Prakash Adhikari March 24, 2025

 

भैरहवा(लुम्बिनी), १० चैत्र । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले आज लुम्बिनी प्रदेशलाई १ सय ३१ रनको फराकिलो अन्तरले हराएको छ।

चालु प्रतियोगितामा सातौं जित सहित आर्मीको फाइनलमा पुग्ने संभावनालाई बलियो भएको छ। सिद्धार्थ रङ्गशालामा आइतबार भएको खेलमा उसले जितको लागि २ सय ४४ रनको लक्ष्य पछाएको थियो।

लुम्बिनी २७.१ ओभरमा सबै विकेट गुमाएर १ सय १२ रनमा समेटिदा आर्मीले विशाल अन्तरको जित हात पारेको हो । आर्मीका सामु लुम्बिनीका कुनै पनि खेलाडी मैदानमा टिक्न सकेनन्। लुम्बिनीका कप्तान देव खनालले बनाएको ३७ रन नै सो टिमको सर्वाधिक रन बन्न पुग्यो ।

खेलमा मनिष थापा र विप्रासन केसीले समान १३ रन जोडे। नर सार्कीले १२ र निर्मल गुरूङले १० रन बनाउँदा अन्यले दोहोरो रन छुन सकेनन्।

लुम्बिनीलाई १ सय १२ रनमा रोक्न सहबाब आलमले ९ ओभर १ बल बलिङ गर्दै २ मेडन सहित २५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए। नरेन साउदले २ विकेट लिए।

त्यसअघि पहिले ब्याटिङ गरेको ४९ ओभर २ बलमा सम्पुर्ण विकेट गुमाउँदै २ सय ४३ रन बनाएको थियो। ४४ रन जोड्दा ३ विकेट गुमाइसकेको थियो

सन्तोष कार्की १ रनमा, त्रितराज दास ३१ रनमा र इमरान शेख १२ रनमा आउट भए। यसपछि बसिर अहमद र भीम सार्कीले चौथो विकेटको लागि ८१ रनको साझेदारी गरे। यो क्रममा बसिरले अर्धशतक बनाए।

भीम ४४ रनमा आउट भए। बसिरले सर्वाधिक ८६ रन बनाए। उनले १ सय ४ बल खेल्दै ६ चौका प्रहार गरे। सोमपाल कामीले २८ र कुशल मल्लले १७ रन जोडे।

बलिङमा अजय चौहानले ४ विकेट लिए। उनले १० ओभर बलिङ गर्दै ४७ रन खर्चिए।

आर्मीको यो आठौं खेलमा सातौं जित हो। उसले १४ अंक बनाएको छ। यो हारमा लुम्बिनीको फाइनलको पुग्ने संभावना सकिएको छ। उसले ८ खेलबाट मात्र ८ अंक मात्र बनाएको छ। लुम्बिनीको यो चौथो हार हो।

Share Now