काठमाडौं, २ जेठ । आगामी जुन महिनामा भारतमा हुने साफ महिला च्याम्पियनसिप गोलकिपर अञ्जिला सुब्बा तुम्बाप्पोको कप्तानीमा खेल्ने भएको छ।
नियमति गोलकिपर सावित्री भण्डारी ‘साम्बा’को अनुपस्थितिमा उनले कप्तानी जिम्मेवारी पाएकी हुन्।
न्युजिल्यान्डको वेलिङ्टन फिनिक्स फुटबल क्लबबाट अस्ट्रेलियाको निन्जा ‘ए’ लिग खेल्ने क्रममा साम्बा गत पुस तेस्रो साता घाइते भएकी थिइन्।
उनी ब्रिस्बेन रोअरविरूद्धको खेलका क्रममा विपक्षी टोलीकी गोलकिपरसँग ठोक्किएकी हुन्। उनको दाहिने घुँडाको एसीएल पूर्ण रूपमा च्यातिएको थियो। प्रारम्भिक उपचार न्युजिल्याण्डमा गराएकी उनी हाल कतारको दोहामा फिजियो थेरापी गर्दै स्वास्थ्य लाभ गरिरहेकी छन् ।
साफ महिला च्याम्पियनसीप प्रतियोगिता मे २५ देखि जुन ७ सम्म भारतको गोवास्थित फातोर्दा रंगशालामा आयोजना हुने भएको छ।
प्रतियोगितामा प्रायः उपविजेता बन्दै आएको नेपाल समूह ‘ए’ मा छ। यो समूहमा श्रीलंका र भुटान छन्। नेपालको लक्ष्य पहिलोपल्ट साफ जित्नेछ।
मुख्य प्रशिक्षक नवीन न्यौपानेले यसअघि उपविजेता हुँदै आएकोले यसपल्ट बंगलादेश र भारतलाई हराउँदै पहिलोपल्ट उपाधि हात पार्ने लक्ष्य रहेको बताएका छन्।
‘मैले खेल्दा साफ जित्न सकिनँ। त्यसैले प्रशिक्षककै रूपमा भए पनि नेपाललाई पहिलो उपाधि जिताउने लक्ष्य छ,’ उनले भनेका छन्।
श्रीलंका सन् २०१९ पछि सेमिफाइनलमा पुग्न सकेको छैन। भुटान भने त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २०२२ मा भएको प्रतियोगितामा अन्तिम चारमा प्रवेश गरेको थियो।
अर्को समूहमा आयोजक भारतसँगै साबिक विजेता बंगलादेश र माल्दिभ्स छन्। भारत सर्वाधिक पाँचपल्टको च्याम्पियन टोली हो। बंगालादेशले भने २०२२ र २०२४ मा उपाधि जितेको छ।
अब यस संस्करण बंगलादेश ह्याट्रिक गर्ने दाउमा हुनेछ। माल्दिभ्स भने अन्तिमपल्ट २०१६ मा सेमिफाइनलमा पुगेको टोली हो।
नेपाली टोली
गोलकिपरः अञ्जिला तुम्बापो सुब्बा ९कप्तान०, अञ्जना रानामगर, उषा नाथ
डिफेन्डरः पूजा राना, गीता राना, विमला बिक, हीराकुमारी भुजेल, प्रतिक्षा चौधरी, समीक्षा घिमिरे, निशा ठोकर, सबिना चौधरी
मिडफिल्डरः रेनुका नगरकोटे, दीपा शाही, प्रीति राई, सरु लिम्बू, बिर्सना चौधरी, अनिता बस्नेत, अनिता लाम्जेल, अनिता केसी
फरवार्डःरश्मीकुमारी घिसिङ, रेखा पौडेल, पूर्णिमा राई, मीना देउवा








