Prakash Adhikari August 12, 2018

काठमाडौं,२६ साउन । संयुक्त राष्ट्र संघका पूर्वसहायक महासचिव तथा बालबालिकाहरुको लागि अन्तर्राष्ट्रिय आकास्मिक कोष(यूनिसेफ)को पूर्वउपकार्यकारी निर्देशक कुलचन्द्र गौतमको हालै लोकार्पण भएको ‘पुस्तक ग्लोबल सिटिजन फ्रम गुल्मी’को बारेमा महाराजगञ्जस्थित ‘बोधि बुक्स एण्ड क्याफे’मा विवेचना कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्व सदस्य डा. गणेश गुरुड.ले पुस्तकको समीक्षा गर्दै यसका सबल र दुर्वल पक्षहरुमाथि प्रकाश पार्नुभएको थियो ।

डा. गुरुड.ले आफ्नो संक्षिप्त टिप्पणीमा राष्ट्रपतिको भूमिकाबाट आरम्भ भएको २० अध्यायमा विभक्त उक्त पुस्तक पाठकहरुलाई उहाँसंगै उहाँले सेवा गरेका देश, त्यहाँका शासक, त्यहाँका जनता र बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाहरु र महिला तथा बालबालिकाको समिपमा रहेर संसारको विचरण गराउने उल्लेख गर्नुभयो । यो पुस्तकका पाठकले नेपालदेखि, अमेरिका, यूरोप,अफ्रिका, दक्षिण अमेरिका र युद्धले क्षतविक्षत भएको भियतनाम, कम्बोडियासम्मको  यात्रा गरेको अनुभव लिन सक्ने उहाँको दावी छ ।

राष्ट्रसंघको सेवा ‘पी-टू’ तहबाट प्रवेश गर्नुभएका गौतम ३५ बर्षको सेवा अवधिमा ‘डी-टू’ तहसम्म सेवा गर्नुभयो । ‘डी -टू’पछि उहाँ सहायक महासचिव नियुक्त हुनुभयो ।  ‘डी-टू’पछिका तहमा राष्ट्र संघमा राजनीतिक ढंगले नियुक्ति हुने गर्दछ ।

‘यो पुस्तकको दोहोर्याएर अध्ययन गर्दा मैले पाएको एउटा सन्देश के हो भने कडा मिहेनत, रणनीतिक निर्णय गर्ने क्षमता र भाग्यको साथले एक विश्व नागरिक कूलचन्द्र गौतमको उदय भएको छ’, डा. गणेश गुरुड.ले भन्नुभयो, ‘भाग्य सबैलाई समान ढंगले प्राप्त नहोला तर मिहेनत र निर्णयकला आफूमा निर्भर रहने कुरा हो ।’

सन २००५ मा मृगौला रोगबाट सिकिस्त हुनुभएका गौतमलाई उहाँकी बहिनी रमा भूषालले एक मृगौला प्रदान गरेर बचाउनुभएको थियो । पुस्तकमा त्यसको मार्मिक चित्रण रहेको छ ।

पुस्तकमा नेपालको कुटनीति अन्य मुलुकहरुले अपनाउने चेकबुक(खरिद बिक्री) कुटनीतिका सामु कति निरिह छ भन्ने कुरा पनि उल्लेख छ ।

पुस्तक लेखक गौतमको उपस्थितिमा भएको सो कार्यक्रममा लेखक गौतमले वनारसमा संस्कृत अध्ययन गरिरहेको बेलामा आफूलाई मामाले कसरी नेपालमा आधुनिक शिक्षामा ल्याउनुभयो भन्नेदेखि छात्रबृतिमा विदेश पढन जान खोज्दा त्यसबेलाको प्रशासन र राजासमेतबाट पार्सपोर्ट अस्वीकृत गरिएको घट्ना सुनाउनुभएको थियो । ‘तर मैले हिम्मत हारिन’ -उहाँले भन्नुभयो ।

भियतनाम जस्तो कमजोर देशमा अमेरिकाले आक्रमण गरेपछि भियतनाम जाने इच्छा भएकोले राष्ट्र संघको सेवामा संलग्न भएको बताउनुहुने गौतमले बालबालिकाको क्षेत्रमा काम गर्दागर्दै एकपछि अर्को देशका बालबालिकाको काममा समर्पित हुँदा ३५ बर्ष वितेको पत्तै नभएको सुनाउनुभयो ।

गौतमको पुस्तक गत मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी,पराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट,पूर्व मन्त्री एवम् कुटनीतिज्ञ निलाम्बर आचार्य, नेपालका लागि संयुक्त राष्ट्र संघकी आवासीय प्रतिनिधि भेलोरि जुलियान, गायक आनी छोइड. डोल्मा र उहाँ स्वयंले सामूहिक रुपमा विमोचन गर्नुभएको थियो ।

नेपालयले प्रकाशनमा ल्याएको यो पुस्तक बिक्रीको आम्दानी प्रदेश नं २ का बालबालिकाको शिक्षामा खर्च गरिने जानकारी गौतमले दिनुभएको छ ।

Share Now

Leave a comment.