कोलकाता(भारत), २६ साउन । नेपाली कांग्रेसका नेता भरत समशेर राणाको गएराति कलकत्तास्थित निवासमा ८९ बर्षको उमेरमा निधन भएको छ ।
२०१५ सालको आम निर्वाचनमा तात्कालिन गोर्खा परिषद्बाट धादिङबाट निर्वाचित हुनुभएका राणा नेपालको पहिलो संसदमा विपक्षी दलका नेता हुनुहुन्थ्यो ।
२०१७ सालमा तत्कालीन राजा महेन्द्रले नेपाली कांग्रेसको सरकारविरुद्ध राजनीतिक ‘कु’ गरेपछि उहाँले प्रजातन्त्रका लागि आफ्नो पार्टीलाई निशर्त कांग्रेसमा बिलय गर्नुभएको थियो ।
त्यसपछि अविचलित रुपमा लोकतन्त्रका मूल्य र मान्यताप्रति समर्पित रही नेपाली कांग्रेसमा आवद्ध हुनुभयो ।
उहाँको निधनमा एक शोक विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसले २०१७ सालको कदमपछि नेपाली कांग्रेसमा आफूसहित तात्कालिन प्रपिपक्षी दल गोर्खा परिषद्लाई निशर्त समाहित गर्नुभएका राणाले आफ्नो जीवन प्रजातन्त्रको पुस्थापना, सम्बर्धन र गणतन्त्रको स्थापनाका लागि समर्पित गर्नुभएको जनाएको छ । बी.पी. विचारधाराप्रति प्रतिबद्ध अथक लोकतान्त्रिक योद्धाको भौतिक विदाईको दुःखद क्षणमा नेपाली कांग्रेसले पार्टी र लोकतन्त्रप्रतिको उहाँको अविचलित निष्ठाप्रति उच्च सम्मान व्यक्त गरेको छ।
स्वर्गीय नेता भरत शम्शेरप्रति उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पित गर्न नेपाली कांग्रेसले साउन २७ गते आइतबार बिहान ९ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
२०१८ सालवाट २०४७ सम्म भारतको कलकत्तामा वस्नुभयो ।उहां भारतीय सेने जगतका प्रसिद्ध स्क्रिप्ट राईटर , निर्माता र निर्देशक हुनुहुन्थ्यो ।
उहाँको निधनमा नेपाली कांग्रेसका सभापति शेरबहादुरद देउवा,बरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्धय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री डा.प्रकाशशरण महत लगायत केन्द्रीय सदस्य र विभिन्न भातृसंगठनका पदाधिकारी र शुभेच्छुकहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।


















