Prakash Adhikari June 11, 2026

 

काठमाडौं, २८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूमाथि लागेका भ्रष्टाचारका आरोपहरूको प्रतिवाद गर्दै अनियमितता प्रमाणित भए पद त्याग गर्ने घोषणा गर्नुभएको छ।

बिहीवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले प्रश्न उठाउने सांसदहरूका पुराना काण्डहरू समेत सार्वजनिक हुने चेतावनी दिनुभयो । अर्थ मन्त्रालयमा बसेर करका दरमार्फत निश्चित व्यापारीलाई पोसेको भन्ने आरोपको खण्डन गर्दै उहाँले आफूमाथि लागेको २ अर्बको आशङ्का निराधार रहेको दाबी गर्नुभयो ।

उहाँले सार्वजनिक लेखा समितिमा समेत आफू विरुद्ध आएका समाचारहरूको खण्डन गरेको उल्लेख गर्दै जनताले सुशासनका लागि दिएको मतको अपमान नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। सुशासनको कठोर प्रतिवद्धतासहित आएको दुई महिनामै जनतालाई धोका दिन नसकिने जिकिर गर्दै उहाँले आफूमाथि औंलो ठड्याउनेहरूलाई पनि नैतिक उचाइ कायम राख्न चुनौती नै दिनुभयो। उहाँले आफ्नो बारेमा प्रश्न उठाउने सांसदहरुलाई तपाईंहरुको पनि काण्डहरु थाहा नभएको हो र ? तिनीहरु पनि खुल्दै जानेछन् भनेर नरम धम्की पनि दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको बहुचर्चित विषय–स्वर्णिम वाग्लेले कुटु–कुटु अर्थ मन्त्रालयमा बसेर करका दर चलाएर व्यापारी पोस्यो । भन्ने खालका कुरा पनि सुनिए । सांसदहरूले आफ्नो गरिमा आफैं राख्नुपर्छ । हामी यस सम्मानित सदनको ओज घटाउने कामतर्फ लाग्नु हुँदैन । सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको, सुशासनप्रतिको कठोर प्रतिबद्धतालाई जनताले अनुमोदन गरेको दुई महिनामै हामी जनतालाई धोका दिन सक्छौं र ? सक्दैनौं । मैले आज सार्वजनिक लेखा समितिमा पनि भनेँ, एक–दुईवटा खोस्टाहरूले २ अर्बको आशंका इत्यादि भनेर लेखे। तर २ अर्ब होइन, २ रुपैयाँको बदमासी वा बेइमानी मबाट भएको छ भने म मन्त्री पद त्यागिदिन्छु । सार्वजनिक जीवन नै त्याग्न पनि म तयार छु । यही नैतिक आँट र यही नैतिक उचाइ मप्रति औँलो ठड्याउने माननीयज्यूहरूलाई पनि प्राप्त होस्, शुभकामना छ । तपाईंका काण्डका बारेमा हामी अनभिज्ञ छैनौं, ती पनि खुल्नेछन् ।”

अर्थमन्त्री वाग्लेले सुशासनको निर्मम एजेन्डा लिएर अगाडि बढेको बताउँदै व्यक्तिगत लाञ्छना लगाउनुअघि तथ्यमा आधारित हुन आग्रह समेत गर्नुभयो ।

Share Now