सिंगापुर, २४ जेठ । प्रतिस्पर्धी ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै नेपाल सिंगापुरमा जारी एसियाली खेलकुद (एसियाड) पुरूष क्रिकेट छनोटको फाइनलमा पुगेको छ।
आज भएको खेलमा प्रतिस्पर्धी ओमानलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गर्दै नेपालले फाइनलको यात्रा तय गरेको हो ।
नेपालको आजको जितमा बलिङको उत्कृष्ट योगदान रह्यो । जितको लागि प्रस्तुत ९५ रनको लक्ष्य नेपालले ९.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।
खेलमा ओपनर कुशल भुर्तेल २० रन बनाएर समिर ओथमानको बलमा कट एण्ड बोल्ड भए ।अर्का ओपनर आशिफ शेख १ रनमा आउट भएपछि कप्तान रोहित पौडेल र लोकेश बमले नेपाललाई जिततर्फ डोर्याए।
यी दुईले अविजित ६८ रनको साझेदारी गरे। लोकेशले विष्फोटक ब्याटिङ गरे। २६ बल खेल्दै ७ चौका र १ छक्का सहित अविजित ४४ रनमा जोडे । रोहित २१ रनमा अविजित रहे।
नेपाललाई रोक्ने क्रममा ओमानका समिर ओथमानले २ विकेट लिए।
त्यसअघि टस जितेर ओमानले पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि फिल्डिड.मा उत्रिएको नेपालले कसिलो बलिड. गर्यो।
सिंगा ओभल ग्राउण्ड सिंगापुरमा नेपालले ओमानलाई ९४ रनमा अल आउट गरायो ।
नेपाली बलरका सामु ओमानका ब्याटरहरुलाई टिक्न कठिन भयो आज । ओमानका लागि क्याप्टेन सुफयान मोहम्मदले ३८, जुबेर अलि अकबरले २२, अब्दुल जलिल खानले १६,शाहव आलमले ९, मुजाफ्फर नसिर हसनले ४, इशा अब्दुल रहिम र वासिम इस्मेलले १ रनको योगदान दिए भने शुहाएब इस्मेल, नवेल अब्दुलमाजिद, रसद मोहम्मद, समिर ओथमन(नटआउट)खाता खोल्न सकेनन । ओमानले ३ रन अतिरिक्त आर्जन गर्यो, लेगवाई बाट १ र वाइडबाट २ ।
ओमानलाई रोक्ने क्रममा नेपालका करन के.सीले ३, सोमपाल कामी र सन्दीप लामिछानेले २ । २ , साहब आलम, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले १ । १ विकेट लिए ।
बिहीबार सम्पन्न समूह ‘ए’को अन्तिम खेलमा नेपालले मलेसियालाई १ सय ६७ रनले हराएको थियो। त्यसअघि नेपालले चीनलाई २ सय २१ रनले पराजित गरेको थियो।
अपराजित रहँदै फाइनलमा पुगेको नेपालले अब हङकङ र मलेसियाबीचको विजेतासँग फाइनल खेल्नेछ।नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनोट भैसकेका छन्।








