काठमाडौं, १ जेठ । साताको अन्तिम तथा जेठ महिनाको पहिलो दिन नेपालको शेयर बजार बढेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको नेपालको धितोपत्र बजार यस दिन भने सामान्य अंक बढेर बन्द भएको हो।
शुक्रबार धितोपत्र बजार परिसूचक १.७७ अंक बढेर २७३१.९४ विन्दुमा पुगेको छ।
यस दिन शेयर बजार उकालो लागे पनि कारोबार रकम भने अघिल्लो कारोबार दिनको भन्दा सामान्य घटेको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार ३ अर्ब २९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३ सय ३८ स्टकको ७९ लाख ३४ हजार कित्ता शेयर खरिदबिक्रीबाट ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
यस दिन ७ प्रतिशत नबिल डिबेञ्चर २०८९ को मूल्य सर्वाधिक ७.७१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन मोदी इनर्जीको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ।
कारोबारमा आएको यूनियन हाइड्रोपावरको शेयरमूल्य यस दिन सर्वाधिक १४.७९ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ६ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ६६ लाख ४९ हजार रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन अपि पावर कम्पनीको करिब साढे ११ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने रिलायन्स स्पिनिङ्ग मिल्सको कारोबार रकम साढे ८ करोड रुपैयाँ नाघेको छ।
१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग, वित्त, होटल तथा पर्यटन, जलविद्युत, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको हो।








