काठमाडौं, १७ कार्तिक(बीबीसी) । नेकपा माओवादी केन्द्रको शनिवारको बैठकमा नेता जनार्दन शर्माले बिदाइ मन्तव्य जस्तै गरेर आफ्नो धारणा राखेर निस्किएको नेताहरूले जनाएका छन्।
नेता हरिबोल गजुरेलले पार्टीबाट अलग हुने सङ्केत दिने गरी शर्माले धारणा राख्नुभएको बताउनुभयो।
“उहाँले पृष्ठभूमि बाँध्दै प्रचण्डसँग लामो राजनीतिक सहकार्य भयो, अब सकिए जस्तो छ भन्ने मन्तव्य राख्नु भएको थियो”, गजुरेलले बताउनुभयो।
शर्मा निकट अर्का नेता सुदन किरातीका अनुसार नेकपा एकीकृत समाजवादीसँगको एकता स्वीकार गर्न उहाँहरू तयार हुनुहुन्न।
“हामी विगतमा भएका गल्ती र कमजोरीप्रति क्षमा माग्दै अब नदोहर्याउने बाचाका साथ सहिदको सपना र बाँकी अभिभारा पूरा गर्ने गरी अघि बढ्छौँ”, किरातीले बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका नेताहरू शर्मा सहितको समूहले नयाँ पार्टी बनाउनकै निम्ति दस्ताबेज लेखन पनि सुरु गरिसकेको बताउनुहुन्छ। “उहाँहरू टाढा पुगिसके जस्तै छ”, नेता गजुरेलले बताउनुभयो।
पूर्वमन्त्री किरातीले भने अब अवधारणा दस्ताबेज लेखन थाल्ने बताउनुभयो ।
निशानामा माधव नेपाल
माओवादी केन्द्रभित्र विवाद र मतभेद चलिरहेकै थियो। तर प्रचण्डले जब नेकपा एकीकृत समाजवादीसँग एकता गर्ने निर्णय लिए त्यसले आगोमा घ्यु थप्ने काम गरेको देखिन्छ।
नेता राम कार्कीका भनाइमा माधवकुमार नेपालको पार्टी नै बनिसकेको थिएन, त्यो बाटोमै थियो।
“दोस्रो कुरा माधव नेपालजीलाई जुन अभियोग लागेको छ, कम्तीमा अदालतको निर्णय पर्खिन सकिन्थ्यो”, कार्की भन्छन्, “नवयुवाहरूको सबैभन्दा ठूलो चाहना भनेकै भ्रष्टाचारमुक्त नेपाल, अनि हामीले त्यही मुद्दा लागेका मान्छेलाई शिरमा राख्ने त !”
नेता किरातीले पनि कसैको रक्षा कबजको निम्ति पार्टी एकता गर्न लागिएको बताउनुभयो।
उहाँका भनाइमा पार्टीभित्रै पुनर्संरचना र पुनर्गठनका मुद्दाहरू उठेका थिए र त्यसको सम्बोधन गरेर एकताबद्ध पार्टी निर्माण अहिलेको आवश्यकता थियो, त्यसपछि बृहत् वामपन्थी एकता र सहकार्यको कुरा अघि बढाइनु पर्थ्यो।
तर नेता गजुरेलले माधवकुमार नेपालको विषय बहाना मात्र भएको टिप्पणी गर्नुभएको छ।
भुईँको टिप्न खोज्दा पोल्टाको झर्दै
कतिपय मानिसहरू प्रचण्डले आफ्नै पार्टीमा विभाजित हुने गरी अरूसँगको एकता रोज्नुलाई भुईँको टिप्न खोज्दा पोल्टाको पोखिने अवस्थासँग चित्रण गर्छन्।
किन कि मोहन वैद्य, नेत्रविक्रम चन्द, बाबुराम भट्टराई लगायतका नेतापछि माओवादी सशस्त्र द्वन्द्वकालदेखिका अन्य नेता पनि अलग हुने अवस्था देखिन्छ।
तर प्रचण्ड निकट नेता गजुरेल जेन जी आन्दोलनपछिको अवस्थालाई २०४६ सालको परिवर्तनपछिको स्थितिसँग जोड्नुहुन्छ।
“त्यो बेला माओवादी विचार समूहहरूसँग एकता नगरेको भए जनयुद्धको पृष्ठभूमि तयार हुने थिएन”, उहाँको भनाइ छ, “अहिले पनि ध्रुवीकरणको नेतृत्व हामीले नगर्दा गलत दिशातर्फ ध्रुवीकरण हुने जोखिम रहन्छ। त्यसैले चौतर्फी ध्रुवीकरणको यो बेला मिल्ने र जुट्ने कुरा स्वाभाविक हो।”
उहाँका भनाइमा विभाजनको जोखिम देखिए पनि एकताको निर्णयबाट माओवादी केन्द्र अब पछाडि फर्किँदैन।
माओवादी विभाजनपछिको योजना
