धनगढी(कैलाली), २६ साउन । महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय संजालले देशभर भएका बलात्कार, सामुहिक बलात्कार र हत्याको बिरोधमा श्रावण २५ गतेदेखि प्रदेश नं ७ माचारमहिने अभियान सञ्चालन गर्ने भएको छ ।
कैलाली शुरु भएको बलात्कार बिरुद्धको पहिलो चरणको आन्दोलन समापनका अवसरमा दोश्रो चरणको अभियान अन्तरगत सो कार्यक्रम घोषाणा गरिएको हो ।
पछिल्लो समयमा देशभर बलात्कार र बलात्कार पछि हत्या भएका घटनाहरुलाई महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालले गम्भिरताका साथ लिंदै, उचित अनुसन्धान गरि सहि पीडकको पहिचान, पिडित÷प्रभावितको न्यायका लागि यो अभियान संचालन गरिएको सञ्जालले जनाएको छ।
कैलाली र कञ्चनपुरमा माया बिक, कविता विष्ट र निर्मला पन्त माथि भएका बालात्कार र बलात्कार पछि हत्या भएको घटनाको विरोधमा महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय सञ्जालका केन्द्रीय सदस्य निर्मला बाग्चनको नेतृत्वमा श्रावण १७ गते सुरु गरिएको आन्दोलनको पहिलो चरणको आन्दोलन श्रावण २४ गते सम्पन्न भएको थियो ।
महिला मानवअधिकार रक्षक संजाल कैलालीको नेतृत्वमा सबै महिला अधिकारकर्मीहरुद्वारा धनगढी केन्द्रित अभियान कै क्रममा माया विक र कविता विष्ट माथि भएको जघन्य अपराधका आरोपितको पहिचान गरि प्रहरीद्वारा अनुसन्धानका लागि थुनामा राखिएकोमा धन्यवाद भन्दै निष्पक्ष एवं उचित अनुसन्धानका प्रक्रियाहरु अबलम्बन गरि सकेसम्म आजिवन कारावासको ब्यवस्थो गर्ने माग सञ्जालले गरेको छ । सञ्जालले कञ्चनपुरकी निर्मला पन्तमाथि भएको बलात्कार र बलात्कार पछि हत्या गर्ने दोषीहरुलाई गिरफ्तार गरि कारबाही गर्न पनि ध्यानाकर्षण गराएको छ ।
साउन २४ गते महिला मानव अधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष डा.रेणु अधिकारीद्वारा कंचनपुरमा स्थलगत भ्रमण गरि प्रहरी, महिला आन्दोलनकर्मी, स्थानीय निकायका जनप्रतिनिधिहरुसँग छलफल गरि अनुसन्धान सुरु गरिएको छ । उहाँले स्थलगत भ्रमणमा प्रहरी उपरीक्षक दिल्लीराज बिष्टलाई भेटेर अपराधीहरु पक्राउ गरि हदैसम्मको कार्वाही गर्न दबाब दिनुभएको थियो ।
सञ्जालले नेपाल प्रहरीकहाँ अभिलिखित भएका तथ्यांक उल्लेख गर्दै भनेको छ , गत आर्थिक वर्षमा मात्रै १हजार ४ सय ८० बलात्कारका घटना दर्ता भएका छन् । जस अनुसार हरेक दिन चार जना महिला तथा बालिकामाथि बलात्कारका घटना हुने गरेको छ । यो अवस्थाले हरेक नेपालीलाई लज्जित बनाएको छ । नेपालको मानवअधिकारको अवस्था चित्रण गरेको छ ।
सञ्जालले यो अवस्थाको परिवर्तनका लागि बलात्कार, यसका कारण र बलात्कार प्रभावित र पिडितहरुको मानावधिकारलाई केन्द्रमा राख्दै अगस्त १० देखि डिसेम्बर १० अर्थात् मानवअधिकार दिवससम्म प्रदेश नं ७ मा महिला सुरक्षा चेतना अभियान संचालन गर्ने निर्णय गरेको छ ।
यो अभियानको सचिवालय आोरेक नेपाल परियोजना कार्यालय, हसनपुर ५ मा रहने छ । यो अभियानको संयोजक महिला मानवअधिकार रक्षकहरुको राष्ट्रिय संजालकी केन्द्रीय सदस्य श्री निर्मला बागचन तथा सह संयोजकको रुपमा इन्सेक नेपालका कृष्ण बि।क। तथा सिविन नेपालका हरिलाल चौधरी रहनुभएको छ ।
अभियानअन्तरगत निम्न मागहरु राखिएका छन् ः
- हालसम्म बाहिर आएका घटनाहरु बिशेष निर्मला पन्तको बलात्कार गरि हत्या गर्ने र उक्त कार्यलाई सघाउने सबै पीडकहरुको सत्य तथ्य उचित अनुसन्धानको माध्यमबाट अबिलम्ब बाहिर ल्याई दोषीलाई हदै सम्मको कारवाही गरियोस् ।
- अठार वर्ष भन्दा कम उमेरका बलात्कार प्रभावित र पिडित बालिकाहरुको लागि सरकारी तहबाट उचित संरक्षण, मनोविमर्षका साथै शिक्षा, जिविकोपर्जानको अधिकारको सुनिश्चितता गर्दै सामाजिक पुनः एकीकरणको ब्यबस्था गरियोस् ।
- फौजदारी संहितामा रहेको बतात्कारका दोषीलाई विभिन्न उमेर समुहका लागी फरक फरक सजायको व्यवस्थाका प्रवधानहरु खारेज गरियोस ।
- बलात्कारीलाई सर्वस्व हरण सहित आजन्म कैदको व्यवस्था गरियोस् ।
- स्थानीयतहका टोल टोल देखि सबै तहमा बलात्कार बिरुद्धको अभियान संचालन गरियोस् ।
- बलात्कारको प्रमुख कारणको रुपमा रहेको महिलालाई हेर्ने विभेदकारी परम्परालाई निर्मूल गर्न समुदाय तह देखि नै हानिकारकपरम्परा बिरुद्धको रणनीति बनाई कार्यान्वनको व्यवस्था गरियोस् ।
- शमुदाय तह देखि नै सकारात्मक शिक्षा पुरुषहरु कै नेतृत्वमा सुरु गर्ने सरकारी तवरबाट नै ब्यबस्था गरियोस् ।
- सामुदायिक प्रहरी को व्यवस्था, टोल टोल मा सुरक्षा को संयन्त्र निर्माण गर्दै सुरक्षा को व्यवस्था निर्माण ।
- समुदाय तह देखि नै लागु पदार्थ दुब्यसन बिरुद्धको अभियान संचालन, दुब्यसनमा फँसेकाहरुको पुनःस्थापना र मनोविमर्शको व्यवस्था गरियोस् ।
- युवा, किशोर किशोरीहरुका लागी समुदाय तह देखि मनोविमर्ष, यौन शिक्षा, व्यवशायिक परामर्शको व्यवस्थाब्यवस्था गरियो ।
बलात्कार बिरुद्धको चार महिने अभियानमा धर्ना, र्याली अन्तरक्रिया कार्यक्रमहरु सञ्चालन हुने सञ्जालले जनाएको छ ।


















