काठमाडौं, २१ कार्तिक । भोटेकोशी बाढीमा बेपत्ता भएका हजारौँ व्यक्तिको विवरण सरकारले सार्वजनिक गरेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ३२ जिल्लाका २ हजार २ सय ९४ नेपाली र सात देशका १ सय ७१ विदेशी नागरिकको नामावली सार्वजनिक गरेको हो।
सार्वजनिक सूचीमा नाम समावेश भएका व्यक्ति जीवित रहेको वा फेला परेको भए सात दिनभित्र प्रमाणसहित दाबी गर्न प्राधिकरणले आग्रह गरेको छ।
प्राधिकरणले सम्बन्धित जिल्लाका विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट यकिन भएर आएका विवरणका आधारमा नामावली सार्वजनिक गरेको जनाएको छ। सार्वजनिक सूचीमा सबैभन्दा धेरै रसुवाका नागरिक छन्। रसुवाबाट मात्रै १ हजार ५ सय ८३ जना बेपत्ता भएको विवरण समेटिएको छ।
त्यस्तै धनकुटा, डडेल्धुरा, खोटाङ, भोजपुर, अछाम, कपिलवस्तु, जाजरकोट, सर्लाही, ललितपुर, कैलाली, महोत्तरी, बागलुङ, ताप्लेजुङ, जुम्ला, बाजुरा, कालीकोट, नवलपरासी पूर्व, उदयपुर, काभ्रेपलाञ्चोक, नवलपरासी पश्चिम, तेह्रथुम, रुकुम पूर्व, सप्तरी, बर्दिया, स्याङ्जा, रामेछाप, दाङ, सिन्धुपाल्चोक र सिन्धुलीका बेपत्ता नागरिकको विवरण पनि सार्वजनिक गरिएको छ।
विदेशी नागरिकतर्फ सात देशका १ सय ७१ जनाको विवरण सार्वजनिक भएको छ। उनीहरूको नामावली सम्बन्धित मुलुकका नेपालस्थित कूटनीतिक नियोग वा नेपाल हेर्ने जिम्मेवारी पाएको नियोगबाट कन्सुलर सेवा विभागमार्फत प्राप्त विवरणका आधारमा तयार पारिएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले सार्वजनिक गरेको सूचीमा कुनै व्यक्ति जीवित रहेको वा फेला परेको जानकारी भए सम्बन्धित व्यक्ति वा उनको एकाघरको परिवारले सात दिनभित्र दाबी पेस गर्नुपर्नेछ।
स्वदेशी नागरिकको हकमा स्थायी ठेगाना रहेको स्थानीय तहको सिफारिसका आधारमा जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले निर्णय गरेपछि नामावली तयार पारिएको हो।
३२ जिल्लाबाहेकका बेपत्ता नागरिकको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त भएपछि थप सूचना जारी गरिने प्राधिकरणले जनाएको छ। विदेशी नागरिकको हकमा पनि सम्बन्धित कूटनीतिक नियोगबाट विवरण प्राप्त भएपछि सूची अद्यावधिक गरिनेछ।
प्राधिकरणका अनुसार गत भदौ १० गते भोटेकोशीमा आएको बाढीमा परी हालसम्म १ हजार ४ सय ५७ जनाको मृत्यु भएको छ। उक्त विपद्मा ५ हजार २ सय ८५ जना बेपत्ता भएको सरकारी तथ्याङ्क छ।
बेपत्ता व्यक्तिको विस्तृत नामावली प्राधिकरणको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको छ। सार्वजनिक सूचीमा आफ्नो परिवारका सदस्यको विवरण भए त्यसको अवस्था यकिन गरी तोकिएको समयभित्र दाबी पेस गर्न सकिनेछ।







