बकर ईदमा प्रधानमन्त्री ओली, प्रतिनिधि सभाका सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष दाहालको शुभकामना
काठमाडौं, २४ जेठ । इस्लाम धर्मावलम्बीहरुको चाड बकर ईदको अवसरमा प्रधानमन्त्री के.पी. शर्मा ओली, संघीय संसदको प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले मुस्लिम समुदायका सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।
आफ्नो शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले बकर इदले समृद्ध समाज निर्माणमा प्रेरणा दिइरहोस् भन्नुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज सामाजिक सञ्जालमार्फत वित्र पर्व इद–उल–अज्हाको अवसरमा स्वदेश तथा विदेशमा सबैलाई शुभकामना व्यक्त गर्नुभएको हो ।
“बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक हाम्रो देशमा यस पर्वले आपसी सद्भाव, सामाजिक एकता र राष्ट्रिय एकतालाई अझ बलियो बनाओस्, न्यायपूर्ण, सहिष्णु र समृद्ध समाज निर्माणमा बकर इद पर्वले प्रेरणा दिइरहोस्”। प्रधानमन्त्री ओलीले भन्नुभयो, “इद मुबारक ! मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ ।”
इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिएको छ ।
चाडपर्वले एकताको सन्देश दिएको छः सभामुख घिमिरे
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका विभिन्न समुदायका चाडपर्व, धर्म, संस्कृति, रीतिरिवाज र परम्पराले पारस्परिक सम्मान, सहिष्णुता र एकताको सन्देश दिएको बताउनुभएको छ ।
बकर इदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो राष्ट्र बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहु–भेशभूषायुक्त सामाजिक संरचनाले बनेको सुन्दर फूलबारी हो, हाम्रो सामाजिक विविधताभित्र रहेको एकतार सहअस्तित्वको भावना नै हाम्रो राष्ट्रियताको मेरुदण्ड हो, एक–अर्काप्रतिको सम्मानर सद्भावले हाम्रो राष्ट्रिय भावना, अखण्डता र सार्वभौमिकता अझ सशक्त भएको छ ।”
नेपालको संविधानले गणतन्त्र, सङ्घीयता, समावेशिता, समानता, धर्मनिरपेक्षता र कानुनी राज्यको आधारमा सबै नेपालीनागरिकको अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै सभामुख घिमिरेले संविधान सम्पूर्ण नेपालीको साझा दस्तावेज भएको जसले सबै धर्म, जात, संस्कृतिर समुदायको सम्मानर संरक्षण सुनिश्चित गरेको पनि बताउनुभएको छ ।
मुस्लिम धर्म ग्रन्थकाअनुसार करिब चार हजार वर्ष पहिले हजरत इब्राहिमले सपनामा परमेश्वरले “आफ्नो सबैभन्दा प्रिय वस्तु चढाऊ” भन्ने आज्ञा दिएको देखेपछि उनले आफ्नै छोरालाई बलिदान गर्न तम्सेका थिए । तर, वास्तविक बलिदानको क्षणमा छोराको सट्टा एक भेंडा चढाइएको थियो । यही समर्पण, विश्वास र ईश्वरप्रतिको निष्ठाको स्मरणस्वरूप बकर इद मनाइन्छ । यस पर्वको मूल सन्देश “जीवन र मरण समेत ईश्वरका लागि समर्पित होस्” भन्ने हो ।
सभामुख घिमिरेले भन्नुभएको छ, “बकर इदले सबै नेपालीमा पारस्परिक सद्भाव, आपसी विश्वास र सहकार्यलाई अझ मजबुत बनाउँदै समृद्ध नेपाल निर्माण गर्ने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान होः अध्यक्ष दाहाल
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न जातजाति, धर्म र समुदायअनुसारका आ–आफ्नै संस्कृति, परम्परा र चाडपर्वले राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताउनुभएको छ ।
इस्लाम धर्मालम्बीको विशेष पर्व बकर ईदको अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभएको छ, “हाम्रो विविधतालाई प्रतिबिम्बित गरेका छन, विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो, यस्ता विविधतायुक्त विशेषता बोकेका धार्मिक एवं सांस्कृतिक चाडपर्वले सांस्कृतिक एकता, सामाजिक सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई थप मजबुत बनाउन महत्त्वपूर्ण योगदान पु¥याएका छन् ।” बकर इद पर्वले राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष दाहालको विश्वास छ ।
बकर ईदमा नमाज पढ्नुका साथै अल्लाहको प्रार्थना गरी हर्षोउल्लास पूर्वक मनाउने गरिन्छ । भाइचारा, पारिवारिक एकता र सद्भावका रूपमा मनाइने यो पर्वमा पवित्रस्थल साउदी अरबको मक्कामा हज गर्न हरेक वर्ष विश्वभरिबाट लाखौँ इस्लाम धर्मालम्बी पुग्दछन् । यस पर्वले मुस्लिम समुदायमा आपसी मेलमिलाप, एकता र त्यागको भावना जागृत गर्नुका साथै अन्य धर्म र समुदायबीच सामाजिक सांस्कृतिक सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको अध्यक्ष दाहालको भनाइ छ ।
नेपाली जनताको ठूलो त्याग र बलिदानबाट २०७२ सालमा सङ्घीय गणतान्त्रिक व्यवस्थासहितको संविधान निर्माण भएको उल्लेख गर्दै उहाँले संविधानले नै हाम्रो देश नेपाललाई बहुधार्मिक, बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय विशेषतायुक्त स्वाधीन राष्ट्रको रूपमा परिभाषित गरेको बताउनुभएको छ ।
अध्यक्ष दाहालले भन्नुभएको छ, “सामाजिक सद्भाव र पारिवारिक मिलनको रूपमा मनाइने बकर ईदले राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी मित्रतालाई थप सुदृढ गर्नुका साथै सबै वर्ग, धर्म, जातजाति, लिङ्ग र क्षेत्रलाई अधिकारसम्पन्न गराउने गणतान्त्रिक संविधानलाई दृढताका साथ कार्यान्वयन गर्न प्रेरणा मिल्ने विश्वास छ ।”


















