सानेपा (ललितपुर), ९ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति शनिवार बसेको बैठकले कञ्चनपुरकी १३ बर्षीय बालिका निर्मला पन्तको हत्या र उनको वास्तविक हत्यारा पत्ता लगाउन माग गर्दा प्रहरीको गोलीबाट मारिएका सन्नी खुनाको हत्या सहितको वास्तविकता पत्ता लगाउन दुई सदस्यीय समिति गठन गरेको छ ।
पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगर, ललितपुरमा बसेको बैठकले यसको अध्ययन प्रतिवेदन बुझाउन केन्द्रीय सदस्यद्धय दिलेन्द्रप्रसाद बडु र विरबहादुर बलायरको समिति बनाएको छ । उहाँहरु दुवैजना १० गते नै कञ्चनपुर जाने कार्यक्रम छ ।
यता सरकारले बढाएको करको दर र तहगत करले सर्वसाधरण नेपालीलाई पर्न गएको मार र भारलाई पनि कांग्रेसको बैठकले संबोधन गरेको छ । कांग्रेसले आफ्नो पार्टीका तर्फबाट निर्वाचित स्थानीय तहका प्रतिनिधिहरुलाई न्यायोचित करमात्र लिन निर्देशित गरेको छ ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकांश शर्माले जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार आज बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले गरेका १४ निर्णय यस्ता छन् :
१. महासमितिको बैठक २०७५ मंसिर ५ देखि ९ सम्म काठमाडौँमा आयोजना गर्ने ।
२. महासमिति बैठकको मूल तयारी समिति पार्टी सभापति श्री शेरबहादुर देउवाको संयोजकत्वमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यहरु रहने गरी गठन ।
३. महासमितिमा प्रस्तुत गर्ने राजनैतिक प्रस्ताव तयार गर्न उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख श्री विमलेन्द्र निधिको संयोजकत्वमा राजनैतिक प्रस्ताव तयारी समिति गठन ।
४. सांगठनिक प्रतिवेदन महामन्त्री डा. शशांक कोइरालाले प्रस्तुत गर्नु हुनेछ ।
५. पार्टीको आन्तरिक आर्थिक प्रतिवेदन कोषाध्यक्ष श्रीमती सीतादेवी यादवले प्रस्तुत गर्नु हुनेछ ।
६. पार्टीको समग्र आर्थिक नीति मस्यौदा समिति सहमहामन्त्री डा. प्रकाशशरण महतको संयोजकत्वमा गठन ।
(राजनैतिक र पार्टीको सम्रग आर्थिक नीति मस्यौदा समितिको थप सदस्य सभापतिले मनोनयन गर्नु हुनेछ)
७. विधान संशोधन मस्यौदा समितिमा जिल्ला सभापतिहरुको हेटौडामा सम्पन्न राष्ट्रिय भेलाको प्रस्ताव अनुसार जिल्ला पार्टी सभापतिहरु मध्येबाट स्थायी आमन्त्रीतका रुपमा २ जना थप गर्ने ।
८. नेपाली कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने गरी स्थानीय व्यवस्थापन समिति गठन । थप सदस्य केन्द्रीय सभापतिले मनोनयन गर्नुहुनेछ ।
९. देशमा हत्या, हिंशा, जघन्य बलात्कारका घटनाहरु बढ्दो छ । सरकार शान्ति सुरक्षाको संवेदनशीलतामा क्षमता प्रस्तुत गर्न असफल भएको छ । कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्मम हत्या भएको जघन्य घटना बारे गम्भीर र गहिरो ढंगले छानवीन नगरी अविस्वश्नीय निष्कर्षमा सरकार पुग्दा त्यसले नागरिक पक्तिलाई आक्रोशित बनाउनु र हजारौंको स्वतः स्फूर्त प्रदर्शन हुनु स्वभाविक थियो । तर, सरकारले छानवीनप्रति गम्भीरता र प्रदर्शनप्रति संयमता प्रस्तुत नगरी गोली प्रहार गरेर जनताको भावना दवाउन खोज्दा परिस्थिति झनै गम्भीर बन्न पुग्यो । नेपाली कांग्रेसलाई लाञ्छित गरेर सत्तारुढ दलकै एक जिम्मेवार नेताले व्यक्त गरेको गैर–जिम्मेवार एवं भड्काउयुक्त अभिव्यक्तिका कारण भाद्र ८ गते उत्पन्न परिस्थितिले अन्ततः अवोध बालक सन्नी खुनाको प्रहरीको गोलीबाट मृत्यु भयो । नेपाली कांग्रेस यो समग्र घटनामा सरकारको कमजोरी, दोषी लुकाउने र निर्दोषलाई फसाउँने षडयन्त्र एवं गैर–जिम्मेवार अभिव्यक्तिको कडा भत्र्सना गर्दछ ।
