Prakash Adhikari May 5, 2026

काठमाडौं, २२ बैशाख । सोमवार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनःसिफारिस गर्ने निर्णय गरेको छ। यसले राष्ट्रपति र मन्त्रिपरिषद्का बीचमा टकराव उत्पन्न गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार अध्यादेश पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउनुभएको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेश ल्याउने सरकारको नियतमाथि शंका व्यक्त गरेको छ ।

सोमबार बसेको कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै कांग्रेस सहमहामन्त्री उदयशमशेर राणाले सरकारले ल्याएका अध्यादेशले संसदीय सर्वोच्चताको ख्याल नगरेको बताउनुभयो।

‘अध्यादेशबारे हाम्रो ध्यानाकर्षण भएको छ । आवश्यक परेका बेलामा अध्यादेश ल्याएर कानुन बनाउने परम्परा रहँदैआएको छ । सरकारले ल्याउन पनि सक्छ,’ सहमहामन्त्री राणाले भने, ‘मूल कुरा सरकारले कुन मनस्थितिले ल्याएको हो भन्ने कुरा गम्भीर हुन्छ ।’

सकारात्मक विचारले ल्याइएका अध्यादेशमा कांग्रेसले सधैँ सहयोग गरेको र अझैँ पनि गर्ने बताउँदै राणाले भन्नुभयो, ‘तर संविधान र व्यवस्थाविपरीत कुनै पनि कानुन बन्न सक्दैनन् । त्यसो नियतका साथ ल्याइएका अध्यादेशमा कांग्रेस सधैँ विरोध गर्छ।

उहाँले कांग्रेस सरकारमा हुँदा पनि अध्यादेश ल्याएको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, ‘हामी सरकार हुँदा पनि ल्याएको थियो । तर अहिले किन ल्यायो भन्ने मुख्य प्रश्न हो ?

 

Share Now