क्वालालम्पुर(मलेसिया), १४ जेठ । एशियन गेम्स महिला छनोट प्रतियोगिताका लागि मलेसियामा रहेको नेपाली राष्ट्रिय महिला क्रिकेट टिम आज इण्डोनेशियासंग खेल्दै छ ।
बिहान ११ः ४५ मा सुरु हुने खेलमा इण्डोनेशियाले टस जितेर नेपाललाई फिल्डिड.को निम्तो दिएको छ ।
यसै प्रतियोगिता अन्तरगत हिजो सम्पन्न खेलमा नेपालले चीनमाथि १९ रनको शानदार जित हात पारेको थियो ।
मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले दिएको १ सय २६ रनको लक्ष्य पछ्याएको चीन निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६ रनमा समेटियो ।
चीनको लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । त्यस्तै वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रन जोडिन् ।
चीनलाई रोक्ने क्रममा नेपालका लागि रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् । त्यस्तै मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १ । १ विकेट लिए ।
त्यसअघि ट्स जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको योगफल बनाएको थियो।
नेपालका लागि पूजा महतोले उत्कृष्ट ६३ रनको अर्धशतकीय इनिङ्स खेलिन् । त्यस्तै रुवी पोद्दारले २२ रनमा अविजित रहिन् । चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १ । १ विकेट झारेका थिए ।








