चितवन/ नवलपुर, १ माघः माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा दिएका छन् । जिल्ला प्रशासन कार्यालय चितवनको सक्रियतामा प्याप्सनको सहयोगमा देवघाट जाने–आउने भक्तजनहरुलाई निःशुल्क बस सेवा सुरु गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार आज बिहान ६ः३० बजेदेखि भरतपुर महानगरपालिका–१ आँपटारीबाट बसहरुले सेवा दिन सुरु गरेका हुन । उहाँका अनुसार यस क्षेत्रबाट देवघाट जाने र फर्कने तीर्थालुहरुलाई सेवा दिइने छ । भक्तजनको चाप भएसम्म बसले सेवा दिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक तथा अन्य भक्तजनहरुलाई लक्षित गर्दै निःशुल्क बस सेवा सुरु गरेका हौँ ।”
भक्तजनहरुलाई राजमार्गसम्म आउन समस्या नपरोस् भनेर आँपटारी हुँदै रामनगर, देवघाट हुँदै पुनः आँपटारीसम्म सेवा दिने अर्यालले बताउनुभयो । माघेसङ्क्रान्तिको अवसरमा हरेक वर्ष देवघाटमा स्नान गर्ने, मेला भर्न आउनेको उपस्थिति उलेख्य हुने गरेको छ ।
ज्येष्ठ नागरिकहरुलाई पैदलयात्रामा समस्या हुन सक्ने भन्दै निःशुल्क बस सेवा दिन लागिएको हो । देवघाटमा तीन लाख भक्तजन स्नान गर्न आउने अनुमान देवघाट क्षेत्र विकास समितिले गरेको छ । बुधबार बिहान वेणीमा लिङ्गो ठडाएर मकरसङ्क्रान्ति मेलाको सुभारम्भ गरिएको छ ।
मकरस्नान गर्ने आउने भक्तजनलाई कालीगण्डकीमा निःशुल्क डुङ्गा
पवित्र धार्मिक तीर्थस्थल देवघाटधाममा माघेसङ्क्रान्ति स्नान गर्न आउने तीर्थालुको बुधबार साँझदेखिनै घुइँचो लागेको छ । तीर्थालुको सुविधाका लागि गैँडाकोटबाट कालीगण्डकी नदीमा निःशुल्क डुङ्गाको व्यवस्था गरिएको छ ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व), तनहुँ र चितवनमा पर्ने कालीगण्डकी र त्रिशूली नदीको सङ्गमस्थल देवघाटको बेनीमा स्नान गर्न जान जिल्लाको गैँडाकोट–३ नम्बर वडा कार्यालयले निःशुल्क डुङ्गाको व्यवस्था गरेको हो । गैँडाकोट नगरपालिकाका प्रवक्ता एवं वडा नं ३ का वडाध्यक्ष शिवकान्त तिवारीले कालीगण्डकी नदीको केलादीघाटबाट बेनीमा जानका लागि निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरिएको जानकारी दिनुभयो । “नवलपुरतर्फबाट सहज र छिटो रुपमा दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधनमा देवघाटधाम स्नान गर्न आउन सकिन्छ”, उहाँले भन्नुभयो, “जसका लागि गैँडाकोटको पुलचोक हुँदै शिलान्यास चोक, ब्रिटिस क्याम्प भएर तथा कालीगण्डकी चोकबाट कालीगण्डकी करिडोरको बाटो भएर आउन सकिन्छ ।”
