Prakash Adhikari March 20, 2025

भैरहवा रुपन्देही), ७ चैत्र । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लबले लगातार सातौं जित हासिल गरेको छ ।

बिहीवार भएको खेलमा पुलिसले बागमती प्रदेशलाई ९३ रन पराजित गर्यो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा अल आउट भयो ।

बागमतीका लागि इशान पाण्डेले ९८ बलमा ६ चौकासहित सर्वाधिक ७० रन जोडे । शुभ कंसाकारले २८ बलमा ३ चौका र २ छक्काको सहयोगमा ३६ रन जोडे ।

विपिन आर्चाय २०, सुर्य तामाङ १७, प्रतिस जिशी १४ र आशुतोष घिरैया १२ रनमा आउट भए । पुलिसका लागि ललित नारायण राजवंशीले ४, कुशल भुर्तेलले ३, करण केसीले २ तथा गुल्शन झाले १ विकेट लिए ।

त्यसअघि एक्स्ट्रा टेक क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो ।

यो योगफल यस संस्करणको सर्वाधिक ठूलो योगफल हो । यसअघि पुलिसले नै २ पटक तथा बागमतीले १ पटक २ सय ८८ रनको योगफल तयार गरेको थिए ।

पुलिस क्लबका लागि कुशल भुर्तेल र कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक बनाए। ओपनर कुशलले सर्वाधिक ८८ रन जोडे । यस संस्करणको तेस्रो अर्धशतक बनाएका कुशलले ९८ बलको सामनामा ११ चौका प्रहार गरे । कप्तान दीपेन्द्र ४६ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ६० रन जोडे ।

पहिलो विकेटका लागि ओपनरद्वय कुशल र अमित श्रेष्ठले १ सय २४ रनको सानदार साझेदारी गरे । अमित ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ४८ रन जोड्दै आउट भए । गुलशम झा १५ बलमा १६, आरिफ शेख ४६ बलमा ३८ तथा दिलिप नाथ १० रनमा आउट भए ।

२ सय ६२ रनमा मात्र ४ विकेट गुमाएर विशाल योगफलको संकेत गरेको पुलिसले ३५ रन जोड्दा पछिल्ला ४ विकेट गुमायो । पछिल्लो ५ ओभरमा पुलिसले ४ विकेट गुमाएर ३८ रन मात्र जोड्न सक्यो ।

बागमतीका लागि प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १ विकेट लिए । प्रतियोगितामा खेलेको ७ खेलमै अपराजित रहँदै पुलिस शीर्ष स्थानमा कायमै छ । बागमती ६ खेलमा ४ अंकका साथ आठौं स्थानमा खस्केको छ ।

Share Now