दुबाई(संयुक्त अरब इमिरेट्स) २ पुसः उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली नवयुवाहरुको प्रस्तुति निकै खल्लो र बिर्सन लायक बन्यो । दोस्रो चरण प्रवेशबाट बाहिरिएको अफगानिस्तानलाई जित्लाकी भन्ने झिनो आशा थियो, त्यो पनि सपना जस्तो भयो । आज पनि ६ विकेटले हार खाए नेपाली नवयुवाहरुले ।
आजको खेलमा नेपालले पहिले ब्याटिड. गरेर अफगानिस्तालाई जितका लागि १ सय २५ रनको लक्ष्य दिएको थियो । अफगानिस्तानले २६.४ ओभरका ४ विकेटको क्षतिमा १ सय ३९ बल बाँकी रहदा सो लक्ष्य हासिल गर्यो ।
अफगानिस्तानको लागि उजैरउल्लाह नायजाईले ६१, ओस्मान सदातले २८, फैजाल सिनोजादाले १३ रनको योगदान दिए भने कप्तान महबूब खान र अजिजुल्लाह मियाखिल ११ ।११ रनमा नटआउट रहे । नाजिफूल्लाह आमिरी खाता नखोली एलबीडब्ल्यु धरापमा परे ।
अफगानिस्तानलाई रोक्ने नेपालका अभिशेष तिवारीले २,विपिन शर्मा र चन्दनरामले १ । १ विकेट लिए ।
यस पहिलो दुबईस्थित क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४६.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय २४ रन जोडेको थियो । ५० ओभरको खेल पूरा खेल्न नसक्नुले नेपालको स्तरको परिचय दिइसकेको थियो।
नेपालका लागि दिलसाद अलीले सर्वाधिक ३२ रन बनाए । त्यस्तै चन्दन रामले २७ रनको योगदान दिए भने अभिषेक तिवारीले २० रन जोडे । अन्य ब्याट्सम्यानले अपेक्षित प्रदर्शन गर्न सकेनन् । नेपाललाई रोक्न अफगानिस्तानका जाइटुल्लाह शाहिनले ३ विकेट लिए भने अब्दुल अजिज र नुरिस्तानी ओमरजाई र वहिदुल्लाह जाद्रानले समान २÷२ विकेट हात पारे ।
यस अगाडिको दोस्रो खेलमा नेपाल बंगलादेशसंग ७ विकेटले पराजित भएको थियो। नेपालले दिएको १ सय ३१ रनको झिनो लक्ष्य बंगलादेशले २४.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
नेपाल पहिलो खेलमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो।
ं
एसियाली क्रिकेट काउन्सिल (एसीसी) का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वतः तथा युएई, नेपाल र मलेसिया प्रिमियर कपको शीर्ष ३ टोलीका रुपमा छनोट हुँदै एसिया कपमा आइपुगेका हुन् ।
युएईले मलेशियालाई पराजित गरेर २ अंक हासिल गरे तापनि नेपाल र मलेशिया भने जित बिहिन रहेर एसीसी एशिया कपको यात्रा पहिलो चरणमा नै अत्य गरेर घर फर्कने तरखरमा छन् ।
नेपालको राष्ट्रिय टिम छायामा परेको बेलामा नेपाली यु १९ क्रिकेट टोलीले रवाफिलो प्रदर्शन गर्दै आएका हुन् । यसपटक क्यानको ध्यान एनपीएलमा लागेता पनि यु १९ का मुख्य र सहायक प्रशिक्षकहरुले त आफ्नो तयार गर्नुपर्ने हो । तर युएईको मैदानमा नेपाली यु १९ को टोली मैदानमा टिक्नै सकेन । गरुड छायामा परेको सर्पको जस्ता निरिह अवस्थामा देखियो ।
यु १९ मा राम्रा खेलाडी हुँदा उनीहरुले सिनियर राष्ट्रिय टिममा पनि स्थान बनाउदै आएका हुन् । तर यसपटकको विर्सनलायक प्रदर्शनले के देखाएको छ भने यु १९ लाई क्यानले अलग्गै विदेशी प्रशिक्षक राख्न आवश्यक छ । उनीहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलमा निरन्तर सक्रिय पार्नुपर्ने खाँचो छ ।
नेपाल क्रिकेट एशोसिएसनको क्षमता कीर्तिपुरको एनपीएलमा मात्र हैन, यु १९ महिला तथा पुरुष र टिम ए र सिनियर टिमले अन्तर्राष्ट्रिय मैदानमा गर्ने प्रदर्शनका आधारमा हुने गर्दछ । आईसीसी लिग २ मा नेपालको सिनियर नेशनल टिमको प्रदर्शन पनि बिर्सनलायक थियो । त्यसमा सुधार ल्याउन क्यानको नेतृत्व र प्रशिक्षकहरु आजै देखि लाग्नु पर्दछ । आईसीसी टी २० विश्वकपमा पनि नेपाल ग्रुप अफ डेथमा रहेको छ । अघिल्लो विश्वकपमा गुल्शन झाले एक रन लिन नसक्दा दक्षिण अफ्रिकालाई हराउनबाट चुकेको नेपालले यसपटकको छिमेकमा हुने विश्वकपमा आफ्नो सम्पूर्ण क्षमता देखाउन कुनै कसर बाँकी राख्न हुँदैन ।


















