काठमाडौं, २१ बैशाख । व्यवसायी दीपक भट्टलाई लिखित जवाफसहित २४ घण्टाभित्र सर्वोच्च अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
भट्टलाई थुनामुक्त गर्न उनकी पत्नी आयुस्मा नेपालले बन्दीप्रत्यक्षीकरण रिट दायर गर्नुभएको थियो।
सोमबार सर्वोच्चका न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले सुनुवाइ सकिएपछि काठमाडौं जिल्ला अदालत, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र प्रहरीका नाममा यस्तो आदेश गरेको हो ।
सर्वोच्चले बन्दीसँगै पक्राउको कारणसहित लिखित जवाफ पेस गर्न समेत आदेश गरेको छ ।
व्यवसायी भट्टलाई गत चैत १९ गते काठमाडौंको नक्सालबाट पक्राउ गरिएको थियो । सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट थुना म्यादको अनुमति लिएर भट्टलाई सीआईबीको प्रहरी हिरासतमा राखिएको छ ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको सम्पत्तिमाथि अनुसन्धान गरिरहेको छ ।


















