Prakash Adhikari July 28, 2018

पुरुषोत्तम सुवेदी/ रासस

गैडाकोट(नवलपरासीपूर्व), १२ साउन । नेपालकै प्रख्यात एवं चर्चित धार्मिक पर्यटकीयस्थल मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक प्रक्रिया शुरु गरिएको छ ।

पूर्वी नवलपरासी गैंडाकोटस्थित सो मन्दिर क्षेत्रमा आइएमइ समूहले केवलकार स्थापना गर्न लागेको हो । सो समूहले चन्द्रागिरिमा पनि केवलकार स्थापना गरेको छ । मौलाकालिका मन्दिर क्षेत्रमा केवलकार स्थापनाका लागि आवश्यक पर्ने वातावरणीय प्रभाव मूल्याकंन ९इआइए० सम्बन्ध कार्य अन्तिमचरणमा पुगेको आइएमइ समूहका जनसम्पर्क व्यवस्थापन विभागका प्रमुख राजु पौडेलले जानकारी दिए।

करीब रु एक अर्बको लगानीमा निमार्ण सम्पन्न हुने लक्ष्य राखिएको सो केवलकार आयोजनामा ५१ प्रतिशत लगानी आइएमइ समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयवासीको रहने व्यवस्था छ । पूर्वी नवलपरासीको पहाडी क्षेत्र, बिचमा नारायणी नदी र चितवनको पर्यटकीय क्षेत्रको सम्भावनालाई मध्यनजर गरी स्थापना गर्न लागिएको केवलकारले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने विश्वास लिएको प्रमुख पौडेलले बताए।

गैँडाकोट मौलाकालिका मन्दिर फेदी धारापानी टोलमा १२ कठ्ठा जमीन खरीद गरी मौलाकाली केवलकार प्रालि दर्ता नै गरेर आइएमइ गु्रपले केवुलकार निमार्णका लागि अन्य प्राविधिक तयारी गरेको छ । सो कम्पनीले मौलाकाली मन्दिर परिसरमा प्रस्तावित मौलाकाली केवलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याकंन इआइए सम्बन्धी स्थानीयवासीसँग केवलकार निमार्ण र त्यसको प्रभावको विषयमा छलफल भइसकेको छ।

केवलकार स्थापनाले यस क्षेत्रको पर्यटकीय विकासमा ठूलो सहयोग पुग्ने गैँडकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बताए। सरकारी स्तरबाट सम्पूर्ण प्रक्रिया पूरा भएपछि निमार्ण कार्य शुरु गरी एक वर्षभित्रै सम्पन्न हुने लक्ष्य सो समूहको छ । नगरभित्र रहेका ३६ वटा धार्मिक संघ संस्थालाई समेटेर धार्मिक पर्यटकीय नगर विकासको योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ । यो केवलकार आयोजनाले नगरपालिकाको विकासमा पनि ठूलो सहयोग पुग्ने गैँडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले बताए।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले अहिले नै वार्षिक पाँचरसात लाख पर्यटक देवघाटधाममा आइरहेको अवस्थामा गैँडाकोटबाट मौलाकालिका र मौलाकालिकाबाट देवघाट जोड्न सके र बेनी संगममा त्रिकोणात्मक पुल बनेपछि वर्षेनी २० लाख पर्यटक आउन सक्ने धारणा व्यक्त गरे। मौलाकालिका मन्दिरमा दर्शनका लागि आन्तरिक र बाह्य गरी वार्षिक करीब १० लाख पर्यटक आउने गरेको अनुमान छ । केवलकार स्थापनासँगै सो संख्यामा निकै वृद्धि हुने जनाएको छ ।

Share Now

Leave a comment.