१०. कंचनपुर घटनाको गहन र गहिरो छानवीन गरी अपराधीमाथि तत्काल कार्वाहीको माग गर्दछ । निर्दोष बालक सन्नी खुनाको परिवारलाई राहत तथा क्षतिपूर्ति र सबै घाइतेको सम्पूर्ण उपचारका लागि सरकारलाई आग्रह गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
११. बैठकले कञ्चनपुर घटनाको यथार्थ बारे स्थलगत अध्ययन गरी प्रतिवेदन पेश गर्न केन्द्रीय सदस्यद्वय– श्री दिलेन्द्रप्रसाद बडू र श्री बीरबहादुर बलायर रहुन भएको टोली भाद्र १० गते नै कञ्चनपुर पुग्ने गरी पठाउने निर्णय गर्दछ ।
१२. ०७५ भाद्र १ मा लागू भएको मुलुकी ऐनको परिमार्जित संहिताले नेपाल देशलाई आधुनिक राज्यका रुपमा विकसित गर्न महत्वपूर्ण योगदान गरेको छ । नेपाली कांग्रेसको नेतृत्वको सरकार भएका बेला सो मस्यौदा निर्माण गरिएको विषयलाई बैठकले गौरव गरेको छ । तर कार्यान्वयनको मितिमा आइपुग्नु पूर्व त्यसमा देखिएका कतिपय कमजोरीहरु सुधार गर्ने सरकारको गम्भीरता नपुग्नु दुःखद छ । खासगरी प्रेस स्वतन्त्रतामा असर पुग्ने, चिकित्सकहरुको मर्यादामा आँच पुग्ने र प्रहरी अनुसन्धानलाई असर पु¥याउन सक्ने केहि प्रावधानहरु संशोधन गर्न अनिवार्य देखिएको छ । बैठकले यसमा संशोधनका लागि आवश्यक प्रकृया अघि बढाउन सरकारलाई आग्रह गर्ने निर्णय गर्दछ ।
१३. संघीय, प्रदेश तथा स्थानीय तहमा हचुवा ढंगले कर बढाइएको घटनाले नेपाली जनजीवन यतिवेला आक्रान्त छ । लगानीकर्ता तथा उद्यमशील वर्गलाई यसले निरुत्साहित गर्नेछ । नेपाली कांग्रेस पार्टी न्यायोचित कर र दायराको विस्तार मार्फत आर्थिक गतिविधि वढ्ने कुरामा विश्वास गर्दछ । करको दायरा फराकिलो बनाउँदा आर्थिक गतिविधिहरुको विस्तार र राजश्व वृद्धि भई बजेटको आकार वढाउन सकिने कुरामा नेपाली कांग्रेस विश्वास गर्दछ । हामी तीनै तहका सरकारलाई करको दर बढाउने एवं दोहोरो—तेहोरो कर मार्फत जनतालाई थप आर्थिक बोझ सिर्जना नगर्न सचेत गराउँदछ । करको अचाक्ली दर भन्दा दायरा वढाउने एवं न्यायोचित कर लिने पार्टीको नीतिलाई स्थानीय तहमा निर्वाचित हाम्रा साथीहरुले कार्यान्वयनमा लैजाने एवं उद्योग व्यवसायहरुमा लगानी बढाउने नीति र कार्यक्रम स्थानीय तहमा तर्जुमा गरी अघि बढ्न बैठकले निर्देश गरेको छ ।
समयमै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन नगर्नुको परिणाममा पनि आजको जटिलता उत्पन्न भएको ठहर नेपाली कांग्रेसले गरेको छ । यसर्थ, तत्कालै यसको गठन गर्न नेपाली कांग्रेस माग गर्दछ ।
१४. मित्रराष्ट्र पाकिस्तानमा नयाँ प्रधानमन्त्रीका रुपमा पूर्व क्रिकेटर इमरान खान निर्वाचित हुनु भएकोमा यो बैठक बधाई ज्ञापन गर्दछ । प्रधानमन्त्रीका रुपमा कार्य गरिरहँदा सादगीपूर्ण जीवनशैली अंगाल्ने घोषणा र त्यसका लागि नेपालका पूर्व प्रधानमन्त्री सुशील कोइरालाको जीवनशैलीबाट प्रभावित भएको उहाँको अभिव्यक्तिप्रति बैठकले सम्मान प्रकट गर्दै कार्यकालको सफलताको कामना गर्दछ ।
केन्द्रीय कार्यसमितिको अर्को बैठक ०७५ भाद्र २१ गते विहान ११ः०० पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्नेछ ।