभाव पार्छ: विशेष गरी सौर्य प्रणालीको अन्वेषणको सन्दर्भमा वैज्ञानिक अवलोकनका लागि तिनीहरू उपयोगी रहन्छन्।
बाहिरी ग्रहहरूमा अन्तरिक्ष यानबाट पुग्न गाह्रो छ किनभने यी ग्रहहरू अर्बौँ माइल टाढा छन् र त्यहाँ पुग्न दशकौँ लाग्छ।
यद्यपि बृहस्पति जस्ता ग्रहको गुरुत्वाकर्षणको प्रयोग गरेर अन्तरिक्ष यानलाई बाहिरी क्षेत्र तर्फ जोड्ले धकेलेर त्यस्तो यात्राको समय नाटकीय रूपमा घटाउन सकिन्छ। जुन नासाको भोएजर अन्तरिक्ष यानहरूले जसरी अरू कसैले गर्न सकेका छैनन्।
सन् १९६६ मा नासाका वैज्ञानिक ग्यारी फ्ल्यान्ड्रोले सन् १९७७ मा बृहस्पति, शनि, अरुण र वरुणको चार वटा बाहिरी ग्रह एकै लहरमा पर्ने गणितिय अनुमान गर्नुभएको थियो ।
त्यस्तो अवस्थामा १२ वर्षको अन्तरालमा नै ति चारै वटाको भ्रमण गर्न सकिने उहाँले बताउनुभयो। त्यस्तो लहरमा ति ग्रहहरू नभए तिनीहरूसम्म पुग्ने अवधी ३० वर्षको हुने थियो।
त्यस्तो अवस्था १७५ वर्षमा एक पटक मात्र आउँछ। त्यसैले नासाले सन् १९७७ मा बाहिरी सौर्य प्रणालीको “ग्र्यान्ड टुर” भनिएको यात्रामा पठाउन भोएजर १ र २ अन्तरिक्ष यानहरू प्रक्षेपण गर्यो।
भोएजर १ ले सन् १९७९मा बृहस्पति र सन् १९८० मा शनि ग्रहलाई पार गर्यो। अरुण र वरुणलाई भने त्याग्यो किनकि वैज्ञानिकहरूले शनिको आकर्षक चन्द्रमा टाइटनलाई पार गर्न चाहन्थे र ‘स्लिङसट’ असरलाई खेर नफाली त्यसो गर्न सकिँदैन थियो।
तर भोएजर २ भने क्रमशः सन् १९८६ र १९८९मा अरुण र वरुण भ्रमण गर्ने इतिहासमा एक मात्र अन्तरिक्ष यान बन्यो। यसले सबै चार ग्रहहरू लामबद्ध भएको अवस्था प्रयोग गरेर त्यस्तो गर्न सकेको थियो।
अमेरिकाको कोलोराडो विश्वविद्यालयका खगोलभौतिकविद् र भोएजर विज्ञान टोलीका सदस्य फ्रान बागनल भन्नुहुन्छ, “त्यो काम उत्कृष्ट रूपमा गर्न सकियो।”
“यदि भोएजर २ सन् १९८० मा पठाइएको भए वरुणमा पुग्न सन् २०१० सम्म लाग्ने थियो। त्यसका लागि यसले समर्थन पाउन सक्दैन थियो भन्ने मलाई लाग्छ। यस्तो कामका लागि कसले रकम दिन्छ?”
ग्रहहरू लामबद्ध हुने अवस्था हाम्रो सौर्य प्रणालीका लागि मात्रै उपयोगी होइन।
खगोलविद्हरूले ब्रह्माण्डका विभिन्न पक्षहरूको अनुसन्धान गर्न यस्तो अवस्थाको उपयोग गर्छन्। त्यसमा सूर्यबाहेक अन्य ताराहरूलाई परिक्रमा गर्ने संसारहरू, वाह्यग्रहहरूको अध्ययन र खोजबारे पनि उनीहरूले अनुसन्धान गर्छन्।
त्यस्ता संसारहरू फेला पार्ने तरिकालाई ट्रान्जिट विधि भनिन्छ: हाम्रो दृष्टिकोणबाट कुनै ताराको अगाडिबाट गुज्रँदा यसले ताराको प्रकाशलाई मधुरो पार्छ, जसको आधारमा यसको आकार र कक्ष पत्ता लगाउन सकिन्छ।
यो विधिका कारण हामीले निश्चित ताराहरूको वरिपरि परिक्रमा गर्ने धेरै ग्रहहरू पत्ता लगाएका छौँ। ट्र्यापिस्ट-१, जुन एक रातो ड्वार्फ तारा हो त्यो पृथ्वीबाट ४० प्रकाश-वर्ष पर अवस्थित छ।
यसका पृथ्वीको जस्तो आकारका सातवटा ग्रहहरू छन् जुन हाम्रो दृष्टिकोणबाट हेर्दा सबैले उक्त तारालाई परिक्रमा गर्छन्।