Prakash Adhikari June 29, 2026

सिउल(दक्षिण कोरिया), १५ आषाढ(बीबीसी) । दक्षिण कोरिया विश्वकप २०२६ को समूहचरणबाटै बाहिरिएपछि राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक हङ म्यङ-बोले राजीनामा दएका छन्।

दक्षिण कोरियाले समूहचरणमा तेस्रो भएका टोलीमध्येबाट आफूले अर्को चरणमा प्रवेश पाउन सक्ने आशा राखेको थियो। तर शनिवारको नतिजाले त्यसमाथि तुषारापात भयो।

पहिलो चरणबाटै बाहिरिएपछि दक्षिण कोरियामा राष्ट्रिय टोलीको चर्को आलोचना भएको छ। राष्ट्रपति ली जे-म्यङले राष्ट्रिय टोलीको फितलो प्रदर्शनको कारण पत्ता लगाउन छानबिन गर्ने निर्देशन दिएका छन्।

हङले दक्षिण कोरियाका फुटबल समर्थकहरूसँग शनिवार क्षमायाचना गर्दै “आफू मुख्य प्रशिक्षक भएकाले” त्यसका लागि आफू उत्तरदायी भएको बताए।

दक्षिण कोरिया फिफाको वरीयतामा ३२औँ स्थानमा छ। चर्चित खेलाडी सन हङ-मिनको नेतृत्वमा रहेको उक्त टोलीले यो विश्वकपमा एउटा मात्रै खेल जित्यो भने दुइटामा पराजित भयो।

हङले के भने

दक्षिण अफ्रिकासँगको खेल हुनुअघि दक्षिण कोरियाका प्रमुख प्रशिक्षख हङ म्यङ‍-बोतस्बिर स्रोत,Reuters
तस्बिरको क्याप्शन,हङ विश्वकपमा दोस्रो पटक प्रमुख प्रशिक्षकको भूमिकामा थिए
यो एशियाली टोली फलतः आफ्नो समूहको अङ्कतालिकमा मेक्सिको र दक्षिण कोरियापछि रहन पुग्यो। मेक्सिको फिफा वरीयतामा १५औँ र दक्षिण अफ्रिका ६०औँ स्थानमा छन्।

बिहीवार दक्षिण अफ्रिकासँग १-० ले हारेपछि नै दक्षिण कोरियाको आलोचना सुरु भएको थियो।

उक्त पराजयका कारण दक्षिण कोरिया समूह ‘ए’ मा तेस्रो स्थानमा सीमित हुन पुगेको थियो। तर यसपालिदेखि तेस्रो स्थानमा रहेका आठवटा उत्कृष्ट टोलीले नकआउट चरणमा प्रवेश पाउने भएकाले केही आशा भने जीवितै थियो।

“हामीले हाम्रा फ्यानहरूले चाहे जस्तो नतिजा निकाल्न सकेनौँ,” मेक्सिकोमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो राजीनामा घोषणा गर्दै हङले भने।

“राष्ट्रिय टोली छोड्न लागेको भए पनि मैले कोरियाली फुटबल परित्याग गर्न लागेको होइन,” हङले भने। “म आफ्नो मनैदेखि राष्ट्रिय टोलीलाई समर्थन गर्छु र फेरि एक पटक मानिसहरूले टोलीलाई विश्वास एवम् प्रेम गर्छन् भन्ने आशा गर्छु।”

राष्ट्रपतिले के भने
जुन २४ मा मेक्सिकोको मोन्टेरेमा दक्षिण अफ्रिकासँगको खेलमा दक्षिण कोरियाका चो ग्वे-सङतस्बिर स्रोत,Reuters
त्यसअघि राष्ट्रपति लीले “अनपेक्षित परिणामका कारण आफू छक्क मात्र नभई पूरै रनभुल्लमा परेको” बताएका थिए।

सामाजिक सञ्जाल ‘एक्स’मा एउटा पोस्ट गर्दै उनले दक्षिण कोरिया विश्वकपबाट चाँडै बाहिरिनु “सङ्गठन र कर्मचारीहरूको विफलताजस्तो देखिएको” टिप्पणी गरेका थिए।

“कमान्डर छान्दा क्षमताभन्दा नातावाद र कृपावादलाई प्राथमिकता दिइन्छ भने त्यसको परिणाम आगोले कागज जलाए जस्तै हुन्छ,” उनले भने।

पहिलादेखि नै विवाद

मुख्य प्रशिक्षकको पदमा हङको नियुक्ति सुरुदेखि नै विवादित थियो।

उनी राष्ट्रिय टोलीका पूर्वडिफेन्डर हुन्। दक्षिण कोरिया सन् २००२ को विश्वकपमा सेमिफाइनलसम्म पुग्दा हङ राष्ट्रिय टोलीका कप्तान थिए।

उनले सन् २०१४ मा प्रशिक्षकको रूपमा टोलीको नेतृत्व गर्दा दक्षिण कोरियाले समूहचरण पार गर्न सकेन। त्यति बेला दक्षिण कोरिया कुनै खेल नजिती विश्वकपबाट बाहिरिएको थियो।

हङ २०२४ मा फेरि सोही पदमा नियुक्त हुँदा चर्को विरोध भयो। धेरै फुटबल प्रशंसकहरूले फुटबल सङ्घका पुराना पदाधिकारीहरूले आफ्नो साथीलाई शीर्ष पद सुम्पिएको भन्दै आलोचना गरे। दक्षिण कोरियाली फुटबल सङ्घ (केएफए) ले कडा छनोट प्रक्रियामा सहभागी भएका विदेशी मूलका केही उम्मेदवारलाई पाखा लगाइदिएको थियो।

आइतवार हङले “यो भूमिका स्वीकार गर्ने काम सजिलो नभएको” बताए।

“म आफ्ना सबै निर्णयहरू सही थिए भन्न त सक्दिनँ, तर मैले प्रत्येक निर्णय कोरियाली फुटबललाई ध्यानमा राखेर नै गरेको थिएँ चाहिँ भन्न सक्छु।”

ज्यान मार्ने धम्की
यसैबीच हङलाई अन्लाइन माध्यमबाट ज्यान मार्ने धम्की दिइएको विवरण स्थानीय सञ्चारमाध्यमहरूले प्रकाशित गरेका छन्।

त्यसलाई दृष्टिगत गरी इन्चन विमानस्थल र अन्य स्थानमा सुरक्षाका लागि कडा निगरानी गरिएको प्रहरीले जनाएको छ।

Share Now