Prakash Adhikari March 20, 2025

भरतपुर(चितवन), ७ चैत्र । त्रिभुवन आर्मी फुटबल क्लब चितवनमा जारी राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको दोस्रो सेमिफाइनलमा रौतहट एफसीलाई हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । रोमाञ्चक खेलमा आर्मी ६(३ ले विजयी भयो ।

खेलको ३० सेकेन्डमा आर्मीविरुद्ध रौतहटले अग्रता लिएको थियो । त्यसपछि आर्मी खेलमा फर्कियो । आर्मीको जितमा चन्द्रा भण्डारीले ४ गोल गरिन् । विमला चौधरी र हिमा चौधरीले समान १ । १ गोल गरे।

रौतहटका लागि पिउली रायले २ तथा सेनु परियारले १ गोल गरिन् । आर्मीकी चन्द्रा प्लेयर अफ दि म्याच भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।

आर्मीले अब उपाधिका लागि एपीएफ एफसीको सामना गर्नेछ । एपीएफ यसअघि पहिलो सेमिफाइनलमा भरतपुर २४ विरुद्ध ११(० को फराकिलो जित निकाल्दै फाइनलमा प्रवेश गरिसकेको छ ।

दुई‌ सातामा एपीएफ र आर्मी दोस्रो पटक उपाधिका लागि भिड्ने भएका छन्। फागुन २४ गते इलाममा भएको महिला फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई परजित गर्र्दै एपीएफले उपाधि जितेको थियो।

चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकाको प्रवर्द्धनमा जारी प्रतियोगिताको फाइनल शनिवार हुनेछ ।

प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

 

Share Now