कांग्रेसलाई एकताबद्ध राख्न विशेष महाधिवेशनवाला केन्द्रीय समिति लचिलो हुनुपर्ने देउवा पक्षको निष्कर्ष
काठमाडौं, ६ वैशाख । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरूको भेलाले अब एकताका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने बताएको छ।
आगामी रणनीति तय गर्न भन्दै आइतबार काठमाडौंमा बसेको देउवा समूहका पूर्वकेन्द्रीय सदस्यहरूको भेलाले पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्नेमा जोड दिँदै त्यसका लागि वर्तमान नेतृत्व जिम्मेवार हुनुपर्ने निष्कर्ष निकालेको हो।
विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई सर्वोच्च अदालतले आधिकारिकता प्रदान गरेपछि आज देउवा पक्षीय नेताहरू छलफलमा जुटेका थिए।
‘विवादका विषयमा सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा अब पार्टीभित्रको आन्तरिक एकतालाई बलियो बनाएर जानुपर्छ। कांग्रेस एकतावद्ध हुनुपर्छ। एक हुनका लागि सबैको आत्मबल बढ्नुपर्छ। कांग्रेसको क्रियाशील बढी हुँदा भोट किन कम भन्नेबारे मैले आफ्नो धारणा राखेको थिएँ,’ छलफलपछि नेता कुन्दरराज काफ्लेले भन्नुभएको छ ।
विशेष महाधिवेशनमा सहभागी नभएकाहरू सर्वोच्चको निर्णयपछि कुन हिसाबले जाने भन्नेबारे पनि छलफल भएको उहाँले बताउनुभयो।
विशेष महाधिवेशनमा सहभागी नभएका निवर्तमान सदस्यहरुको छलफलले निरन्तर छलफल गरेर पार्टीलाई कसरी अघि बढाउने भन्नेबारे आवश्यक निर्णय लिने उहाँको भनाइ छ।


















