काठमाडौं, २० कार्तिक । साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक ११.२९ अंक घटेर २५९६.१२ विन्दुमा झरेको छ ।
यसअघि बुधबारको कारोबारमा दोहोरो अंकले बढेर २६०७.४२ बिन्दुमा रोकिएको नेपाल स्टक एक्सचेञ्ज आज घटेर बन्द भएको हो ।
यसदिन सूचक घटेपनि कारोबार रकम भने बढेको छ । बुधबार ४ अर्ब ६८ करोड १९ लाख रुपैयाँ बराबरको ९२ लाख १८ हजार कित्ता शेयर किनबेच भएको बजारमा आज ३ सय २० स्टकको १ करोड ८ लाख ६८ हजार १ सय ४६ कित्ता शेयरको खरिदबिक्रीबाट ५ अर्ब ४१ करोड ६९ लाख ३९ हजार ३ सय ५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा पहिलो दिन कारोबार भएको दरमखोला इनर्जी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर प्रतिकित्ता ४४२।४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै माबिलुङ इनर्जीको शेयर मूल्यपनि सकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ४२२।७० रुपैयाँमा अन्तिम करोबार भएको छ ।
यस्तै, यसदिन सम्पदा लघुवित्तको शेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएर प्रतिकित्ता ९४३।२० रुपैयाँमा झरेको छ । यसदिन शिवम सिमेन्ट, राँधी जलविद्युत, हिमालयन डिीटीलरी र एनआरएन इफ्रास्टक्चरको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
बिहिवार कारोबारमा आएका कुल १३ उपसमूहमध्ये यस दिन २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो । यस दिन घटेका उपसमूहहरुको गिरावट दर पनि १ प्रतिशतभन्दा कम रहेको छ ।


















