Prakash Adhikari May 16, 2026

कीर्तिपुर(काठमाडौं), २ जेठ। आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत दोस्रो नेपाल श्रृखलामा आज नेपाल र अमेरिका आमनेसामने हुँदैछन्।

आईसीसी विश्वकप लिग २ अन्तरगतको १०५ औं खेल नेपाली समय अनुसार ९ः३० बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने छ ।

खेलमा भएको टस जितेर अमेरिकाले पहिले ब्याटिड. रोजेको छ । नेपालले पहिले फिल्डिड. अर्थात बलिड. गर्ने छ ।

स्कटल्यान्डसँग पहिलो खेलमा डकवर्थ–लुइस–स्टर्न (डीएलएस) पद्धतिअनुसार २ रनको पराजय ब्यहोरेको नेपाल घरेलु मैदानमा अमेरिकालाई पराजित गर्ने उत्साहसहित उत्रिने भएको छ ।

लिग २ का खेलमा कीर्तिपुरको मैदानमा स्कटल्याण्डसंग पराजित भएर अंकतालिकामा बराबरीमा झरेको अमेरिका नेपाललाई जितेर शीर्षस्थान कायम गर्न आतुर छ।

नेपाली टिम घरेलु मैदानमा स्कटल्याण्डसंग २ रनले पराजित भएकोले अमेरिकालाई हराएर त्यो हारको पीडा बिर्सने ताकमा छ । नेपाली क्रिकेटका मुख्य प्रशिक्षक स्टुअर्ट लले पहिलो खेलमा ‘लेजी ब्याटिङ’ हारको मुख्य कारण बनेको स्वीकार गर्दै अमेरिकाविरुद्ध सुधारिएको प्रदर्शन गर्ने बताएका छन्।

स्कटल्यान्डसँगको खेलमा नेपाल जितनजिक पुगेर पनि दबाब सम्हाल्न नसक्दा पराजित भएको थियो। विशेषगरी मध्यक्रमका ब्याटरहरू लगातार आउट भएपछि नेपाल हार्न पुगेको थियो।

यद्यपि टोलीका लागि सकारात्मक पक्ष भने दीपेन्द्रसिंह ऐरी र गुल्सनकुमार झाको लय हो। दीपेन्द्रले लगातार प्रभावशाली प्रदर्शन गर्दै टोलीको ब्याटिङ सम्हालिरहेका छन् भने गुल्सनले स्कटल्यान्डविरुद्ध आक्रामक अर्धशतक प्रहार गर्दै नेपाललाई जितको आशा दिलाएका थिए। प्रशिक्षक स्टुअर्टका अनुसार नेपालले अनावश्यक रूपमा प्रत्येक बलमा छक्का खोज्ने प्रवृत्ति त्यागेर ‘ग्याप’मा खेल्न सके राम्रो नतिजा निकाल्न सक्छ।

नेपाल अहिले लिग–२ तालिकामा दबाबमा छ। टोलीले एकदिवसीय मान्यता जोगाउन र विश्वकप छनोटको सम्भावना कायम राख्न बाँकी खेलहरूमा उत्कृष्ट प्रदर्शन गर्नैपर्ने अवस्था छ। घरेलु मैदानमा बाँकी खेलहरू नेपालका लागि ‘गर या मर’ सरह बनेका छन्।

अर्कोतर्फ अमेरिका भने उत्कृष्ट लयमा छ। पुबुदु दासानायकेको प्रशिक्षणमा अमेरिकी टोली पछिल्ला ५ खेल मध्ये ४ खेल जितेको छ । नेपालले भने पछिल्ला ५ खेलमा ३ वटा जितेको छ । दुईमा पराजय ब्यहोरेको छ ।

नेपालका पूर्वप्रशिक्षक समेत रहेका पुबुदु दासानायके नेपालमा खेल्न सधैं चुनौतीपूर्ण हुने बताउँछन्। उनका अनुसार कीर्तिपुरको स्पिनमैत्री पिच र घरेलु समर्थकको दबाब अमेरिकाका लागि ठूलो परीक्षा हुनेछ।

अमेरिकाका केही खेलाडी नेपाल प्रिमियर लिग (एनपीएल) खेलेकाले यहाँको अवस्था र पिचसँग परिचित छन्। मिलिन्द कुमार, हर्मित सिंह र एन्ड्रिस गाउसजस्ता खेलाडीले नेपाली मैदानमा अनुभव बटुलिसकेका छन्, जसले अमेरिकालाई थप आत्मविश्वास दिएको छ।

हेड–टु–हेड तथ्यमा अमेरिका नेपालभन्दा अघि देखिन्छ। लिग–२ मा हालसम्म दुई टोलीबीच भएका पछिल्ला आठ भेटमध्ये अमेरिकाले ६ खेल जितेको छ। नेपालले अमेरिकामाथिको पछिल्लो जित सन् २०२३ मा जिम्बाबेको हरारेमा भएको विश्वकप छनोटमा निकालेको थियो। त्यसयता अमेरिका लगातार चार खेलमा अपराजित छ।

तर, इतिहासले नेपाललाई पनि आत्मविश्वास दिन्छ। सन् २०२० मा कीर्तिपुरमै अमेरिकालाई ३५ रनमा अलआउट गर्दै नेपालले ऐतिहासिक जित निकालेको थियो। त्यस खेलमा सन्दीप लामिछाने र सुशान्त भारीको घातक बलिङले नेपाललाई अविस्मरणीय सफलता दिलाएको थियो।

Share Now