नेता राम कार्की आफूहरूले पहिल्यैदेखि भन्दै आएको ‘पुराना सबै पार्टीहरू विघटन भइसकेको र उनीहरू सबै यथास्थितिवादी रहेको’ बिचारसँग अहिलेको परिस्थितिसँग जोड्छन्।
उहाँका भनाइमा अहिले सुकुम्वासी, असङ्गठित मजदुर र थोरै तलबमा जीवनयापन गर्नेहरूको पार्टीनै छैनन्।
“अहिलेका पार्टी कसैलाई सोध्नुस्, १५ वर्षपछि कस्तो नेपाल बनाउनुहुन्छ, कस्तो शिक्षित जनशक्ति चाहिन्छ, कृषि र उद्योग नीति के हो र शिक्षामा कस्तो परिवर्तन चाहनुहुन्छ, केही पनि छैन”, उहाँ भन्नुहुन्छ, “त्यसैले हामी अग्रगामी प्रगतिशील सोच सहितको अभियान चलाउँछौँ।”
अब नयाँ आधारमा नयाँ पार्टी बन्ने उहाँको भनाइ छ। त्यसको निम्ति विभिन्न छलफलहरू चलाउने उहाँले जानकारी दिनुभयो। “अब विभिन्न सामाजिक वर्गले आआफ्नो राजनीतिक प्रतिनिधि छान्ने बेला आयो”, कार्कीको विश्लेषण छ।
प्रचण्डले माओवादी छाडेको भन्दै असन्तुष्टि उत्पन्न भएको पनि कतिपयको बुझाइ पाइन्छ।
माओवादी केन्द्रको सङ्गठनमा बलियो पकड रहेको बताइने जनार्दन शर्माले असन्तुष्ट पक्षको नेतृत्व गर्ने र नेत्रविक्रम चन्द लगायतका दलहरूसँग एकताको पहल गर्ने आकलन पनि पाइन्छ।
तर नेता गजुरेलले शर्माको साङ्गठनिक पकड बिस्तारै कमजोर भएको दाबी गर्दै भन्नुभयो, “माओवादी छाड्ने गरी नेकपा एमालेसँग एकीकरण गर्दा दस्ताबेज तयार गर्ने काम उहाँले गरेको हो, त्यस बेला पनि पार्टीको विधि र प्रक्रिया ख्याल नगरिएकै हो।”
दुवैतर्फ चिराचिरा
शर्मा निकट मानिने कोशी प्रदेश सभाका सदस्य इन्द्र आङ्बोले पार्टी एकताको निर्णयको पक्षमा उभिएको बताउनुहुन्छ।
उहाँले भन्नुभयो, “हामीले पनि जनार्दनजीले उठाउँदै आएको मुद्दाहरूलाई साथ दिइरहेकै हो, अहिले पनि ती विषयवस्तु सहित एकता गरौँ, त्यहीँ छलफल गरौँ, त्यहीँ लडौँ भन्ने हाम्रो धारणा हो। तर एकताको विपक्षमा उभिने कदमलाई साथ दिन सकिन्न।”
उहाँले शर्मा लगायतका नेताको अडानले विभाजनको बाटो लिएको देखिएको बताउनुभयो ।
“उहाँहरूले यो एकता स्विकार्दिनँ भन्ने, अनि एकता हुने निश्चित भइसकेपछि त अलि टाढै पुग्ने भइहाल्यो”, नेता आङ्बोले बताउनुभयो।
एकता घोषणा कार्तिक १९ गते गर्ने निर्णय भएको छ। त्यसमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सहित ८ वटा पार्टी र समूह छन्।
माओवादीमा जस्तै नेपालको पार्टीमा पनि विग्रह देखिएको छ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल लगायतका नेताहरू पनि एकताभन्दा बाहिर नै हुनुहुन्छ।
उहाँहरू पार्टी पुनर्गठन गर्ने योजनामा रहेको बताइन्छ।
तर एकताको निर्णयमा असहमत देखिएका कतिपय नेताहरूले उहाँहरूलाई पनि साथ नदिने निर्णयमा पुगेको बताउनुभएको छ।
“हामी कि एकतालाई साथ दिन्छौँ, कि पुरानै घर एमालेमा फर्किन्छौँ”, पूर्व सांसद किसान श्रेष्ठले भन्नुभयो, “साथीहरूसँग छलफलमै छौँ, मूल घरमा फर्किन पनि बाटोघाटो चार लेनको पिच हुनुपर्यो।”
तल्लो तहदेखिका नेता कार्यकर्ताले एमालेमै फर्किनु पर्ने दबाव दिइरहेको उहाँले जनकारी दिनुभयो। “तर बीचमा अल्झिन्नौँ, जता गए पनि एक्सप्रेस बस चढेर हिँड्छौँ”, नेता श्रेष्ठले योजना सुनाउनुभयो।


















