Prakash Adhikari December 17, 2025

 

काठमाडौँ , २ पौष । दरबारमार्गमा रहेको नेपाल ट्रस्टको जग्गा लिज प्रकरणमा भ्रष्टाचार भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले तीन जना र एक कम्पनीविरुद्ध बुधबार ठगी मुद्दा दर्ता गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धान प्रतिवेदन अनुसार सरकारी वकिलको कार्यालय काठमाडौंले नेपाल ट्रस्टको दरबारमार्गस्थित १ रोपनी १४ आना जग्गा लिजमा भएको अनियमिततामा ५ अर्ब २५ करोड ६३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौँले तत्कालीन सचिव अर्जुनबहादुर कार्की, सहसचिव लेखबहादुर कार्की, थामसेर्कु ट्रेकिङका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पा र थामसेर्कु ट्रेकिङलाई प्रतिवादी बनाएर बुधबार जिल्ला अदालत काठमाडौँमा ठगी मुद्दा दायर गरेको हो ।

प्रतिवादी बनाइएकाहरूले नेपाल ट्रस्टलाई ६ अर्ब ४५ करोड ६६ लाख ३७ हजार ९ सय ९४ रुपैयाँ ३१ पैसा दिने प्रस्ताव स्वीकार गर्न सिफारिस गरेको भएपनि एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको खुलेको छ । यसरी गरेको सम्झौता नियम सङ्गत नदेखिएको र ठगी गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धानको निष्कर्ष छ ।

२०७४ जेठ १४ गते भाडा बापत १ अर्ब ४० करोड १० लाख ८६ हजार ७७ रुपैयाँ र निर्माण खर्च १९ करोड २९ लाख ६५ हजार ९२७ रुपैयाँ ६० पैसा गरी एक अर्ब ५९ करोड ४० लाख ५२ हजार २०४ रुपैयाँ ६० पैसामा सम्झौता गरेको पाइएको छ ।

नेपाल ट्रस्टको नाममा दर्ता कायम रहेको काठमाडौँ महानगरपालिका–१ दरबारमार्ग स्थित कित्ता नं। ४६०६ को १–१४–०–३–५६ क्षेत्रफलको जग्गा लिजमा लिँदा नेपाल ट्रस्टको कार्यालय र थामशेर्कु ट्रेकिङ प्रालिका बिचमा निर्माण अवधि ३ वर्षसमेत गरी ३० वर्षका लागि सम्झौता भएको थियो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौँले बुधबार मुद्दा दायर गरेको हो । जिल्ला अदालत, काठमाडौँमा दर्ता गरिएको मुद्दामा तीन जनालाई पाँच वर्ष कैद सजाय माग गरिएको छ ।

Share Now