गैँडाकोटको वडा नम्बर १ र ३ जोड्ने जुक्तिखोलामा पक्की पुल बनेपछि गैँडाकोट पुलचोकबाट उत्तरतर्फ करिब २० मिनेको यात्राबाटै कालीगण्डकी नदीको केलादीघाटमा पुग्न सकिने वडाध्यक्ष तिवारीले बताउनुभयो । केलादीघाटको पारिपट्टि देवघाटको बेनी सङ्गम रहेकाले डुङ्गा तरेर तथा कालीगण्डकी नदीमाथिको पक्की पुलबाटसमेत बेनी स्नानमा जान सकिने उहाँले बताउनुभयो । चितवनतर्फबाट देवघाट जान घुमाउरो र असहज यात्रा हुने भन्दै वडाध्यक्ष तिवारीले नवलपुरतर्फबाट सहज रुपमा यात्रा गर्न सकिने बताउनुभयो ।
गैँडाकोटको ब्रिटिस क्याम्प हुँदै देवघाट बेनीको वारिपट्टि केलादीघाट पुगिने र त्यहाँबाट पारि जान निःशुल्क डुङ्गा उपलब्ध गराइएको उहाँको भनाइ छ । बुधबार साँझदेखि नै भक्तजनहरुलाई कालीगण्डकी नदी वारपार गर्नका लागि केलादीघाटमा डुङ्गा तयारी अवस्थमा राखिएको उहाँले बताउनुभयो । कालीगण्डकीमा स्नान गरेर फर्किने तीर्थालुका लागि केलादीघाटमा सुरक्षित स्नानघाट निर्माण गरिएको जनाउँदै उहाँले बेनी सङ्गममा स्नान गर्ने भक्तजनका लागि केलादीघाटबाट निःशुल्क डुङ्गामा जाने व्यवस्था गरिएको बताउनुभयो ।
“माघेसङ्क्रान्तिको दिन नवलपुर र पश्चिमतर्फबो आउने तीर्थालुलाई नवलपुर र चितवन जोड्ने नारायणी नदीको पुल तरेर नारायणगढ हुँदै देवघाटको बेनी पुग्न निकै कठिन र असहज हुने गरेको छ”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “तीर्थालुले माघेसङ्क्रान्ति स्नान सहज रुपमा गरुन् भन्ने उद्देश्यले हामीले केलादीघाटबाट निःशुल्क ¥याफ्टिङ डुङ्गाको व्यवस्था गरेका हौँ ।” ¥याफ्टिङ डुङ्गाको प्रबन्ध गैँडाकोट ३ नम्बर वडा कार्यालयले गरेको उहाँले जानकारी दिनुभयो ।
नवलपुरसहित पश्चिमतर्फबाट आउने तीर्थालुहरु गैँडाकोटको केलादीघाट हुँदै देवघाट स्नान गर्न जाँदा सहज र बाटोसमेत छोटो पर्ने उहाँले बताउनुभयो । चितवनबाट देवघाट पुग्न पुलचोकबाट १० किलोमिटरभन्दा बढी यात्रा गर्नुपर्ने भन्दै तिवारीले नवपुरतर्फबाट करिब पाँच किलोमिटरमा देवघाट पुग्न सकिने बताउनुभयो । “धेरै तीर्थालुलाई नवलपुरबाट सहज र छिटो देवघाट जाने बाटो थाहा छैन, गैँडाकोटबाटै सहज र छिटो देवघाटको बेनी पुगिन्छ भनेर प्रचारप्रसार गर्न हामीले पहल गरेर निःशुल्क डुङ्गाको व्यवस्था गरेका हौँ”, वडाध्यक्ष तिवारीले भन्नुभयो, “डुङ्गा सञ्चालकसँग हामीले सम्झौता गरेका छौँ, उनीहरुलाई वडा कार्यालयले नै शुल्क भुक्तानी गर्छ, डुङ्गा चढ्ने तीर्थालुसँग कुनै पनि शुल्क लिइँदैन ।”
नवलपुरभन्दा पश्चिमबाट आउने सबै तीर्थयात्रीलाई गैँडाकोटको केलादीघाटको बाटो प्रयोग गर्न वडाध्यक्ष तिवारीले आग्रह गर्नुभयो । मुक्तिनाथबाट बग्दै आएकी कालीगण्डकी नदी र गोसाइँकुण्डबाट बग्दै आएकी त्रिशूली नदीको सङ्गमस्थल देवघाटधाममा माघेसङ्क्रान्ति पर्वका अवसरमा लाखौँ भक्तजन आउने गर्छन् । आज बिहान देवघाटको बेनी सङ्गमा देवघाटका विभिन्न धार्मिक सङ्घसंस्थाको उपस्थितिमा बाँसको लिङ्गो गाडेपछि देवघाटधाममा मकर स्नान सुरु भएको छ ।


















