Prakash Adhikari March 24, 2025

भैरहवा(रुपन्देही), १० चैत्र । प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले गण्डकी प्रदेशलाई ३१ रनले हराएको छ।

यो जितसँगै पीएम कप फाइनलको होडमा एपीएफ सहित तीन विभागीय टोली उत्रेका छन् । बाँकी ७ प्रदेश टोलीको फाइनलमा पुग्ने संभावना समाप्त भएको छ।

एक्सट्रा टेक ओभल मैदानमा जितको लागि २ सय ५९ रनको लक्ष्य पछाएको गण्डकी प्रदेश ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रनमा समेटियो। गण्डकीका खेलाडीहरूले धेरै बल डटमा खर्चिए।

जुन हारको कारण बन्यो। उसको लागि अर्जुन कुमालले सर्वाधिक ३९ रन जोडे। उनले ८२ रन खर्चेर ३ चौका प्रहार गरे।

दिनेश बुढामगरले ४५ बल खेलेर ३४ रन बनाए। मुस्कान थापा र अमृत गुरुङले समान २३ रन जोडे। मुस्कानले ६१ बल खेले ।

सुदिप अर्याल अविजित २५ रनमा रहे। एपीएफले ३५ रन एक्स्ट्रा दिएको थियो। बलिङमा अभिषेक गौतमले ३ र अमर राउटेलाले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको एपीएफले ४९.२ ओभरमा सबै विकेट गुमाएर २ सय ५८ रनको योगफल खडा गरेको थियो।

ओपनर लोकेश बम र आशिफ शेखले पहिलो विकेटको लागि १ सय २५ रनको साझेदारी गरे। लोकेश अर्धशतकबाट ४ रनले चुके। उनी सन्दीप पराजुलीको बलमा आउट भए। आशिफले भने ८० रनको पारी खेले। ७४ बल खेल्दै उनले १० चौका र १ छक्का प्रहार गरे।

यसैगरी सुमित महर्जनले ३१ रन, कमल ऐरीले २५ रन र अमर राउटेलाले २४ रन बनाएका थिए। बलिङमा सुदीप अर्याल र सन्दीप पराजुलीले समान ३ विकेट लिए। कमल परियारले २ विकेट आफ्नो नाममा लेखाए।

यो जितसंगै एपीएफले ७ खेलबाट १० अंक बनाएको छ। गण्डकीको भने आठौं खेलमा यो सातौं हार हो।

Share Now