Prakash Adhikari June 9, 2026

काठमाडौं, २६ जेठ । साताको दोस्रो कारोबार दिन पनि नेपालको शेयर बजार ओरालो लागेर बन्द भएको छ । पछिल्ला तीन कारोबार दिनदेखि घटिरहेको शेयर बजारले यस दिन पनि उकालो चढ्ने आँट देखाएन ।

मंगलबार नेपालको धितोपत्र बजार परिसूचक १.५४ अंक घटेर २७३३.५९ विन्दुमा झरेको छ।

धितोपत्र बजार परिसूचक घटेपनि यस दिन शेयर कारोबार ेरकम भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात सोमबार ४ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा मंगलवार ३ सय ५७ स्टकको १ करोड २३ लाख ८२ हजार कित्ता शेयर खरिदबिक्रीबाट ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सोपान फर्मास्यूटिकल्स र कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य करिब ११ प्रतिशत बढेको छ भने उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य साढे ७ प्रतिशतभन्दा बढी बढेको छ।

कारोबारमा आएको क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य यस दिन सर्वाधिक ९.१६ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कृषि विकास बैंकको बण्ड शीर्ष स्थानमा रहेको छ। सो बैंकको ८ वर्षे एग्रीकल्चर बण्ड यस दिन ५७ करोड रुपैयाँबराबरको कारोबार भएको छ। त्यस्तै, यस दिन सेन्ट्रल फाइनान्सको करिब ३६ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने १०.२५ प्रतिशत एनबिबिएल डिबेञ्चर २०८५ को ३१ करोड रुपैयाँभन्दा बढीको ऋणपत्र कारोबार भएको छ।

शेयर बजारमा वर्गीकृत १३ उपसमूहमध्ये यस दिन ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको हो। कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.०१ प्रतिशत घटेको छ।

Share Now